मुहान एक विवाद अनेक

२१ श्रावण २०७५, सोमबार मा प्रकाशित

 

अर्जुनधारा, साउन । कृषि कर्मबाट आर्थिक समृद्धि गरी गाउँको मुहार परिवर्तन गर्ने उद्देश्यले रोङ–२स्थित बर्फल्याङका कृषक बीबीन्द्रदास राईले शुरु गरेको कृषिजन्य बिरुवाहरुका लागि सिञ्चाई गर्न पानीको अभाव हुँदा आफू पीडामा रहेको बताए ।
आफ्नो जग्गामा पानीको मुहान भएको दावी गर्ने उनले स्थानीयहरुको विरोध र सम्बन्धित निकायको बेवास्ताका कारण आफूले उक्त मुहानको पानीबाट सिञ्चाई गर्न बञ्चित भएको बताए । जसका कारण ५२ रोपनीमध्ये अधिकांश जग्गामा रोपेको सुपारी, नरिवल, अलैंची, कटहर, सुन्तलालगायतको बिरुवामा क्षति पुग्ने सम्भावना भएको पूर्वाञ्चलकर्मीसँगको भेटमा राईले बताए ।


२०३८ सालमा खरिद गरेको सो जग्गामा १७ वर्षसम्म विदेशमा कमाएको सम्पत्ति अनुमानित ५० लाख रुपैयाँको लगानीमा कृषि कर्म शुरु गरेका उनले वर्षाको समयमा जसोतसो बिरुवाहरुमा पानी पुगे पनि हिउँदमा पानीको अभाव हुँदा बिरुवाहरु सुक्ने गरेको बताए । आफूले पटक–पटक यो विषयमा सम्बन्धित निकायमा कुरा राख्दा सुनुवाई नभएको उनले बताए ।
कृषिको माध्यमबाट आर्थिक समृद्धिको कुरा गर्ने जनप्रतिनिधिहरु नै आफूले सञ्चालन गरेको कार्यको लागि बाधक भएको उनले आरोप लगाए । त्यसैगरी आफूले कृषिजन्य सामग्री ढुवानीका लागि आफ्नै जग्गामा आफ्नै लगानीमा सडकको ट्रयाक बनाउने कार्य स्थानीयहरुको चर्को विरोधका कारण स्थगित गर्नुपरेको उनले गुनासो गरे । ‘लामो समयसम्म विदेशमा बसँे, अब यहीँ बसेर केही गर्छु भन्दा सबैले विरोध गर्छन्’– उनले भने । पुस्तौंदेखि गर्दै आएको कृषि पेशालाई मैले व्यवसायिकरुपमा निरन्तरता दिनु गलत हो त ?– उनी प्रतिप्रश्न गर्छन् ।
के हो विवादको कारण ?
कृषक राईले आफ्नो जग्गामा भएको पानीको मुहानबाट खानेपानी उपभोक्ता समितिले आवश्यकता भन्दा बढी खानेपानी लगेको कारण आफूलाई सिञ्चाई गर्न पानीको अभाव हुने गरेको बताएका छन् । उनी भन्छन्– उहाँहरुले पानी पिउन पाउनुपर्छ, तर मैले पनि सिञ्चाईंको लागि पानीबाट बञ्चित हुनुभएन नि ।
यता बगैंचाका स्थानीय एवम् रोङ–२का वडा सदस्य चन्द्रशेखर घिमिरे कृषक राईले दावी गरेजस्तो सो मुहान उनको निजी जग्गामा नभएको बताएका छन् । स्थानीय राम प्रधानको ऐलानी जग्गामा रहेको सो मुहान बगैंचावासीहरुको वर्षौंदेखिको खानेपानीको स्रोत भएको उनीहरुको दावी छ । बगैंचाका २२ घरधुरीका लागि आवश्यक सो पानीको मुहानबाट कृषक राईलाई पनि सिञ्चाईं गर्न पानी पर्याप्त पुग्ने वडासदस्य घिमिरेले बताए ।
त्यसैगरी सडकको ट्रयाक विस्तार गर्ने नाममा कृषक राईले आफ्नो खानेपानीको पाइप भत्काइदिएका कारण आफूहरुले वडा कार्यालयमा उजुरी दिन बाध्य भएको बगैंचाका स्थानीयहरु बताउँछन् । एकलौटी ढंगले काम गर्ने कृषक राईले आफूहरुको खानेपानीको पाइपसमेत काट्ने गरेको स्थानीयहरुको आरोप छ ।
यसरी समाधान भयो मिश्रटार गा“जाबारी खानेपानी आयोजनाको विवाद
गत असोज ६ गते उक्त खानेपानी आयोजनाको सहजकर्ता सहारा नेपाललाई आयोजना सञ्चालन नगर्न कृषक राईले दिएको निवेदनका विषयमा रोङ–२का वडाध्यक्ष टेकबहादुर तामाङको अध्यक्षतामा दुवै वडाका जनप्रतिनिधि, सरोकारवालाहरु र स्थानीयहरुबीच बसेको बैठकले मुहान क्षेत्रको स्थलगत निरीक्षण गरी खानेपानीको आयोजना सञ्चालन गर्दा असर नपर्ने भएपछि आयोजना सञ्चालन गर्न दिइएको थियो ।
उक्त बैठकमा उपस्थित नभएका कृषक राई रोङको पानी झापाको अर्जुनधारा–२स्थित मिश्रटार गाँजाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आयोजना सञ्चालन गर्न स्थानीयहरुले समर्थन गरेपछि कृषक राई बगैंचावासीहरुप्रति रुष्ट भएको उनीहरुको आरोप छ ।
के भन्छन् वडाध्यक्ष तामाङ ?
यता यस विषयमा रोङ–२का वडाध्यक्ष टेकबहादुर तामाङसँग बुझ्दा उनले आफूमात्र नभई गाँउपालिकाका अध्यक्ष शम्शेरबहादुर राई समेत कृषक राई र बगैंचावासीहरुबीचको समस्या समाधान गर्न समन्वय गर्दा कृषक राई लचिलो नभएको स्वीकार्छन् । कृषिको माध्यमबाट गर्न खोजेको आर्थिक समृद्धिको प्रशंसा गर्दै बगैंचावासीको खानेपानीको स्रोतको रुपमा रहेको सो मुहानका विषयमा कृषक राई गम्भीर हुनुपर्ने वडाध्यक्ष तामाङ बताउँछन् । उनले समस्या समाधानका लागि पुनः प्रयास शुरु गर्ने बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here