लोकमार्गको काममा ढिलाइ : स्थानीयवासीले दिए चेतावनी

0
785

गलकोट,

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड ट्र्याक खोलेको वर्षौँ बितिसक्दासमेत कालोपत्र नहुँदा स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।

यस खण्डमा पर्ने काठेखोला गाउँपालिका–४ का सडक प्रभावित क्षेत्रका स्थानीयवासीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ठेकेदार कम्पनीले अबको चार दिनभित्र काम सञ्चालन नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयं ठेकेदार कम्पनीले लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।

यस खण्ड सडक निर्माणको जिम्मा पाएको सूर्य कन्ट्रक्शन प्रालिले जेठ मसान्तसम्म सडक कालोपत्र गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै पनि काम प्रगति नभएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । “पटक–पटक सम्बन्धित निकायका प्रमुख, सङ्घीय सांसद, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय आयोजनाका उपाध्यक्षलगायतले सर्वेक्षण गरेर स्थानीय बासिन्दाले ज्ञापनपत्र बुझएर ठेकेदारसँग जेठ समान्तसम्म कालोपत्र गर्ने लिखित सम्झौता भएको थियो, तर असार मसान्तसम्म आइपुग्दा सडको स्तरोन्नति र कालोपत्रका लागि कुनै पनि प्रगति नुहुन बजेट विनियोजनका लागि वर्षात्को मौसममा जनतालाई भ्रममा राख्न गुणस्तरहीन निर्माण सामग्री ल्याएर देखावटी काम गरेको प्रष्ट छ”, विज्ञप्तिमा भनिएको छ । हिउँदको समयमा कुनै चासो नदिने वर्षात्को समयमा जनतालाई भ्रममा राख्ने यो देखावटी काम गर्नु घोर आपत्तिजनक रहेको स्थानीयवासी दिपेश कँडेलको भनाइ छ ।

स्थानीयवासीले विज्ञप्तिमार्फत यस सडकको कालोपत्र गर्नतर्फ सम्बन्धित निकायले ध्यान नदिएको तर्फ पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले भनेका छन्, “कति चुप लागेर बस्ने ?, यस बाटोको अभिभावकत्व लिने कसले हो ?, जवाफदेहिता हो हुने ?, सडकको दुर्दशाको कारण कुनै पनि बेला सवारी दुर्घटना हुने जोखिम छ ।

यसको जिम्मा कसले लिने ?, आखिर बाटो कहिलेसम्म कालोपत्र हुने हो ? कहिलेसम्म हामीले सास्ती र जोखिम उठाउनुपर्ने ?”, ठेक्काको म्याद थप्दै जेठ असारमा काम गरेजस्तो गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न उनीहरूको माग छ । बागलुङ बजारबाट घोडाबाँधेसम्मको २५ किलोमिटर सडक हाल जम्मा दुई किलोमिटर मात्रै कालोपत्र भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here