के गर्नुपर्छ नानीहरुका सफलताका लागि अभिभावकहरुले

११ असार २०७१, बुधबार मा प्रकाशित
  •    सीके अंकल index

असफल व्यक्ति त्यही हो जसले जीवनमा कहिल्यै गल्ती गर्दैन । सम्झनुहोस् त तपाईले जीवनमा कहिल्यै गल्ती गर्नु भएन ? मलाई त्यस्तो लाग्दैन । अवश्य तपाईले पनि गल्ती गर्नु भएको होला । यदि गल्तीहरु भएका छैनन् भने तपाई सफल बन्न सक्नु भएको छैन । गल्ती गर्नु भनेको आफूलाई सिध्याउन हैन आफूसंग भएको गल्तीलाई सिध्याउनु हो । किनकि जब हामी गल्ती गर्दछौं र त्यसलाई पुनः नगर्ने सोच बनाउछौं भने त्यो गल्ती हो । हामीले बुभ्mन सक्यौं र त्यसबाट एउटा गतिलो पाठ सिक्नेछौं जसले सफलताको लागि निर्णायक भूमिका खेल्न सक्दछ ।
तपाई अँध्यारोमा हिड्न डराउनु हुन्छ भने दिनहँु केही समय अँध्यारोमा हिड्ने बानी गर्नुहोस केही समय पछि तपाईलाई अँध्यारोमा हिड्ने बानी पर्छ । तपाईसंग भएको डर सिधिन्छ तर तपाई त रहनु भएको छ र अँध्यारो पनि रहेको छ । तर डर भने अव छैन । तपाईले अँध्यारोसंग डराउने गल्ती नगर्नु भएको भए तपाईलाई अँध्यारोलाई जित्ने उपाय जीवनभर थाहा हुनेनै थिएन ।
तपाईलाई काठमा काँटी ठोक्न डर लाग्छ किनकि घन चिप्लीएर हातमा लाग्छ भन्ने डरले तपाई ग्रसित हुनुहुन्छ । पहिला–पहिला तपाई काँटी ठोकेको हेर्नुहोस, पछि आफूले समातेर ठोक्ने कोसिस गर्नुहोस । एक दुई पटक हातमा लाग्छ नै लाग्छ । पछि तपाई काँटी ठोक्न योग्य बन्नुहुन्छ । कम्प्युटर चलाउन, गाडी कुदाउन, गाई दुहुनदेखि लिएर संसारका सम्पूर्ण कामहरु गर्दा पहिला गल्ती नै हुन्छ । विस्तारै मानिसले त्यस सम्बन्धी ज्ञान हासिल गर्ने हो । त्यसैले भनिएको होला, मानिसले आफूले नगरेको गल्तीबाट पाठ सिक्न सक्दैन । यो सत्य र सान्दर्भिक भनाई हो । यसलाई तपाई आत्मसाथ गर्नुहोस् ।
यस अर्थमा भन्न सकिन्छ तपाईले जे गर्नु भएको छ त्यसमा तपाईको गल्ती भएको छ । त्यस गल्तीबाट नै तपाईले पाठ सिक्नु भएको छ । दक्षता हाँसिल गर्नु भएको छ । तपाईलाई थाहा नहुन सक्छ त्यसमा सानो–सानो मात्र गल्ती भएको छ भने हामीले भूलेको हुन सक्छ तर गल्ती भएको छ । यसमा दुई मत छैन ।
अतः गल्ती हुन्छ कि भनेर नडराउनुहोस् तर गल्ती दोहो¥याउनसंग भने तपाई डराउनु पर्दछ । गल्ती गर्न पाइन्छ, गल्ती हुनुपर्छ र गल्ती गर्नु अनिवार्य छ तर दोहो¥याउन पाइँदैन र दोहो¥याउनु हँुदैन तर खास प्रयोजन र परीक्षणका लागि भने गल्ती दोहोरिन सक्ने र दोहो¥याउनु पर्ने पनि हुन सक्छ तर कानुनले निषेध गरिएका कुराहरुमा भने तपाईले गल्ती गरेर अनुभव गर्छु भन्न पाउनुहुन्न र यसो गर्नु पनि हुँदैैन ।
