यात्रा निश्चिन्त बनाऔं

0
448

सडक व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारी अर्थात् मोटरसाइकल असुरक्षित साधन भएको जनाएको छ । दुई पाङ्ग्रे असुरक्षित नै हो, जो आफैं उभिन सक्दैन ।

उभ्याउन वा अड्याउनका लागि जसरी चार पाङ्ग्रेलाई अरु केही आधार चाहिँदैन त्यसरी नअडिने कारणले मोटरसाइकल बढी दुर्घटनामा पर्नु स्वभाविक हो । यस्तोमा चालकले नै बढी सजगता र सचेतता अपनाउनु पर्छ । ट्राफिक प्रहरीको यस्तो भनाइ तथ्यमा आधारित छ । यस आधारमा प्रत्येक वर्ष भएका दुर्घटनाहरुमा मोटरसाइकल चालक र सवार धेरै पर्ने गरेका छन् । झापाकै तथ्याङ्कलाई हेर्दा ०७४ साउनदेखि ०७५ वैशाख मसान्तसम्ममा एकानब्बे जनाले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका छन् ।

मोटरसाइकल दुर्घटनामा बढी पर्नुका पछि दुई पाङ्गे्र हुने कारणमात्र होइन । दुर्घटनाका अन्य कारणहरुमा असाबधानी, नियमको उल्लंघन, मादकपदार्थ सेवन, अत्यधिक गति, उछिन्ने प्रवृत्ति आदि पनि रहेका छन् । त्यसैगरी सडकको दुरावस्था र आम पैदलयात्रीलाई समेत सडक नियमका बारेमा ज्ञान नहुनु पनि दुर्घटनाका कारण हुन् । त्यस्तै सवारीमै उत्पन्न हुने प्राविधिक कारणले पनि दुर्घटना हुने गरेका छन् । कथम्कदाचित दुर्घटना भइ गए दुई पाङ्ग्रेमा सवार सडकमै खस्ने कारणले अङ्गभङ्गदेखि मृत्युसम्मको क्षति व्यहोर्नु पर्दछ ।

तथ्याङ्गले हामीकहाँ प्राकृतिक विपदाबाटभन्दा बढी सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या र क्रम रहेको छ । ट्राफिक प्रहरी महाशाखाले प्रतिवर्ष एक हजार आठ सय जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाउनु परेको जनाएको छ । दुर्घटना कसैको पक्षमा पनि हुँदैन । अर्थात् कुनै न कुनै रुपले दुर्घटनाको कारण सम्बद्ध व्यक्ति, उसको परिवार र ऊ निकटका समाजले पनि क्षति सहन गर्नुपर्ने हुन्छ । त्यस्तो क्षति आर्थिक, भौतिक, शारीरिक, भावनात्मक तथा मानसिक जुनसुकै प्रकारको हुनसक्छ । त्यसकारण पनि ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी छ । यसका लागि सम्बद्ध निकाय, सरोकारी संस्था र चालक, सवार र ट्राफिक प्रहरी सबैले आ–आफ्नो तर्फबाट इमानी प्रयास गर्न जरुरी छ ।

सवारी दुर्घटना मात्र होइन जुनकुनै विपदा वा दुर्घटना मानव मात्रका लागि पीडादायी हुन्छ । त्यसमध्ये सडक दुर्घटनाले झनै ठूलो पीडा दिन्छ । त्यसमा पनि चालक कै लापरवाहीका कारण हुने दुर्घटना र त्यसले उत्पन्न गर्ने क्षतिलाई कुनै अङ्कमा मापन गर्न सकिँन्न । त्यसैले यस्तो क्षति कम गर्न गैरसरकारी तथा स्वयम्सेवी संस्थाहरुले बेला–बेला दुर्घटना न्यूनीकरणका लागि भन्दै विविध कार्यक्रम गर्दै आएका छन् ।

दुर्घटना न्यूनीकरणको सर्वोत्तम उपाय चालकले अपनाउनुपर्ने सावधानी नै हो । अनाधिकार व्यक्ति, उमेर नपुगेका मापसे गरेका, ट्राफिक नियमको पालना नगर्ने चालकहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । यसो भएमात्र यात्रा निश्चिन्त र सुरक्षित हुनसक्छ । यसले मात्र दुर्घटनाका कारण उत्पन्न हुने क्षतिलाई कम गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here