भान्सा नै औषधालयको औचित्य

0
718

प्रकाशचन्द्र उप्रेती,

नेपालमा उपभोक्ता हकहितका निम्ति गठित सरकारका सरोकारवाला उपभोक्ता संस्था छन्÷छैनन् । सो सम्बन्धी जानकारी उपभोक्तासम्म नहुँदा कृतिम अभाव सृजना गरी उपभोक्तालाई आर्थिक भार थप्नेदेखि गुणस्तरहीन सामानको बिक्रीवितरण खुलेआम रुपमा गरेर, सार्वजनिक सवारीसाधनमा मनपरि भाडा वृद्धि गरेर होस् या हस्पिटल वा स्कूलमा सरकारी मापदण्डभन्दा बढी मूल्य उपभोक्ताबाट असुली गुणस्तरीय सेवा बिना झन्झट समयमै सेवासुविधा पाउनबाट वञ्चित भएर अनि सरकारी कार्यालयमा सेवा लिन र शुल्क बुझाउँदा सम्मानजनक व्यवहार नपाएर वा सही सुचना नपाएर दुःख पाइरहेका छन् । भिडभाड तछाडमछाडमा नै सेवा लिने र शुल्क बुझाउनुपर्ने बाध्यताले स्वयम्मा नैरास्यता र अपहेलित भएर अनि देशभित्र उचित अवसर र सम्मान नपाएर शिक्षित र स्वस्थ युवाशक्तिको ठूलो जमात विदेश पलायन भएर नत नेपाली उपभोक्ताहरुको हित सम्भव छ, न त सरकारले लिएको समृद्धिको नाराले लिएको लक्ष्य हासिल गर्न नै सम्भव छ ।

त्यसैले देशको ठूलो सम्पत्ति भनेको राष्ट्रियताले ओतप्रोत शिक्षित, स्वस्थ र सचेत उपभोक्ता हुन् भन्नेमा दुईमत छैन । त्यसैले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क दिने नारा, नारामा नै सिमित छ । प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याए पनि जनताले शिक्षा र स्वास्थ्यमा पूर्ण निःशुल्क रुपमा वर्तमान सरकारले समेत पनि सुविधा दिनेखालको योजना तय गर्न नसक्दा आमनेपाली उपभोक्ता दुःखित छन् । देशमा प्रोपोगान्डा मच्चाउने कुनै पार्टीगत, नेतागतभन्दा उच्च स्थानमा नेपाल र नेपाली जनता (उपभोक्ता)लाई राख्ने व्यवस्था नगरे सम्म, विभिन्न कालखण्डका राजनीतिक व्यवस्था परिवर्तनले जनताको सामान्य अवस्थामा परिवर्तनको महशुस गर्न नपाएसम्म उपभोक्ताहरुलाई राजनीतिक परिवर्तन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ भने झैं भएको छ ।

उपभोक्ता शिक्षित र स्वस्थ बनाउने बिषय करोडौ खर्च गरेर डाक्टर उत्पादन र अर्बाै खर्च गरी बनाएका अस्पतालले मात्र के सम्भव छ ? निश्चय पनि सम्भव छैन । पहिले हस्पिटल र डाक्टरको संख्या कम थिए, त्यस अनुपातमा धेरै कम संख्यामा रोगी मान्छेहरु थिए । तर, ३० बर्षयता हस्पिटल तथा डाक्टरहरु प्रसस्तै भएर पनि रोग निर्मुल भएको छैन । तर, बिरामी संख्या अत्यधिक मात्रामा वृद्धि भएको तथ्यांक स्वास्थ्य विभागबाट प्राप्त भएको छ । उपभोक्ताहरु डाइबेटिज, मुटुरोगी, क्यान्सर, प्रेसर, श्वास प्रश्वास सम्बन्धी रोग, महिलाहरुको तल्लो पेट सम्बन्धी रोग तथा बच्चाहरुमा जन्मदै र कलिलो उमेरमा मुटु, फोक्सोको रोगले ग्रसित भएका छन् ।

समग्रमा उपभोक्ताको स्वास्थ्य अवस्था अति जटिल भएको हुनाले उपभोक्ता, सम्बन्धित संस्था र तीनवटै तहका सरकारको सहकार्यमा योजनाबद्ध बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनबाट उपभोक्ताको स्वास्थ्यसँग लक्षित कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

स्वस्थ उपभोक्ता बनाउन अग्र्यानिक उत्पादन वृद्धि गर्न र उपभोग गर्न जरुरी छ । उत्पादन कृषक र कृषक समूहसँग सम्बन्धित छ । अग्र्यानिक सागसब्जी, फलफूल, अन्नबाली उत्पादनका निम्ति रासायनिक बिषादि र मलले बिग्रिएको मृत अवस्थामा पुगेको माटोको उपचार नगरी सम्भव छैन । माटोमा रहेको सूक्ष्म जिवाणुको प्रयाप्त मात्रामा वृद्धि गराउन जरुरी छ । त्यसैले समग्ररुपमा संगठित तवरले कृषक, कृषक समूह, सम्बन्धित संघ–संस्था र तीनवटै तहका सरकारको योजना, सहकार्य, लगानी र लगनशिलताबाट मात्र अग्र्यानिक उत्पादन वृद्धि गर्न सकिन्छ र त्यो शरीरलाई चाहिने सम्पूर्ण तत्वहरुले भरिपूर्ण पोषणयुक्त अग्र्यानिक उत्पादनको खानपानबाट मात्र उपभोक्ताहरुको स्वास्थ्यमा सुधार हुन्छ र उपभोक्ताहरुको स्वास्थ्यमा हुने खर्च बचत हुन्छ ।

