अर्जुनधारा।
झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएकोे छ ।
नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खनन्मा पूर्ण रुपमा रोक लगाएको हो ।
सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएमा रु. १० हजारदेखि रु. ३० हजारसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधनसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको छ ।
पहिलोपटक उत्खनन् गरेको पाइएमा रु. १० हजार, दोस्रोपटक पाइएमा रु. २० हजार र तेस्रोपटक पाइएमा रु. ३० हजार जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताए ।
उनका अनुसार निषेध गरिएको सो कार्य गरिरहेको सूचना उपलब्ध गराउने व्यक्ति वा सङ्घसंस्थालाई नगरपालिकाले उचित पुरस्कारको व्यवस्थासमेत गरिएको छ । यस नगरपालिका भित्र विरिङ, टाङटिङलगायतका नदी छन् ।































