हर्क बढाई छ नेपाली चेलीलाई

११ असार २०७१, बुधबार मा प्रकाशित

भारतीय च्यानल जीटीभीमा प्रशारण भएको ‘डान्स इण्डिया डान्स’(डीआईडी) लिटल मास्टर्स सिजन–३ को उपाधि नेपाली चेली १२ वर्षीया वालिका तेरिया फौजा मगरले हात पार्न सफल भएकी छन् । शनिवार राति सम्पन्न फाइनलमा आफ्ना तीन जना प्रतिष्पर्धीलाई पछि पार्दै तेरियाले उपाधि जितेकी हुन् । यस उपाधिसंगै उनलाई बेवी कप सहित भारतीय रुपैयाँ १० लाख र एउटा कारसमेत प्रदान गरिएको छ । त्यसै गरी उनीसंग प्रतिष्पर्धामा उत्रिएकी भारत (पश्चिम बंगाल) की ८ वर्षीया चेली अनुस्का क्षेत्री दोश्रो भइन ।
डीआइडी प्रतियोगिताका लागि भारतभित्र र बाहिरका १४ वर्ष मुनिका तीन लाख आवेदक मध्येबाट छानिदै ४० हजारमा परेका यी दुवै नेपाली वालाहरु मेघा अडिसन हुँदै प्रतियोगिताका विभिन्न चरण पार गरी विजयी बन्न सफल भएका हुन् । उनीहरुसंगै अन्तिम चरणमा भारतका हार्दिक रुपारेल र सद्विन सेट्टी पनि पुगेका थिए ।
लुम्बिनी अञ्चल रुपन्देही जिल्लाको बुटवल नगरपालिका भित्रको रुद्रपुर निवासी भारतीय आर्मीबाट अवकास प्राप्त कृष्णबहादुरकी नातिनी हुन् तेरिया । उनका बुवा वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुक दुवईमा कार्यरत छन् भने आमा गृहिणी हुन् । स्थानीय पिसल्याण्ड भूपू सैनिक विद्यालयमा कक्षा पाँचमा अध्ययन गरिरहेकी उनी वागेश्वरी संगीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिकिरहेकी छन् । हजुरबुवा कृष्णबहादुर नातिनीका गतिला अभिभावक मात्रै नरही हरेक पलका साथी पनि थिए । तेरिया संगीतालयबाट नृत्य कक्षा सकेर फर्कदा हजुरबुवा दंग पर्दथे र उनको हरेक अभ्यासको साक्षी पनि बन्थे । उनै हजुरबुवाले आफ्नी नातिनीको भिडियो खिचेर मुम्बईका आफन्तको माध्यमबाट डीआइडी लिटल मास्टर्स–३ का लागि पठाएका रहेछन् । त्यसकै परिणाम तेरियाले शनिबार राति प्राप्त गरिन र उनीहरुको परिवार, जिल्ला, अञ्चल मात्रै होइन नेपाली जातिलाई गौरवान्वित बनाइन् ।
केही वर्ष अघि भारतीय अर्काे प्रशिद्ध टेलिभिजन च्यानल सोनीद्वारा सञ्चालित गायन प्रतियोगीता इन्डियन आइडलमा नेपाली मूलका भारतीय नागरिक प्रशान्त तामाङले पनि सर्वाेत्कृष्ट भएर रेकर्ड कायम गरेका थिए । तर लिटल मास्टर्सको ग्रयाण्ड फिनालेसम्म पुगेर उपाधि जित्ने तेरिया पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन् ।
सन् २००७ को तेस्रो इण्डियन आइडलमा तामाङलाई विश्वभरी छरिएर बसेका नेपालीले भोटिङ गरेर जिताए जस्तै यसपटक पनि नेपाली मूलकी तेरियालाई जिताऊन सम्पूर्ण नेपाली भाषीले साथ दिएका थिए, सहयोग र समर्थन गरेका थिए । हजुरबुवा पनि आफ्नी प्यारी नातिनीको फाइनलको प्रस्तुुति आफ्नै आँखाले हेर्न बुटवल, सुनौली, गोरखपुर हुँदै गाडीमा चार दिन लगाएर पुना पुगेका थिए । उनीसंगै मगर महिला संघ रुपन्देहीका २५ जनाको टोली पनि गएका थिए । फाइनल बिजेतामा निर्णायक मण्डलका तर्फबाट मिथुन चक्रवर्तीले उनको नाम घोषणा गर्दा मगरहरुको जातीय पहिरनमा पुगेका महिलाको टोली ‘रेसम फिरिरि’… गीत गाउँदै नाचेका थिए । चक्रवर्ती सहित निर्णायक टोलीका बरुण धवन, गीता कपुर र अहमद खानले उनलाई पुरस्कार र ट्रफी हस्तान्तरण गरेका थिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्ने पहिलो नेपाली तेञ्जीङ शेर्पा, प्रथम नेपाली थिए । उनी पछि भारतीय भए । त्यस्तै बाल नृत्य कलामा प्रथम हुने तेरियाको प्रतिभालाई अझै दक्ष बनाएर विश्वसामु प्रस्तुत गर्ने काममा नेपाल सरकारको संस्कृति मन्त्रालय लगायतले ध्यान दिन सकेन भने अरुनै कुनै देशले आफ्नो नागरिक बनाएर विश्वमा प्रस्तुत गर्ने पो हो कि ? अत्यन्त गम्भीर भएर सरकार लाग्नु वाञ्छनीय छ । नेपालमा प्रतिभा नभएको होइन तर समस्या पलायनको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here