मानिसहरु गल्ती गर्दछन् । त्यसबाट पाठ पनि सिक्दछन् तर उनीहरु त्यसबाट पुरै पाठ सिक्नबाट भने डराउँछन् । उनीहरुको मनमा त्यो गल्तीको त्रास एउटा अविस्मरणीय कालो छायाँको रुपमा मनमा सधैं रही रहन्छ र त्यसले सफलताका लागि कुनै न कुनै प्रकारले अवरोधहरु गरिरहन्छ । यसप्रकार मानिसहरु पूर्ण विश्वासका साथ सफलताको बाटोमा हिड्न सक्दैनन् । उनीहरु आफ्ना अधुरा चाहना र सपनाहरु पूरा गर्नका लागि आफ्ना छोराछोरीहरुलाई त्यो भार सुम्पन चाहन्छन् र उनीहरुले पूरा तय गर्न नसकेको त्यो अधुरो बाटोमा आफ्ना छोराछोरीलाई उनीहरुको क्षमता भन्दा बढी कुदाउने कोशिस गर्दछन् । त्यो पनि उनीहरुको चाहना विपरीत यसकारण हाम्रा नानीहरुलाई अभिभावकहरुले आफ्ना अतिरिक्त भारहरु बोकाएर उनीहरुको प्रगति गर्ने क्षमतालाई कुण्ठीत गरी दिन्छन् । जानी–नजानी वर्वादतर्फ धकेली दिन्छन् । अनि म ताक्छु मूडो बञ्चरो ताक्छ घुँडो भयो भन्दछन् । तर उनीहरु त्यो उखान उनीहरुका लागि उनकै वच्चाले भन्नु पर्ने थियो भन्ने जान्दैनन् ।
हरेक मानिसहरु भन्ने गर्दछन् म त जे जस्तो भएँ म मेरो छोराछोरीलाई म जस्तो मात्र बनाउँदिन । उनीहरुलाई म ठूलो मान्छे बनाउँछु, डाक्टर, इन्जिनियर, पाइलट, उद्योगपति, व्यापारी अन्य यस्तै धेरै–धेरै अपेक्षाहरु बोकेर आफ्ना छोराछोरीहरुप्रति बाबुआमाहरु धेरै सपनाहरु देख्दछन् । तर ति सपनाहरु प्रायः बाबुआमाका सफल हुदैनन् किन होला ?
आउनुहोस्, यहाँ केही छोटो चर्चा गरौं र साँच्चै हाम्रा सपना साकार बनाउने केही उपायहरु पत्ता लगाउने कोशिस गरौं ।
मानिसको कल्पनाबाट विचार र विचारबाट गति पैदा हुन्छ, गति पैदा भएपछि त्यसलाई मार्ग चाहिन्छ मार्ग २ प्रकारका हुन्छन् । सफलता र असफलताको ति मार्गमा जाने २ किसिमका स्वभाव हुन्छन् । सकारात्मक र नकारात्मक । सकारात्मकले सफलताको बाटो हिड्न प्रेरित गर्दछ भने नकारात्मकले असफलताको । अतः स्वभाव अनुसार व्यक्तिले मार्ग तय गर्दछ । यसो भएको हुँदा अब हामीले हाम्रा नानीहरुलाई कुन बाटोमा हिड्न र कुन स्वभावको हुने प्रेरणा प्रदान गरिरहेका छौं । पहिला यो कुरा जान्न जरुरी छ । तपाईलाई थाहा छ घरको तला थप्ने सोच अनुसारको जग हुनुपर्दछ जग १ तलाको मात्र छ भने तपाईसंग पछि जति सामग्री भए पनि घरमा तला थप्न सक्नुहुन्न ।
