डेंगु नियन्त्रण गर

0
650

डेंगुले महामारीको रुप लिन थालेको छ । डेंगु भाइरल ज्वरो हो जुन पोथी जातको लामखुट्टेले टोक्दा फैलिन्छ । डेंगु जुनसुकै उमेर समूहकालाई हुनसक्छ र खासगरी शहरी क्षेत्रमा यसले महामारीको रुप लिन थालेको तथ्यांकले देखाएको छ । लामखुट्टेले टोकेको चारदेखि सात दिनसम्ममा डेंगुको लक्षण देखिने र यसको प्रत्यक्ष औषधि नभएको चिकित्सकले बताएका छन् । त्यसकारण पनि डेंगु अहिले असाध्य रोग जस्तै हुन पुगेको छ । लामखुट्टेले टोकेको केही दिनपछि नै उच्च ज्वरो आउने, जीउ दुख्ने, आँखाको पछाडि दुख्ने, थकान महशुस हुने जस्ता लक्षण देखिन्छन् । त्यसपछि पेट दुख्ने, नाक र गिजाबाट रगत आउने, रिंगटा लाग्ने र आँखाको दृष्टि क्षमता कम हुन्छ ।

डेंगु ज्वरो अहिले देशभरि फैलिएको छ । वर्षाको समय सकिन लागेको भए पनि डेंगु नियन्त्रणमा आउनुको साटो झन् बढ्दैछ । विगतमा तराईमा मात्रै देखिएको डेंगु अहिले पहाडी जिल्लाहरुमा समेत व्यापक बन्दै गएको छ । जसका कारण आममानिसमा अहिले डेंगुको त्रास बढेको छ । डेंगुको संक्रमण अहिले मन्त्री, नेता, चिकित्सक हुँदै सर्वसाधारणसम्म पुगेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका कारण झापामा मेचीनगर, बिर्तामोड, दमक, भद्रपुर लगायतका जनघनत्व बढी भएको शहरी क्षेत्रमा जोखिम बढेको छ । झापामा मात्रै यो वर्ष पाँच सयभन्दा बढी मानिसमा डेंगुको संक्रमण रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी रोगका फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिएका छन् । लामखुट्टेको नियन्त्रण नगर्ने हो भने झापा समेत संक्रमणग्रस्त जिल्ला बन्ने निश्चित छ ।

स्थानीय सरकार डेंगुले यत्रो आतंक सृजना गर्दा पनि निदाइरहेको छ । अहिलेसम्ममा दुई जनाको ज्यान लिइसकेको डेंगु नियन्त्रणका लागि झापाका स्थानीय सरकारले अग्रसरता होइन चासो नै दिएका छैनन् । आफूहरुलाई स्थानीय तहको सर्वेसर्वा र स्थानीयको अभिभावक तथा संरक्षक ठान्ने जनप्रतिनिधि तथा स्थानीय सरकारको यो मौनतालाई जनताले गम्भीरतापूर्वक लिनुपर्दछ । आफू खुशी योजना कार्यक्रम बनाउने, कर निर्धारण गर्ने तर दिगो विकास र दुरगामी असरको आंकलन गर्न नसक्ने सरकार तथा जनप्रतिनिधिलाई जनताले पाल्नै पर्ने कारण र उनीहरुको औचित्यको खोजी गर्ने बेला आएको छ ।

त्यसो त डेंगु दक्षिण एसियाकै लागि दुःखको कारण बनिएको छ । फिलिपिन्स, भियतनाम, म्यान्मार, मलेसिया, कम्बोडिया लगायतका देशहरुमा पनि डेंगुले महामारीको रुप लिँदैछ । मानिसमा घट्दै गएको रोग प्रतिरोधात्मक क्षमता र बढ्दो तापक्रमका कारण विकराल रुप लिँदै गएको डेंगुले नेपालमा मात्रै यो वर्ष झण्डै चार हजार जनालाई बिरामी बनाएको छ । इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भदौ २२ गतेसम्मको तथ्यांक दिँदै यसले चुनौति थपेको जनाएको छ । यद्यपि उचित हेरचाह र सुरक्षा व्यवस्थाले रोगबाट मुक्ति पाइन्छ । तथापि चेतनाको अभावमा यसको भयावरण कायमै छ । त्यसैले चेतना बिस्तार तथा रोग नियन्त्रणका लागि सरकारको उपस्थिति देखिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here