शक्तिको स्रोत बनियोस्

0
552

नयाँ चन्द्र उदाउनु पूर्वको रातलाई शिवरात्रि भनिन्छ । हरेक वर्षको फागुन महिनाको कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रिको आध्यात्मिक एवम् सांस्कृतिक महत्व रहेको छ । विज्ञानले पनि यो रातमा पृथ्वीमा रहेका जीवहरुमा शक्ति र गुरुत्वकर्षणको असाधारण बहाव रहने प्रमाणित गरेको छ । त्यसैले आध्यात्मिक होस् वा वैज्ञानिक दुबै दृष्टिले शिवरात्रिको विशेष महत्व छ । भगवान शिव देवताका पनि देवता हुन् । शिव तत्व त्यस्तो शक्ति हो, जसका वरिपरि विश्व ब्रह्माण घुमिरहेको छ । ब्रह्माण्डको शक्ति हावा, पानी, आकाश, आगो र पृथ्वी लगायतका पाँच वटा तत्वबाट निर्माण भएको छ । पञ्चतत्व भनिने ब्रह्माण्ड र व्रह्माणका यी सबै स्वरुपको स्रोत उनै भगवान हुन् जो विभिन्न स्वरुपमा रहेका छन् । त्यसैले पृथ्वीमा रहेका जीवमध्येका मानव जाति पनि त्यही पञ्चतत्वबाटै निर्मित भएको हो र सबै जीवात्माहरुको सिङ्गो र एउटै स्वरुप भगवान शिव हुन् ।

शिवरात्रिले मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास छ । त्यसैले आध्यात्मिक शक्ति र आकर्षणलाई आफ्नो शरीरमा बहन गर्न रातभर जाग्राम बस्ने चलन छ । विभिन्न धार्मिक ग्रन्थहरुले वर्णन गरेको श्लेषमान्तक वन जस्तो पवित्र र कैलाश पर्वतको छायाँ परेको भूमि नेपालमा रहेको भगवान पशुपतिनाथको निवासस्थल भएको देश भएका कारण शिवरात्रिको यो दिन आराध्यादेव पशुपतिनाथ मन्दिरमा मानवसागर जम्मा भएर विशेष पूजा–अर्चना गर्दछन् । साधु, सन्त, महन्तहरुको समेत व्यापक उपस्थिति रहने पशुपतिनाथ मन्दिर र देशभरका शिवालयहरु भव्यरुपले सिंगारिएका हुन्छन् । यही दिन र यसका स्रोत भगवान शिवलाई भाङ, गाँजा, धतुरो सेवन गर्ने भनेर अपब्याख्या गर्नेहरु पनि छन्, तर उनको निराकार स्वरुप र तत्व जसले विष तत्व आफूले ग्रहण गरेर विश्वलाई सुरक्षा दिने स्वरुपको शक्तिको कल्पना भने गरिँदैन ।

शिवतत्व ती हुन् जो करुणाका सागर हुन् । पत्नी सतीदेवीको अकल्पनीय र असामयिक निधनको वियोगमा पत्नीको मृत शरीर काँधमा बोकेर लामो समयसम्म ब्रह्माणको यात्रा गर्ने शिवलाई त्यसैले करुणाको खानी भनिन्छ । सतीदेवीका अङ्गहरु गलेर खसेका ठाउँहरु स्वयम् शक्तिपीठका रुपमा उत्पत्ति र स्थापित हुँदै गएका हाम्रा ग्रन्थहरुले उल्लेख गरेका छन् । योगी तथा साधकहरुले आदि गुरु स्वरुपमा स्वीकार गरेका भगवान शिवले सप्तऋषिहरुलाई योग शिक्षा हस्तान्तरण गरेको शास्त्रीय मान्यता रहेको छ । शिव त्यस्ता भगवान हुन् जसको आकार छैन, जसलाई आदि र अन्त्यले विभाजन गर्न सकिँदैन । शिव त्यस्ता शक्ति हुन् जसको रिसले संसारका सम्पूर्ण अङ्गहरुलाई छिन्नभिन्न गरिदिन सक्छ । संसारका सबै तत्वका स्रोत उनै हुन् र अन्त्यमा त्यही तत्वमा मिसिन्छन् । यस्ता शक्तिका अनन्त स्रोत भगवान शिवको विशेष दिनले हामी सबैमा रिस, राग, अहंकार, घृणा, इष्र्या लगायतका विकारहरु अन्त्य गर्ने क्षमता प्रदान गरोस्– शिवरात्रिको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here