स्वस्थ उपभोक्ता भए मात्र देशले चाहेको प्रकृतिमय दिगो विकासमा बौद्धिक, मानसिक र शारीरिकरुपले उपभोक्ताहरु सहभागी बन्छन् । त्यसपश्चात उद्यमशील, कर्मयोगी उपभोक्ताहरु जब घर–घरमा हुन्छन् माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय बनाएर गोठदेखि ओठसम्म, आलीदेखि थालीसम्म आउने उपभोग्य वस्तुहरु अग्र्यानिक उत्पादन गर्न स्वयम् कृषक, उपभोक्ताहरु सचेत हुन अति आवश्यक छ ।

रोग लागेपछि आईया…आईया… भनी पैसाको बिटो बोकी आफ्नो ज्यान डाक्टर, हस्पिटललाई सुम्पनुभन्दा रोग लाग्नै नदिने खालको जीवनशैली र खानपानमा सुधार गर्नु आवश्यक छ । हरेक नेपाली उपभोक्ताले योजनावद्ध कार्यक्रम मार्फत स्थानीय जडिबुटी पहिचान र संरक्षण गरी खानपानमा प्रयोग चटनी, जुस र तरकारीका माध्यमबाट शरीरभित्र प्रवेश गराई पेट सफा गराउनेदेखि पेट सम्बन्धी लाग्ने रोगबाट उपभोक्तालाई बचाउन सकिन्छ । यसका लागि प्रत्येक घरमा निम्न अनुसारको आनीबानी र खानपानमा सुधार गर्न आवश्यक छ ।

– कम्तिमा २१ जडिबुटी प्रत्येक घरमा, करेसामा वा कौशीमा लगाई तिनको सेवन प्रत्येक बिहान–बेलुकी भान्सा अनिवार्य गराई ।
२. सर्व (४–६ वटा) दाल मिक्स ।
३. सर्व तरकारी ३–५ प्रकारका कोसे तरकारी मिक्स ।
४. सर्व साग (३–६ प्रकारका साग मिक्स) ।
५. सर्व सातु (६–१० वटा गेडागुडी, अन्नको सातु)

जब प्रत्येक घर उपयुक्त पाँच प्रकारको चीज भान्सामा तयार हुन्छ भने त्यो भान्सालाई नै ‘भान्सा नै औषधालय’ भान्सा भनेर तोक्न सकिन्छ र त्यस्तो भान्सा नै औषधालयको भान्सा खाने परिवारका सदस्य पूर्णरुपमा निरोगी, शारीरिक र मानसिक रुपमा तन्दुरुस्त बन्न सक्छन् र त्यस भान्सामा सबै अन्न, सागपात अग्र्यानिक नै हुनुपर्छ, जैविक नै हुनुपर्छ, जङ्कफुड र प्याकेजिङ्ग फुड निषेधित नै हुनुपर्छ । यस्तो घर, गाउँ, समाज वा नगर नै भान्सा नै ‘औषधालय नगर’ याने कि रासायनिक बिषादि निषेधित नगर घोषणाका निम्ति तयार हुन्छ र रासायनिक मल र बिषादि निषेधित, पूर्णरुपमा जैविक उत्पादन पद्धति भएको नगरलाई ‘अग्र्यानिक नगर’ घोषणाका निम्ति तयार हुन्छ ।

त्यसैले उपभोक्ता स्वयम्मा सचेत, संगठित, परिचालित बन्न छाता संगठनको रुपमा ‘वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल’ २०७१ सालदेखि विधिवत् दर्ता गरी कार्यरत् सेवामूलक संस्था रहेको छ । त्यसले उपभोक्ताको स्वास्थ्य, आर्थिक हित सूचना र समृद्धिको पक्षमा आवाज उठाउँछ । यस संस्थाले आजसम्म ४५ जिल्लामा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यसै अन्तर्गत झापाका आठ वटा स्थानीय तहमा आफ्नो कार्यक्रम पुर्याएको छ । बाँकी स्थानीय तहहरुमा पनि निकट भविष्यमा आफ्नो कार्यक्रम पुर्याउने लक्ष्य लिएको छ र नेपालको ७७ वटै जिल्लामा र तीन वटै तहका सरकारसँग सहकार्य गरी अग्र्यानिक नेपाल बनाउने लक्ष्य लिएको छ ।

(उप्रेती वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल झापाका उपाध्यक्ष तथा प्रदेश सचिव हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here