दमौली,
कोभिड–१९ को जोखिम नियन्त्रणका लागि तनहुँ जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षबाट दुई हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रवेश गर्ने मुख्य नाका तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको कक्षबाट दुई हजार ११ जनाको परीक्षण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उक्त कक्षबाट ३ सय २८ महिला र एक हजार ६ सय ८४ पुरुषको परीक्षण गरिएको छ ।
कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा राखिएको स्वास्थ्य सहायता कक्षमा १ हजार ४ सय ६३, भानु नगरपालिका–३ फुस्रेटार, कालीमाटी, भन्सारमा एक सय २२, म्याग्दे गाउँपालिकाको कार्यालयमा दुई सय ६३, भीमादमा ८४, ऋषिङका विभिन्न ठाउँमा २७, देवघाटमा ५२ जनाको परीक्षण गरिएको छ ।
यहाँका चार स्थानीय तहका चार ठाउँमा ज्वरो मापन (फिवर क्लिनिक) सञ्चालन गरिएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन जिल्लाका भीमाद नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिकामा फिवर क्लिनिक सञ्चालन गरिएको हो ।
भीमादको प्राथमिक स्वास्थ्य केन्द्र, भानुको भन्सारमा, ऋषिङको रानीपोखरी र भिरकोटमा र देवघाटको धर्मार्थ अस्पतालमा फिवर क्लिनिक सञ्चालनमा रहेको छ । भीमादमा २८, भन्सारमा ३४, रानीपोखरीमा ७, भिरकोटमा १० र देवघाटमा तीन जनाको ज्वरो मापन गरिएको छ ।






