त्यस्तै तपाईको नानी बाबुहरुले सानैमा सही मार्ग लिन सकेनन् र ठीक स्वभावको बन्न सकेनन् भने समय वितेपछि तपाईले पछुताउनु बाहेक केही हात पार्न सक्नुहुन्न ।
जब सम्म मानिसलाई काम गर्ने अवसर दिइदैन, तब सम्म ऊ भित्रको शक्तिको बारेमा अरुलाई थाहा हुन सक्दैन । यसले सक्दैन भन्ने अभिभावकहरुको तल्लो स्तरको सोचाईले आफ्ना सन्तानहरु कहिले अगाडि बढ्न सक्दैनन् ।
जब मानिसलाई विवशताको स्थितीमा चेप्टाएर काम लगाइन्छ र उसलाई अन्य विकल्पहरु दिइदैन तब व्यक्तिको त्यो काम गर्ने क्षमता स्पष्ट देख्न सकिन्छ । तर यसरी काम लगाउँदा अभिभावकले आफू भित्रको निरंकुशता आफ्ना नानीहरु माथी लाद्नु हुदैन । यसको खास अर्थ के हो भने उसको रुचीमा आधारित काम जोखिमले भरीएको भएपनि स्वतन्त्ररुपले उसलाई त्यसको अभ्यास गर्न दिनुपर्छ । अभ्यासले मात्र हाम्रो दक्षतामा निखारपन ल्याउन सक्छ । अतः तपाई आफ्ना नानीहरुको इच्छाको तगारो बनेर आफ्नो अपेक्षा अनुुसारको नतिजा निकाल्न सक्नुहुन्न ।
तपाई ठान्नु होला संसारका ति महान व्यक्तित्वहरुको जीवनमा कुनै दुःख थिएन । उनीहरुका अगाडि अवसर मात्र थिए । यदि तपाई यहि कुरा सोच्दै हुनुहुन्छ भने तपाई असफल हुनको मूल कारण यही हो । तपाई हरेक व्यक्तिको जीवनी पढ्नुहोस् । तिनिहरु यति कठोर परिस्थितीबाट उम्कीएर आउन सके कि तपाई विश्वास गर्न सक्नुहुन्न । उम्कीएर आउन सके मात्र हैन उनीहरुले त्यही उम्कीएर आउन सकेको क्षणको सदुपयोग गरेर नै सफल बन्न सके । त्यो क्षण भन्दा पहिला उनीहरु पनि सामान्य र असफल मान्छेकै रुपमा थिए । तर जुन कठोरतामा तिनिहरु पिल्सीए त्यहाँबाट उनीहरुको रंग परिवर्तन भयो दिशा परिवर्तन भयो विचार साहस, आँट र भरोसा परिवर्तन भयो । त्यही परिवर्तनका रङ्गहरुमा उनीहरुले आफ्नो जीवन खोजेर प्राप्त गर्न सफल भए ।
तपाईलाई थाहै छ सुनलाई न तताई गहना बन्दैन, फलामलाई तताएर नकुटी हतियार बन्दैन । जब हतियार बन्छ तब त्यही फलामको हतियारले फलामको ठूल–ठूला गोलाइहरुलाई टुक्रा–टुक्रा पारी दिन्छ ।
एउटा फलाम सानो भएपनि त्यसले काट्छ । अर्काे फलाम ठूलो भए पनि काटिन्छ । तपाईलाई आश्चर्य लाग्दो हो । आश्चर्य मान्नु पर्दैन हेर्नुहोस् । त्यस भित्र एउटालाई आन्तरिक रुपमा बलियो बनाइएको हुन्छ । अर्काे बाह्य रुपमा मात्र ठूलो देखिन्छ । मानिस पनि त्यसरीनै बलियो र लुते, सफल र असफल, शक्तिशाली र शक्तिहीन हुन्छ । मानिस पनि कमजोर र बलियो आन्तरिकरुपले नै हुने हो ।
