केरुङ नाका बन्द हुँदा नेपालमा बीसीजी खोप प्रभावित हुने संभावना  

0
1088

सयौं गाडीमा करोडौंका सामान अलपत्र 
कोरोना नियन्त्रणका लागि खरिद गरिएका सामान पनि रोकियो 

काठमाडौँ ।
चीनले नाका बन्द गर्दा केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छ । चीनले नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका करिब महिना दिनदेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको छ । नाका खुलाउनका लागि व्यवसायीले मन्त्री, सांसद र नेताहरूसँग हारगुहार गर्दै आएका छन् । तर सम्भव भएको छैन ।

स्रोतका अनुसार रसुवागढीमा कोभिड–१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो । केरुङ नाकाको रसुवागढी भन्सारका एक मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले नाकाको कारोबार बन्द गरेको थियो । कोरोना पुष्टि भएको भने २२ दिन बितिसकेको छ । ती मजदुर सक्रमणमुक्त भइसकेको रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले जानकारी दिए । कोभिड महामारी सुरु भएपछि गत जेठमा खुलेको रसुवागढी भन्सारको कारोबार यसबीचमा मुस्किलले एक महिना भएको छ । कारोबार भएको समयमा पनि दिनमा ७–८ वटा कन्टेनर मात्र भित्रने गरेको थियो ।

भूकम्पपछिदेखि नै नेपाली व्यवसायीलाई चिनियाँ भूभागको खासा र केरुङ जान दिइएको छैन ।
स्वास्थ्य सेवा विभागले दुई साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो ।

‘बालबालिकाको खोपलाई चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम रहेको छ’ – विभागले भन्सारलाई लेखेको पत्रमा भनिएको छ । सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी विभागले स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ । भन्सारले भने आफ्नो पहलबाट सामान ल्याउन नसक्ने जानकारी माथिल्लो निकायमा दिएको छ ।
स्वास्थ्य सेवा विभागका निर्देशक रमेश खरेलले खोपमा प्रयोग हुने सिरिन्ज संवेदनशील भएकाले स्टक नसकिँदै छिटो ल्याउन जरुरी रहेको बताए । ‘स्टक कति छ त भन्न सक्दिनँ तर सकिन दिनुभएन’– उनले भने ।
स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक गौतमका अनुसार बीसीजी खोप जन्मनेबित्तिकै लगाउनुपर्छ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोगविरुद्ध दिइने खोप हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले केरुङ नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए । सिरिन्ज खरिदको टेन्डर सकारेका जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सेयर होल्डर वीरेन्द्र थापाका अनुसार विभागले ताकेता गरेपछि तोकिएको भन्दा बढी ढुवानी भाडा तिरेर सामान ल्याइँदै थियो ।

‘उताबाट सामान हिँडाउँदा केरुङ नाका बन्द थिएन,’ उनले भने, ‘ल्याउँदाल्याउँदै बाटैमा अलपत्र भयो ।’ सामान अड्किएपछि सहजीकरणका लागि स्वास्थ्य विभाग र मन्त्रालयलाई हारगुहार गरेको उनले बताए । जंगलको बीचमा अलपत्र कन्टेनरमा ०.०५ एमएल साइजका ११ लाख थान सिरिन्ज छन् । इन्टरप्राइजेजले विभिन्न प्रकृतिका खोपमा प्रयोग हुने सिरिन्ज १ करोड ४५ लाख रुपैयाँमा खरिद गरेर आपूर्ति गर्न गत अप्रिल ९ मा स्वास्थ्य विभागसँग सम्झौता गरेको थियो । सिरिन्ज सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याउन लागिएको हो । तातोपानी नाका सञ्चालनमा आएको भए त्यताबाट सिरिन्ज भित्र्याउन सकिन्थ्यो । यसो गर्दा ढुवानी खर्च भने बढी लाग्छ ।

नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री पनि बाटैमा अलपत्र छन् । ‘व्यापारिक वस्तु मात्र नभई कोभिड संक्रमणबाट बच्न प्रयोग स्वास्थ्य सामग्रीको आयात पनि रोकिएको छ,’ रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले भने । बारम्बारको नाका बन्द र खुलेका बेला पनि सीमितलाई मात्र पार गर्न दिइदा तीन महिनादेखि स्वास्थ्य सामग्री चिनियाँ गोदाममा छन् । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले नाका बन्द भएपछि पीसीआर मेसिन महँगो ढुवानी खर्चमा चीनबाट जहाजमार्फत ल्याएको बताए । ‘कोभिड संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने धेरै सामान नेपाल भित्र्याउन सकिएको छैन, अरू स्वास्थ्य सामग्री पनि अड्किएका छन्,’ उनले भने ।

रसायन–केमिकल तथा आपूर्ति व्यवसायी संघका पूर्वउपाध्यक्षसमेत रहेका भण्डारीले पछिल्लो समय धेरै मेडिकल सामग्री चीनबाटै आउने भएकाले नाका बन्द हुँदा व्यवसायीलाई ठूलो समस्या परेको बताए । मेडिकल सामान आयतमा तीन सयभन्दा बढी फर्म संलग्न रहेको उनले जानकारी दिए । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि भने सबैजसो सामग्री चीनबाटै ल्याइने गरेको छ । त्यस्ता सामग्री जसरी पनि भित्र्याउनुपर्ने बाध्यताका कारण जहाज प्रयोग गर्नुपरेको व्यवसायीको भनाइ छ ।

सिल्क कार्गोका प्रालिका अध्यक्ष रमेश शेर्पाले आफूले ल्याउन लागेका मास्क, सेनिटाइजर, पीसीआर मेसिन, किट्सलगयात सामग्री गोदाममा थन्केको बताए । चितवनको एक मेडिकल अस्पतालले झिकाएको पीसीआर मेसिन ल्याउन नसकेको उनले जानकारी दिए ।

चीनले पछिल्लोपटक दुई सातादेखि उत्तरका केरुङ र तातोपानी नाका बन्द गरेपछि नेपाली व्यवसायीले खरिद गरेका अन्य सामान बोकेका सयौं कन्टेनर सीमापारि अलपत्र छन् । करोडौं मूल्यका सामान अलपत्र परेपछि नाका खोल्ने विषयमा परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासमार्फत कुराकानी गरेको बताउँदै आएको छ ।
लकडाउनमा पनि स्वास्थ्य सामग्री आयात गर्न गत चैत २६ देखि तातोपानी भन्सारको कारोबार सञ्चालन गरिएको थियो । तर अहिले त्यहाबाट भित्र्याउने तयारी गरिएका स्वास्थ्य सामग्री खासामा थन्किएको छ । निजी क्षेत्रबाट पनि स्वास्थ्य सामग्री आयात भएकाले बाटैमा रोकिएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here