विषादीयुक्त सागसब्जी र फलफूलको मानव स्वास्थ्यमा असर

0
883

–तीर्थराज खरेल
हरेक वर्ष लाखौं मानिसहरु विषादीयुक्त तरकारी र फलफूलको उपयोगबाट विभिन्न रोगका शिकार भइरहेका छन् भने हजारौंले अकालमै ज्यान गुमाउनु परेको छ । कीटनाशक औषधि तथा रासायनिक मलको प्रयोग बढी मात्रामा बाली उत्पादन गर्ने लक्ष्यबाट प्रेरित भएर गरिन्छ, तर तिनीहरुको प्रयोगबाट मानव स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने कसैले सोच्दैन । खाद्यान्न, सागसब्जी, चिया र फलफूलको ठूलो मात्रामा उत्पादन गर्न सकियोस् र बढी नाफा कमाउन सकियोस् भनेर मानव स्वास्थ्यको हेक्का नराखी जथाभावी रुपमा मानव स्वास्थ्यका प्रतिकूल हुने औषधिको अन्धाधुन्द रुपमा बिक्रीवितरण तथा प्रयोग हुँदै रहेकाले सर्वसाधारण उपभोक्ता पनि त्यसको शिकार भइरहेका छन् । नेपालमा अहिले ३ सय ५० मेट्रिक टनभन्दा बढी कीटनाशक औषधि आयात हुने गरेको तथ्यांक छ । किसानहरुमा ज्ञानको कमी हुनु र चाँडै सम्पत्ति कमाउने ध्याउन्न हुनाले कीटनाशक औषधिको प्रयोगमा बढोत्तरी भइरहेको हो । किसानहरुलाई कीटनाशक औषधिको प्रयोगबाट मानव स्वास्थ्यमा कस्तो असर पर्छ र तोकिएको मात्राभन्दा बढी प्रयोग गर्दा कति भयावह अवस्था बेहोर्नुपर्छ भन्ने आवश्यक जानकारी नहुनु पनि मुख्य समस्या हो । कीटनाशक औषधिको प्रयोगबाट उत्पादित अन्न, सागसब्जी र फलफूलको उपयोगबाट क्यान्सर, मानसिक सुस्तता लगायतका अनेकौं रोग लाग्ने चिकित्सकहरुको भनाइ छ । जापान, अमेरिका जस्ता विकसित मानिने देशहरुमा पनि विषादीयुक्त खाद्यान्न, सागसब्जी, फलफूलको उत्पादन भइरहेको छ । तर नगन्य मात्रामा । नेपालमा अवस्था अत्यन्तै पीडादायी र डरलाग्दो छ । नेपालका शहरी क्षेत्र मात्र होइन, सुदूर ग्रामीण भेगहरु पनि विषादीको प्रयोग हुने क्षेत्रमा परिणत हुँदै गएका छन् । कृषिको आधुनिकीकरण र व्यापारीकरणको नाममा अत्याधिक विषको प्रयोग हुँदै आएको छ । मानिसको स्वास्थ्य र वातावरणीय प्रभावलाई ख्यालै नगरी जथाभावी रासायनिक मलखाद, कीटनाशक तथा रोगनाशक औषधिको प्रयोग गरेकै कारण आजको भयावह अवस्था देखिएको हो । अविवेकी तरिकाले मानव स्वास्थ्यको ख्यालै नगरी औषधिको प्रयोग गर्ने क्रम जारी राख्ने हो भने त्यसरी उत्पादन गरिएका खाद्यान्न तथा सागसब्जी र फलफूलले दीर्घकालीन रुपमा मानवजातिको वंशानुक्रमलाई नै असर पु¥याउँछ । कृषि, वातावरण तथा विकासको क्षेत्रमा कृयाशील संघसंस्था तथा वयक्तिका लागि कीटनाशक औषधिको बढ्दो प्रयोग चिन्ताको विषय भएको छ । रासायनिक कीटनाशक औषधिको प्रयोगमा न्यूनीकरण गर्दै विषादीरहित फलफूल, सागसब्जी तथा अन्न उत्पादन गर्ने लक्ष्यका साथ नेपाल तथा अन्य देशहरुका विशेषज्ञहरु लागिरहेका छन् । कीटनाशक औषधिका दुष्परिणामहरु ब्यहोर्न निकै डरलाग्दो र कष्टपूर्ण हुन्छ मानिसका लागि । प्रतिबन्धित औषधिको विक्रीवितरण तथा उपयोगमा पनि बढोत्तरी भइरहेको छ ।  