सम्पादकीय
कोरोना भाइरसको सङ्क्रमणबाट एक सुत्केरी महिलाको दुखद् निधन भएको छ । कूल सङ्क्रमित सङ्ख्या दुईसय एकानब्बे पुगेका समय धुलिखेल अस्पतालमा उनको निधन भएको हो । पहिचान भएको छ महिना र देश बन्दाबन्दी गरेको झण्डै तीन महिनापछि भएको यो घटनाले जोखिम बढेको सङ्केत गरेको छ। यसले हामी जुनकुनै समय जोखिममा पर्ने र जीवन समाप्त हुने त्रास पनि बढाएको छ। विश्वलाई आतंकित तुल्याएको भाइरसको सङ्क्रमण पश्चिमा मुलुकमा केही मत्थर भएको समाचार आउन थालेका बेला हाम्रो छिमेकी देश भारतमा भने फैलिने दर उच्च रहेको छ । त्यसमाथि उसले रेल सेवा सञ्चालन गरेका कारण सङ्क्रमण बढ्ने र हामी समेत प्रभावित हुने निश्चित छ ।
भारतसँग सीमा जोडिएको तराई क्षेत्रमा अहिले कोरोना पुष्टि हुने दर सर्वाधिक देखिएको छ । सङ्क्रमित मध्ये अधिकांश मजदुरीका लागि भारत गएकाहरू नै छन् । भारतबाट आएकाहरू सबै क्वारेन्टीनमा नबस्ने , लुकिछिपी बस्ने र परीक्षणको पहुँचमा नपुग्ने कारणले हामी पनि त्यत्तिकै जोखिममा पर्दैछौं। एकान्तबासको मापदण्ड पूरा गरिसकेकाहरूलाई परीक्षणबिनै घर पठाइएको समाचारले सरकारको लापरबाही देखाएको छ भने महामारी बिस्तारको जोखिम उच्च पारेको छ । अझ बाँके लगायतका जोखिमयुक्त ठाउँहरूमा सामग्रीको अभावमा परीक्षण नै रोकिएको छ। यसले समस्या अनुभूत गरी परिणामको भयावहता मनन् गरेर प्रतिरक्षामा लाग्न सबैको चेत खुल्नु पर्छ।

सरकारले निर्बाध आवागमन रोक्न सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गरेको छ। सशस्त्र प्रहरी बल राखेर आवागमन रोक्न गरिएको प्रयासको बावजुद आगमनको क्रम रोकिएको छैन । झापाको पूर्वी दक्षिणी क्षेत्र कचनकबल गाउँपालिकास्थित सुरक्षा चेकपोष्टमा भारतीयहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण नै गरेका छन्। उनीहरुको निर्बाध आवागमन असहज भएकै कारण नेपाली सुरक्षाकर्मीमाथि उनीहरूले आक्रमण गरेको हुनसक्छ । उता सीमाक्षेत्रमा भारतका बिभिन्न शहरबाट आएर बस्ने र रातिको मौका पारेर नेपाल प्रबेश गर्ने क्रम पनि जारी रहेका बेला महामारीले कुन रूपमा लिने हो अनुमान गर्नै गाह्रो छ। महामारी ब्यापक भइरहँदा पनि सरकारको उपस्थिति प्रभावकारी नभएको टिप्पणी भइरहेको छ । सबै जिम्मा चिकित्सक र स्वास्थ्यकर्मीहरु दिएर सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको ठहर्दैन।
यसबेला जनताको दैनन्दिनी सहज गर्दै कोरोना त्रासबाट मुक्त गर्नु , यसको रोकथाम र नियन्त्रण गर्नु सरकारको दायित्व हो । जारी लकडाउनको अवधि सकिँदै गर्दा रोकथामको यो विधि फेरि पनि लम्बिन सक्छ। हामीले पनि सम्भावित जोखिमलाई अनुभूत गरी हाम्रा आनीबानी र ब्यवहारमा परिवर्तन ल्याउन जरूरी छ। अन्यथा यसको चङ्गुलबाट जोगिन गाह्रो छ, सबै गम्भीर बनौँ ।






























