सङ्घ र प्रदेशबीच समन्वय आवश्यक

0
499

विराटनगर ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा सङ्घीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँग बिहीबार गरेको संवादमा उहाँले सो सुझाव दिनुभएको हो ।

मन्त्री घिमिरेले सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको बताउँदै प्राविधिक धारका विद्यालय छनोट सङ्घीय सरकारबाट हुँदा सही बुझाइ नभएको पाइएको बताउनुभयो ।

मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले सिटीइभिटीको कक्षा सञ्चालन गरिरहेको अवस्थामा सङ्घीय सरकारले दमकमा अर्को कक्षा सञ्चालन गर्ने निर्णय गर्दा समस्या उत्पन्न भएको चर्चा गर्दै “उर्लाबारी र दमक बीचमा समान प्रकृतिका कक्षा सञ्चालन त्यत्ति व्यवहारिक भएन”, उहाँले भन्नुभयो ।

मन्त्री घिमिरेले प्रदेश सरकारले तेह्रथुमको म्याङलुङमा प्राविधिक शिक्षालाई स्थापना गर्ने सम्पूर्ण तयारी गरिरहँदा सङ्घीय सरकारले तेह्रथुमकै आठराइमा अर्को शिक्षण संस्था सञ्चालनको तयारी गर्दा समन्वयको अभाव देखिएको गुनासो गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबारे प्रदेशका मन्त्रीहरुले सञ्चारमाध्यमबाट थाहा पाउँदा प्रदेश सरकारको अस्तित्वलाई बेवास्ता गरेको अनुभूति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तराईमा तीन हजारदेखि पाँच हजारसम्म पढ्ने क्षमता भएको विद्यालयको विकास गर्नुपर्छ, तराईमा गाडी र पहाडमा होस्टलको प्रवन्ध गरिनुपर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here