मानिसको शक्ति पैसा र औपचारीक शिक्षाको आधारमा मात्र नापिने होइन । यसलाई इमान्दारीता, जिम्मेवारीता, दक्षता, कुशलता, बफादारिता, धार्मिकता, नैतिकता आदि इत्यादी सकारात्मक विचार र चिन्तनका आधारमा मापन गरिन्छ । जो मानिस जति सकारात्मक छ त्यतिनै क्षमतावान, योग्य, दक्ष र लोकप्रिय बन्दछ र ठानिनुपर्दछ । तपाईले भुस कुटेर चामल पाउन सक्नु हुन्न । त्यस्तै तपाई कुनै मानिसलाई पैसा भएको नाताले र अरुहरु चाकरीबाजहरुले गरेको चाकरीको आधारमा सम्मान गर्दैहुनुहुन्छ भने सोच्नुहोस् र तिनीहरुलाई हेर्नुहोस् । तिनीहरुसंग भएको आर्थिक क्षमता कहाँबाट प्राप्त भएको के पूर्खाबाट सरेको आर्थिक क्षमतानै सम्मानको पात्र हुन लायक हुन्छ त ? अनि अरुको बौद्धिकता र क्षमताको बलमा अडिएर पगरी गुथ्नुनैै सफलता हो ? तपाई यदि यस्तै कर्मविहीन मानिसका पछाडि लाग्दै हुनुहुन्छ भने एकछिन शान्त भएर सोच्नुहोस र छोडी दिनुहोस् यिनीहरुलाई । तपाई कर्मशिल मानिस हो र सफलता प्राप्त गर्न चाहनुहुन्छ अनि आफ्ना नानीहरुलाई सही मार्गदर्शन गर्न चाहनुहुन्छ भने तपाईले तिनीहरुलाई चिन्नु पर्दछ । जो तपाई वरिपरि इमान्दर भएर तपाईलाई कर्मयोग सिकाउँछन् । तिनीहरुको संगतमा जानुहोस् र आफ्ना नानीहरुलाई तिनीहरुको संगतमा राख्नुहोस् । अनि हेर्नुहोस् आफ्ना नानीहरुमा आएको अपार परिवर्तन अन्यथा भुस कुटेर तपाई सिङ्गो जीवन बिताउनु चाहनुहुन्छ भने विचार तपाईको ।
तपाईले आफ्ना नानीहरुलाई बनाउन चाहेको डाक्टर, इन्जीनियर, पाइलट ति पेशाका पदहरु हुन सोध्नुहोस् ति हाम्रा मित्रहरुलाई र परिवारका अग्रजहरुले कसरी सहयोग गरे । त्यहाँ पुग्न कति कष्ट गरेर पुगियो । अतः सपनाहरु बनाउनु नराम्रो हैन तर त्यहाँ पुग्नका लागि तपाईले नानीहरुलाई के सहयोग गर्दै हुनुहुन्छ । पछाडि फर्र्किएर हेनुहोस् ।
तपाईको नानीमा अवश्य त्यो प्रतिभा छ । तपाई उसलाई जे बनाउन चाहँदै हुनुहुन्छ । यदि तपाईले आफ्नोे बच्चालाई आशाजनक वातावरण दिनुभयो भने उसको प्रतिभा अंकुराउँछ, हुर्कन्छ, बढ्छ, झाँगिन्छ र एउटा विशालरुप लिन्छ । तपाईले उसलाई निराशाजनक वातावरण दिनुभयो भने उ विऊमै कुहन्छ, उम्रिए पनि मर्छ या झाँगिदै गर्दा भाँचिन्छ । तपाईले कुन तहमा भूल गर्नुभयो उसको प्रतिभाहरुको त्यही अन्त्य हुनेछ ।