हामी नेपालीहरु दीर्घकालीन रुपमा स्वास्थ्यमा असर पर्ने कुराको त्यति धेरै वास्ता गर्दैनौ, हामी त गम्भिर प्रकृतिका बिरामलाई मात्र ध्यान दिन्छौं र स्वास्थ्य केन्द्र वा अस्पतालतर्फ जान्छौं । असाध्यै रोग लाग्ने सम्भावनामा हामी आँखा चिम्लन्छौं । मन्दविष हामी सेवन गरिरहन्छांै । आँखा अगाडिको फाइदामा हाम्रो ध्यान जान्छ, तर त्यस्तो खाद्यान्न खाएर, त्यस्ता फलफूल तथा सागसब्जीको प्रयोगले हाम्रा आफन्त, हाम्रै परिवारका सदस्य, हाम्रै नेपाली दाजुभाइ, हाम्रै मानव मित्रहरु र हाम्रै घरपालुवा तथा जंगली जनावरहरु मर्दैछन् भने हामी यो विषयमा संवेदनशील हुने कि नहुने ? वातावरणीय असन्तुलन र पारिस्थितिक प्रणालीमा गडबडी हुने र कीटनाशक औषधि तथा रासायनिक मलखादमा पूर्ण रुपमा निर्भर हुँदै जाँदा समाधानबिनाको भयाबह भविष्यतर्फ लम्किरहेका छौं हामी । विदेशी र महंगा कीटनाशक औषधिमा भर पर्दा कृषिको भविष्य अन्धकार हुन्छ र किसानहरु सदैव परामुखापेक्षी हुन बाध्य हुनुपर्छ । साँच्चै भन्ने हो भने हामीहरु नाजुक वर्तमान र भयावह भविष्यको मझधारमा उभिएका छौं । वातावरणीय असरको त कुरै नगरौं । रासायनिक मल तथा कीटनाशक औषधिको प्रयोगले वायुप्रदुषण, जलप्रदुषण र माटो प्रदुषण गराउँँछ । विषादी प्रयोगमा सावधानी नअपनाउँदा माटो, जल तथा वायुप्रदुषण भएर असम्बन्धित मानिसलाई पनि शिकार बनाउँछ यसले । विषादी भाँडोमा भर्दा, सफा गर्दा, छर्किंदा र औषधि बाहिर फाल्दा प्रदुषण हुने र पानीका स्रोतमा मिसिएर मानव स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्छ । बलौटे माटोमा पानी लामो समयसम्म सतहमा रहने नसक्ने भएकाले ट्यूबवेल तथा इनारमा सजिलै विष मिसिने गर्छ । दोमट माटो भएका ठाउँमा विषादी जमिनमै रहने र इनारमा वा नदीमा मिसिने हुन्छ । विष वा रसायन जमिनमुनि गए पनि वा जमिनमाथि रहे पनि बेफाइदा नै हुन्छ सबैका लागि । समुदायमा चेतनामा कमी भएकाले यस्ता गतिविधिहरु भइरहेकोमा सन्देह छैन । विषादी प्रयोगमा लापरबाही बढ्दै जाने हो भने विकास र निर्माणका जतिसुकै कुरा गरे पनि साँचो अर्थमा मानव सभ्यता अधोगतितिरै गएको मान्नुपर्छ । थाहा भएर पनि बुझपचाएर वा बिकल्प नभएर विषादीको प्रयोग गर्नुपरेको वा विषादीको प्रयोग गरिएका फलफूल वा तरकारी प्रयोग गर्नुपरेको यथार्थ हाम्रो सामु छ । ४ हजार एग्रोभेटबाट विष बेचिने काम भइरहेकोले नाफाका लागि जेसुकै पनि गर्ने क्रियाकलाप बन्द नभएसम्म मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने क्रम जारी रहनेछ । विषादी छरेको ७–१४ दिनपछि मात्र सागसब्जी वा फलफूल प्रयोग गर्नुपर्छ । विक्रेता, सञ्चयकर्ता वा उपभोक्ता सबै विषादीका कारण रोगका शिकार हुन्छन् । प्रांगारिक, जैविक तथा प्राकृतिक कीटनाशक औषधिको उत्पादनलाई तीब्रता दिनुपर्छ । विद्यालय शिक्षाको पाठ्यक्रममा विषादीको प्रयोगबाट हुने बेफाइदा तथा प्रयोग गर्न अपनाउनुपर्ने उपायहरु समावेश गरेर पठनपाठनको व्यवस्था मिलाउनुपर्छ । विषादीको उत्पादन तथा आयातलाई निरुत्साहित गर्नुपर्छ । नीतिनिर्माणको तहमा हुनेहरुले विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै जैविक विषादीको उत्पादन तथा विक्रीवितरण र उपयोगमा लाग्न किसानहरुलाई प्रोत्साहित गर्ने ऐनकानून तथा नीतिनियम बनाउनु आवश्यक छ । मानव स्वास्थ्यको विरुद्धमा उभिने द्रव्यपिचासीका लागि कडाभन्दा कडा दण्डसजाँय सहितको कानून निर्माण गर्नु र त्यसको सफल कार्यान्वयन गर्नु आवश्यक छ ।
tirthakharel2028@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here