कालसर्प योगको नाममा ठगी धन्दा

0
1344

ज्यो. मधुसूदन रिजाल,

नाग पञ्चमी आउँदैछ । यस पञ्चमीको अवसरमा तपाईको चिना, कुण्डलीमा कालसर्प योग परेछ, शुक्ल पञ्चमी वा नाग पञ्चमीका दिन कालसर्प योगको शान्ति गर्नुपर्छ । कुनै–कुनै ज्योतिषीले कालो सर्प लागेछ , अब यसले शरीरमा बेरेछ, टाउकैमा ठुङ्छ पनि भन्दा रहेछन् । यस कालसर्प योगको लागि ठूलै रकम ठेक्कामा पनि लिइन्छ । ज्योतिषिहरुको संस्था नेपाल ज्योतिष परिषद्ले कालसर्प योगको नाममा ठगी धन्दा गर्ने ज्योतिषहरुलाई कारवाही र आम सर्वसाधारणलाई पनि सचेत गराई सकेको छ । यर्थाथमा कालसर्प योग हुन्छ, तर यसलाई कर्मकाण्ड गराउने विधि चाहिँ नबुझ्दा ठगीमा परिने हो ।

अग्रे राहुः पृष्ठे केतुरन्तरस्थाः नवग्रहाः ।
कालसर्पो भवेद्योगो वंशनाशो भवेद् धु्रवम् ।।
अग्रे राहुः पृष्ठे केतुरन्तरस्थाः नवग्रहाः ।
कालसर्पो भवेद्योगो वंशनाशो भवेद् धु्रवम् ।।
राहुकेतोर्यदा मध्ये आयान्ति सप्त ते ग्रहास्तं योगं कालसर्पाख्यं योगं मानन्ति ज्यौतिषास ।।
यी श्लोकहरुले कालसर्प योग भएको पुष्टि गर्छ । जन्मकुण्डलिमा जब राहु र केतुको बीचमा सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र र शनि पर्दछन् । त्यस्तो अवस्थामा कालसर्प योग बन्ने गर्दछ भन्ने ज्योतिषीय मान्यता रही आएको छ । मुख्यतयः कालसर्प योग बाह्र प्रकारका भनिएका छन् । बासुकी नाग, तक्षक नाग, कर्कट नाग, पद्म नाग, कालिय नाग, शेष नाग इत्यादि । कालसर्प योगको शान्तिका निमित्त उपयुक्त महिना श्रावण नै हो र दिन पनि सर्वाधिक उपयुक्त नाग पञ्चमी नै हो ।

कतिपय अवस्थामा आफूलाई धुरन्धर ज्योतिषी भनेर ठगी धन्दामा संलग्न भएकाहरूले ज्योतिष र गणितको आधारभूत पक्षको ज्ञानलाई प्रयोग नै नगरी ‘कालसर्प योग छ’ भन्ने गरेको र स्वस्तिशान्तिको माध्यम बनाई ठगी गरेको, कतिले कर्मकाण्डको आधार मानिने शिववास र अग्निवास नजुरेको दिनमा पनि कालसर्प योग शान्तिकर्म गरेको पनि भेटिन्छ । ती सबैको उद्देश्य कर्मकाण्डका माध्यमबाट तपाईंलाई ठग्ने माध्यम मात्र हो । यस्तै कर्मकाण्डमा देखिएको विकृत तुल्याउने पण्डाहरूका कारण नेपालमा पण्डितहरूको आचार संहिता निर्माण भएको तीतो यथार्थ हामीसामु छर्लङ्ग छ । त्यसैले पहिले आफ्नो कालसर्प योग के कस्तो हो त्यसको सही निवारण गरी योग्य, विद्वान् एवम् अनुभवी गुरु वा पुरोहितको परामर्श बमोजिम शान्तिकर्म सम्पादन गर्नुहोस् ।

सामान्यतयः कालसर्प योग शान्ति गर्नको लागि अष्टनाग आफ्नो क्षमता अनुसार एकथान सुनको सर्प, एक थान चाँदीको सर्प र अन्य ताँवाको धातुमा बनाउने चलन छ । आजभोलि बजारमा सुन र चाँदीको जलपमा नाग पाइने हुँदा हजार रुपैयाँभन्दा माथि पर्दैन । अर्थात् हजार रुपैयाँमा तपाईलाई कालसर्प योगको लागि चाहिने नाग पाउनुहुन्छ । एकजनाको कालसर्प योग शान्ति गर्न दुईजना ब्राम्मणले कर्मकाण्ड गर्न सक्नुहुन्छ । आजभोलि चलेको दक्षिण सामान्य प्रतिजन एक हजार एक सय अनि पूजन सामग्री लगभग एक हजार जति पर्न सक्छ । चार हजार रुपैयाँमा सामान्यतयः यो कार्य सम्पन्न हुन्छ । बाँकी खानपिन र अन्य खर्च आफ्नो गच्छे अनुसारले गर्न सक्नुहुन्छ ।

के हो कालसर्प योग ?