बच्चाहरुभित्र अथाह शक्तिको स्रोत हुन्छ । साहस बढाएर त्यो प्रतिभा वाहिर ल्याउनका लागि तपाईनै सहयोगी बन्नुपर्दछ । अतः तपाईले आफ्ना नानीहरु संग गरेको हरेक व्यवहारले भोलीलाई प्रत्यक्ष प्रभाव पार्ने हुन्छ । त्यसकारण तपाई उनीहरुसंग व्यवहार गर्दा आफ्नो कर्तव्यलाई सम्मूख राखेर व्यवहार गर्नुहोस् । लहड, वेहोसी र आवेगमा गरिएको व्यवहारले नानीहरुको भविष्यको मूना चुडाई दिन्छ । सम्झनुहोस् एउटा उम्रदै गरेको विरुवाको एक पटक मात्र मुना चुडियो भने त्यसको अवस्था के होला ? एक पटकमा त त्यसको स्वरुप विग्रन्छ । पटक–पटक चुडेमा झन् त्यो के होला ? हाम्रा नानीहरुको अवस्था पनि त्यस्तै हुने हो तपाईले उनीहरुप्रति जति पटक गलत व्यवहार गर्नुहुन्छ । उनीहरुका विकसित हुने भावना त्यति पटक चुडिन्छन् । अब आफैं अन्दाज गर्नुहोस् आफ्ना नानीहरुलाई तपाई असल बनाउन कति दायित्व, कर्तव्य साँच्चै ठिक–ठाक ढंगले पूरा गर्दै हुनुहुन्छ ।
तुलनात्मक रुपले यो कुरालाई हेरौं । तपाईको एउटा २ वर्षको बच्चा छ जसलाई तपाई २ महिनादेखि ‘क’ लेख्न सिकाउँदै हुनुहुन्छ । उसले २ महिनाको कोसिशमा अझै ‘क’ लेख्न जानेको छैन तर एक दिन तपाई १० बजे घरबाट बाहिर जानु भयो । बेलुका फर्किएर आउँदा तपाई व्यवहारीक कारणले निक्कै तनावमा हुनुहुन्थ्यो । जब तपाई त्यो तनाव बोकेर ५ बजे घर भित्र पस्नु भयो । त्यो वच्चाले ‘क’ लेखेको कापी तपाईलाई ढोकैमा पुगेर देखाउँदै भन्यो– बुबा मैले ‘क’ लेखे आफैंले लेखेको ।
तपाई तनावमा भएको कारण यस्तो प्रतिक्रिया दिनु भयो – परजा…..यहाँ आफूलाई के को टेन्सन छ अनावश्यक आइपुग्ने वित्तिकै कापी देखाउँछ । जा, उता ठूलो काम गरिछस दुई महिनामा एउटा क लेखेको छ । बडा बहादुरी गरेझंै गर्छ । भन्दै कापी खोसेर हुत्याई दिनु भयो । यो एउटा पक्ष भयो तर त्यही ठाउँमा अर्काे बाबु या तपाई उस्तै अवस्थामा घर आइपुग्नु भयो नानीले पनि त्यसरी नै त्यस्तै व्यवहार ग¥यो तर उसले या तपाईले आफ्नो रिस र व्यवहारीक तनावलाई आफू भित्र दवाएर यस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो ।
ओहो बाबु धन्यवाद ! बाबुले आज म घरमा आउँदा  क लेखेको हुन्छ होला भन्ने कुरा  मैले सोची रहेको थिएँ । ठिक छ यो कापी मलाई देऊ त अब म  कपडा फेर्छु अनि बाबु र म, आमाले बनाएको चिया खाजा खाँदै ‘ख’ ‘ग’ लेख्ने है ल ? भन्ने यस्तै–यस्तै खाले हौसलाका भाषाले उसको जागेको आन्तरिक शक्तिलाई अझ अगाडि बढ्ने उत्प्रेरणा भर्ने काम गर्नुभयो र केही वेर उसलाई पढाउन समय दिनु भयो ।
अब हेर्नु होस् यि दुई वटा अवस्थामा के–के फरक छ ।
पहिलो अवस्था
१) तपाई घरबाट बाहिर निस्कीएको आधा घण्टा भित्र तपाईको बच्चाले क लेखेको थियो ।
