बिर्तामोड।
प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहनगरमा यो वर्ष बलात्कारका घटना बढी भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार दमक नगरपालिकामा मात्रै २२ जना महिला बलात्कृत भएका छन् भने सात जनालाई जबरजस्ती करणीको प्रयास भएको छ ।
जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीका अनुसार दमकपछि मेचीनगरमा धेरै महिलामाथि जबरजस्ती करणी भएको छ । मेचीनगरमा १६ महिला यस वर्ष बलात्कृत भएका छन् भने सात जनामाथि बलात्कारको प्रयास भएको छ । त्यस्तै कनकाई नगरपालिकामा १२ जना महिला बलात्कृत भएका छन् भने तीन जनामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड नगरपालिकामा ११ जना महिला बलात्कारको शिकार भएका छन् भने दुई जनालाई बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै भद्रपुरमा ६ जना महिला बलात्कृत भएका छन् भने एकजनालाई जबरजस्ती करणीको प्रयास भएको बताइएको छ । शिवसताक्षी नगरपालिकामा नौ जना महिलालाई जबरजस्ती करणी गरिएको बताइएको छ भने दुई जनालाई करणीको प्रयास भएको प्रहरीले जनाएको छ ।
उता गौरादह नगरपालिकामा चार जनामाथि जबरजस्ती करणी भएको छ भने दुई जनालाई करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमल गाउँपालिकामा ६ जना महिला बलात्कृत भएका छन् भने दुई जनालाई बलात्कारको प्रयास भएको बताइएको छ । त्यस्तै गौरीगञ्जमा तीन जना महिला बलात्कृत भएको प्रहरीले जनाएको छ भने दुई जनालाई जबरजस्ती करणीको प्रयास भएको प्रहरीले जनाएको छ ।
बाह्रदशी गाउँपालिकामा सात जना महिला बलात्कारको शिकार बने भने एक महिलालाई करणीको प्रयास भएको बताइएको छ । झापा गाउँपालिकामा पाँच महिला बलात्कृत भए भने एउटा जबरजस्ती करणीको प्रयास भएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिकामा तीन जना महिलालाई बलात्कार गरेको र तीन जनालाई नै बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । हल्दिवारी गाउँपालिकामा ६ वटा बलात्कारका घटना भएको र तीनवटा जबरजस्ती करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
यता कचनकवल गाउँपालिकामा दुई जना महिला बलात्कारको शिकार भएको र दुई जनालाई नै बलात्कारको प्रयास भएको बताइएको छ ।
प्रहरीको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा झापामा एक सय २७ जना बालबालिका, महिला र वृद्धा बलात्कृत भएका छन् भने ४२ जनालाई बलात्कारको प्रयास भएको उजुरी दर्ता छ ।
अधिकांश बलात्कारका घटना शहर केन्द्रीत भएको देखिन्छ । बढ्दो जनघनत्व र लागूऔषध प्रयोगकर्ताको संख्या अधिक भएका कारण बलात्कारका घटनासमेत शहरकेन्द्रीत बढेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
गत वर्षको तुलनामा यस वर्ष जिल्ला प्रहरी कार्यालय झापामा मुद्दाको संख्या घटेपनि जबरजस्ती करणीको संख्या भने बढेको पाइएको छ । गत वर्ष झापामा ६ हजार पाँच सयवटा विभिन्न घटनासँग सम्बन्धित निवेदन दर्ता भएका थिए । तर, आर्थिक वर्ष ०७५÷०७६ मा झापामा तीन हजार ७ सय १२ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मैनालीले बताए । आर्थिक वर्ष ०७३÷०७४ मा झापामा पाँच हजार पाँच सय २९ वटा जाहेरी दर्ता भएका थिए ।
प्रहरीका अनुसार यो आर्थिक वर्षमा एक सय आठवटा घरेलु हिंसाका घटनासमेत भएका छन् ।