म जाऊँ कहाँ ?

१२ जेष्ठ २०७८, बुधबार मा प्रकाशित
  • 2.5K
  •  
  •  
  •  
  •  
  •  
    2.5K
    Shares
बसन्ता गौतम कोइराला
दिनप्रतिदिन बेचैनी बढेकाे छ
भित्रभित्रै मन डढेकाे छ
साच्चै कतै दुर जान हुन्थ्याे
जहाँ तन मन मस्तिष्क अडेकाे छ
छुटे कतै हाँसाे खुसी अनि उल्लासहरु
अपुरा भए अनगिन्ती तलासहरु
भारी भएकाे छ मन कहाँ बिसाऊँ ?
देख्दिन कतै चाैतारी अनि छहारीहरु
कति थाेत्रिए कति भत्किए
दु: ख सङ्गाल्ने भकारीहरु
न म हाँस्न सकेँ न प्रकृति नै
उस्तै उस्तै लाग्छ कथा व्यथाहरु
त्यसैले त
डाँकाे छाेडेर रुन मन छ
खित्का छाेडेर हाँस्न मन छ
तर कहाँ जाऊँ म ?
कहाँ पाऊँ म ? त्यस्ताे ठाउँ
सबैतिर काेकाेहाेलाे छ
त्रासदी र बेचैनी छ
अाज श्वमसान नियाल्न पुगेँ
कतै लासहरु हाँसिरहेछन् ,
नाचिरहेछन्
गिज्याइ रहेछन् मलाई
तँ बचाएर पनि बाँच्न सकिनस्
नचाएर पनि नाच्न सकिनस् भन्दै
हाे म केही गर्नै सकिरहेकी छैन
भवसागर जिन्दगीकाे तर्नै सकिरहेकी छैन
त्यसैले त
शान्तिकाे खाेजिमा भाैतारिरहेछु
खाेजिरहेछु
ती निश्चल निर्झणिनीसँग बह पाेख्न
शीतल पवनसँग बयली खेल्न
जून ताराहरुसँग प्रीति गास्न
तर कसरी सम्भव हाेला र खै ?
म बाँधिएकी छु म साँधिएकी छु
साच्चै उडन मन छ मलाई
खाेल्न मन छ हृदयकाे गुम्फनलाई
अाऊ लैजाऊ मलाई
खुलेर हाँस्न पाउने ठाउँमा
अाफू भएर बाच्न पाउँने ठाउँमा
प्रकृति तिम्रै शरणमा
तिम्राे ममताकाे छत्र छाँयामा ।।
भैरहवा,रुपन्देही
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here