२) उसले त्यो क देखाउन तपाईलाई ६ घण्टा भन्दा वढी समय बाटो हेरेर कुरी रह्यो ।
३) क लेख्न जानेकोमा उ तपाईले विश्व जीतेको भन्दा वढी खुशी थियो ।
४) जब तपाई उ संग त्यसरी प्रस्तुुत हुनुभयो त्यो समय १ मिनेट मात्रको थियो ।
जब तपाई त्यसरी प्रस्तुत हुनुभयो । जो पहिलो अवस्था हो । उसले यो क जान्नुको कुनै महत्व रहेन छ । २ महिना देखि मेरो बाबाले मलाई व्यार्थको कुरामा झुलाउनु भएछ । मैले कुनै ठूलो काम गरेको रहेनछु भन्ने निराषा मनमा गहिरो गरी गढयो । तपाईलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्यो दोश्रो अवस्था पनि त्यस्तै थियो र भयो तर तपाई प्रस्तुत भएपछि उसले यो ‘क’ को महत्व ठूलो रहेछ त्यसैले बाबाले मलाई यो सिकाउदै हुनुहुन्छ अब अरु पनि लेखेर म ठूलो मान्छे बन्छु मैले ठूलो काम गरेको छु अब झन ठूलो गर्छु भन्ने आशाहरु मन भरी झागिन गयो ।
छोटो गरी भन्नु पर्दा यि दुई अवस्थामा एउटामा मल लगाइयो । अर्काको मुन्टो भाचियो अरु तपाई आफैं बुझ्नु हुन्छ । यति सानो कुराले बच्चाको भविश्यमा यति ठूलो चोट पुग्छ र फरक पर्छ भने हामीले आफ्ना नानी बाबुको वृद्धि र विकाशका लागि कति ठाँउमा कति पटक भूल गरेर मुन्टो चुडाउने काम गरेका छांै होला अब भन्नुहोस कागती रोपेर सुन्तला खान पाइएला ? यहाँ संकेत मात्र गर्न खोजिएको छ नानीहरुलाई असल बनाउन र उनीहरुको प्रतिभा फुल्न र फल्नका लागि हामीले कति कुरामा सचेत रहनुपर्छ तपाई आफैं अन्दाज गर्न सक्नुहुन्छ ।
भनिन्छ संसारमा मानिसको मस्तीस्क ६ प्रतिशत मात्र हाल सम्म चल्न सकेको छ । त्यो पनि संसार चकित पार्नेहरुको, आविस्कारक वैज्ञानिकहरुको हाम्रो कति चलेको होला ? आफैं अन्दाज गर्न सकिन्छ । मेरोे विचारमा मुन्टो नभाचीकन बढदा १०० फिट बढ्न सक्ने रुखको मुन्टो भाँच्दा–भाँच्दा जम्मा बुढो हुँदा सम्ममा ६ फिट मात्र बढन सकेको जस्तै भएर ६ प्रतिशत मात्र काम गर्न सकेको होला । मान्छेको दिमागले यसो हुँदा सानैमा पटक–पटक भाँचिएर, टुक्रिएर, दोव्रिएर आफ्ना अभिभावकहरुको अदुरदर्शी सोच र निरंकुसताको पर्खालको घेरामा कोचिएर सायद मान्छे हुर्किन, बढन, झाँगिन, फक्रिन र फैलन सकेन होला ।
तसर्थ तपाई हामीले हाम्रा नानी बाबुहरुलाई उनीहरुको भावना, चाहना र उनीहरुको अगाडि बढ्ने सक्ने विशेष गुणको पहिचान गरी अगाडि बढ्ने हौसला र प्रेरणा दिन सक्नुपर्दछ । अन्यथा महङ्गा बोडिङ्ग र कलेज पढाएर औपचारीक शिक्षाको सुगा रटाईले मात्र उनीहरुको प्रतिभा फुल्छ, फल्छ भन्ने विश्वासले हाम्रा चाहनाहरु साकार हुदैनन् । उनीहरुलाई उनीहरु भित्र रहेको शक्तिको भण्डारको पहिचान गराउनु र त्यसलाई प्रयोगमा ल्याउन सक्ने वातावरण दिने काम हाम्रो हो ।
