सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णयप्रति आपत्ति

१८ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

झापा, ताप्लेजुङको साझा अपनत्व कायम रहेको सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णयप्रति ताप्लेजुङ झापा सरोकार समाजले आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजले आज एक विज्ञप्ति जारी गर्दै भनिएको छ( ताप्लेजुङबासीको गौरवमय इतिहास बोकेको र भौगोलिक सार्वभौमिकता समेटेको आकर्षक पर्यटकीय क्षेत्रका रुपमा स्थापित उक्त विमानस्थलको नाम परिवर्तनको निर्णय समाजका लागि अस्वीकार्य छ । समाजका अध्यक्ष होमप्रसाद काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ(स्थानीय बासिन्दाको इतिहास, पहिचान, मौलिक संस्कृतिमाथि नै मानमर्दन हुनेगरी गरिएको विमानस्थलको नाम परिवर्तनको निर्णय तत्काल फिर्ता लिएर जनमतको सम्मान गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।
२०२८ सालमा स्थापना भएको स्थलमार्गबाट समेत यातायात पहुँच नजोडिएको तत्कालीन अवस्थामा २०३२ सालदेखि हवाई सेवा शुरु गरेर राजधानी काठमाडौं र ताप्लेजुङको सम्पर्कसूत्रको रुपमा स्थापित सुकेटार तथा सुकेटार विमानस्थलको आफ्नै विशिष्ट पहिचान छ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा यात्रामा पुगेका जो–कोही यात्रुलाई मन्त्रमुग्ध पार्नसक्ने प्राकृतिक छटाले भरिपूर्ण ताप्लेजुङ जिल्लाकै गहनाको रुपमा रहेको सुकेटारको नाम परिवर्तन र सरकारको अस्वभाविक हस्तक्षेपको ताप्लेजुङ झापा सरोकार समाज निन्दा र भत्र्सना गर्दछ ।
कास्की जिल्लाको राजनीतिबाट माथि उठेर पर्यटन मन्त्री अधिकारीको सुकेटार विमानस्थलमा कुनै योगदान नै नरहेको सबैसामु जगजाहेर हुँदाहुँदै स्थानीयको भावना विपरित जबरजस्ती नामकरण गर्न खोजिए त्यसले स्वर्गीय अधिकारीप्रति सम्मान भन्दा अपमान हुने समाजले ठहर गरेको छ ।
जिल्लाका लागि कुनै योगदान नै नभएका व्यक्तिको नाममा विमानस्थलको नाम राख्ने सरकारी निर्णय फिर्ता लिएर सुकेटार विमानस्थलको नाम यथावत राख्न सरकारको माग समेत गरेको छ ।
साथै स्थानीयको भावना विपरित रविन्द्र अधिकारी विमानस्थल कायम गर्न खोजे शसक्त प्रतिरोध गर्ने चेतावनी दिदै सुकेटार विमानस्थल कायम राख्न गरिएका आन्दोलनमा साथ, सहयोग र ऐक्यवद्धताका लागि समस्त ताप्लेजुङबासी तथा ताप्लेजुङमा जन्मीहुर्की देशका विभिन्न स्थानमा बसोबास गरिरहेका न्यायप्रेमी जनसमुदाय समक्ष अपिल समेत गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here