ज्योतिषमा योगको महत्व हुन्छ । ज्योतिषमा राम्रा र नराम्रा गरी चार हजार ३५ वटा योगहरू छन् । त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ । ती नराम्रा मध्येको दुई स्थानमा रहेको योग हो कालसर्प योग जसका कारण मानवले अरु असल योगहरूबाट पाउनुपर्ने राम्रा फलहरू पनि ३० प्रतिशत मात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ । राहु र केतु यी दुबै ग्रहलाई छायाग्रह भन्ने गरिन्छ । किनभने आकाशमा यी दुबै ग्रहको भौतिक पिण्ड छैन ।

खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको भ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ, त्यस बिन्दुविशेषलाई राहु र केतु छाया ग्रह मानिन्छ । सूर्यादि ग्रहहरू आ–आफ्ना भ्रमण पथमा भिन्न–भिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकन गर्नेहरूले सबैजसो ग्रहहरू एउटै अर्धवृत्तमा वा १८० डिग्रीभित्र देख्ने परिस्थिति पनि समय–समयमा आइपुग्दछ । हामीले मान्दै आएका सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनिलाई एउटै निश्चित बिन्दुबाट १८० डिग्री वा अद्र्धवृत्तभित्रै देखिने यस्तो विशेष अवस्था दुर्लभ नै हुन्छ ।

अझ छाया ग्रहका रूपमा मानिएका दुई विन्दुहरू राहु र केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति विशेषलाई नै वास्तवमा कालसर्प योग भन्ने गरिन्छ । सामान्यतयः कालसर्प योगको अवस्थालाई ज्योतिषमा दुर्लभ र व्यवहारमा दुःखद् मान्ने गरिन्छ । कुन नामको कालसर्प योग हो, यसले कस्तो प्रकारको हानी गर्छ भन्ने विषयमा जानकारी हुन जरुरी छ । कालसर्प योगका नामहरु यस प्रकारले रहेको छ ।

अनन्त (स्वास्थ्यकष्ट र दुःखद् पारिवारिक स्थिति )
कुलिक (दुःखद् आर्थिक स्थिति, वाक्युद्ध)
वासुकी (उच्च आर्थिक र सामाजिक उन्नति)
शंखपाल (प्रभावशाली व्यक्तित्व तर निराश दिनचर्या )
पद्म (तेज दिमाग र धनलाभ तर सन्तानपीडा )
महापद्म (धन, मान र प्रतिष्ठावृद्धि तर यदाकदा स्वास्थ्यबाधा )
तक्षक (यात्रा र व्यापारमा वृद्धि, तर वैवाहिक कष्ट र दुर्घटना)
कर्कोटक (स्थान परिवर्तन योग तर जेल र अङ्गभङ्गको पनि भय )
शंखचूड (भाग्यवृद्धि तर धर्मनाश र आकस्मिक वैराग्ययोग)
घातक (कर्मवृद्धि र पदप्रतिष्ठा प्राप्ति तर पितृनाश)
विषधर (सामाजिक सम्मान र धनवृद्धि तर आंशिक पुत्रबाधा)
शेषनाग (धनक्षय, जेलबन्धन र अङ्गभङ्गको भय एवम् स्थाननाश)

यसरी संलग्न विवरण हेर्दा सामान्यतया ३, ६, ९, १०, ११औं स्थानमा राहु बसेर बनाएको कालसर्प योगको फल सुखद् र सकारात्मक हुने गरेको पाइएको छ । यी समस्त कालसर्प योगहरू मध्ये कर्कोटक, विषधर, घातक र शंखचूड सबैभन्दा बढी दुष्प्रभावी हुन्छन् । बाँकी कालसर्प योग त्यति हानिकारक हुँदैनन् । तिनको पूजनपाठ, स्वस्तिशान्ति गराउनाले शान्त हुन्छन् । कालसर्प दोषले जसलाई आक्रान्त तुल्याएको हुन्छ, त्यो व्यक्ति प्रायशः असमंजसयुक्त वातावरणमा हुने गर्दछ र कुनै काम पनि ठीक तरिकाले गर्न सक्दैन, ऊ सधैजसो भयग्रस्त रहन्छ वा उद्दण्डतारत् हुन्छ ।

१.(त्रिपिण्डी श्राद्ध) पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजीकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्रद्धाधिकार प्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ ।

२. मृत्युञ्जय जाप कम्तीमा २१ हजार पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने ।

३. शुक्ल पञ्चमी वा नाग पञ्चमीका दिन शान्ति गराउने ।

नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रीय विधान रहेको छ । नागको शिरमा खन्दा आफूलाई पीडा, पछाडि खन्दा छोरा र पत्नीलाई दुःख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ । भाद्र, आश्विन र कार्तिकमा पूर्व । मंसिर, पुष र माघमा दक्षिण । फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ । सावधानीपूर्वक घर शिलान्यास नगर्दा सर्प दोष लाग्ने गर्छ । यदी तपाईलाई राति स्वप्नमा वारवार सर्प देख्नु हुन्छ भने पनि तपाईलाई कालसर्पको प्रभाव परेको हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here