हाम्रा नानीबाबुहरु तपाई हामीले लादेको सामान बोक्ने खच्चड, घोडा र कुनै यन्त्र पनि हैनन् उनीहरुको पनि चेतना, विवेक र बुद्धि छ । आफ्नो उमेर अनुसार तपाई हामीसंग भन्दा बढी प्रतिभा छ किनकि उनीहरुसंग तपाई हाम्रो जस्तो व्यवहारले पिल्सीएको र खिइदै गएको आफ्ना कुरा लाद्ने भारी मनको निरंकुश बुद्धि हैन स्वतन्त्रतापूर्वक आकाशमा उड्न सक्ने कल्पनालाई साकार रुप दिन सक्ने सुर्य जस्तै उज्यालो मन र आकाश जस्तै ब्रम्हाण्ड अटाउने विशाल छाती हुन्छ । हामीले यो बुभ्mन जरुरी छ ।
हाम्रो अज्ञानताको कारण हुन सक्छ । आवेग र हेल चेक्रयाइको कारण हुन सक्छ । अथवा गरीवी र अशिक्षाको कारण हुन सक्छ । अन्य–अन्य यस्तै धेरै कारणहरु हुन सक्छन । तपाई हाम्रा वच्चाहरुको मन हाम्रै कारणले चुडिएको छ, टुक्रिएको छ, कठाग्रीएको छ, होचो र पुडको बनेको छ । आक्रान्त छ, त्रसित छ, डर पोक छ, जुनकुरामा कमजोर छ र जेमा तिक्ष्म र सक्षम छ । तपाई हाम्रै कारणले छ र भोलि जे बन्छ । तपाई हाम्रै कारणले बन्छ । भोलीका लागि थोरै उसको, समाजको, साथीभाइ र संगतले काम गर्ला अन्यथा जग तपाई हामीलेनै हालेको हो । कति तला लैजान सकिन्छ । त्यो तपाई हामीनै जान्दछौं र तपाई हाम्रै हातमा छ ।
अतः आफ्ना नानीबाबुहरुलाई कल्पना गर्न दिनुहोस । सपना देख्न दिनुहोस र आन्तरिक साहस उत्पन्न गर्न दिनुुहोस उनीहरुमा कुनै कमि नदेख्नु होस । तपाईको कारण तपाईको वच्चाले आफ्ना मनमा निराषाको चित्र बनायो भने आशा गरिएका सफलताहरु प्राप्त हँुदैनन् ।
तपाईले आफ्नो वच्चालाई जस्तो बनाउन चाहनु हुन्छ । उसले आफूलाई त्यस्तै सम्झन तपाईले उसलाई स्वतन्त्रता प्रदान गर्नु पर्दछ । यो उसको अधिकार हो । तपाईको बच्चाले १ दिनमा १ हजार प्रश्न गर्न सक्छ तपाईले सबको उत्तर जानेसम्म दिनुपर्छ नजाने कोशिस गर्नुपर्छ । अन्यथा जतिवटाको उत्तर दिनलाई तपाई झण्झट मान्नुहुन्छ त्यति पटक उसको भावना माथि हमला भयो उसको कलिलो मूना चुडने काम भयो यही बुझेर नानीबाबु संग व्यवहार गर्नुहोस उनीहरुसंग सरल र हितैसी बन्नुहोस र आफ्ना नानी बाबुलाई योग्य, सक्षम, सकारात्मक र सफल बनाएर आफ्नो सपना समेत साकार पार्नुहोस ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here