ट्रक व्यवसायी आन्दोलित, सेवा ठप्प

३० फाल्गुन २०७८, सोमबार मा प्रकाशित

झापा । 

सरकारले तोकेको न्यूनतम् भाडा समेत आफूहरुले नपाएको भन्दै ट्रक व्यवसायी आन्दोलित बनेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण आफूहरु मारमा परेको भन्दै ट्रक व्यवसायी आन्दोलित बनेका हुन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै भाडादर समायोजन हुनुपर्ने उनीहरुको माग छ ।

झापामा झण्डै छ सयको हाराहारीमा ट्रक व्यवसायी रहेको पूर्वी नेपाल मेची ट्रक व्यवसायी संघका अध्यक्ष प्रेमकुमार बोहोराले बताएका छन् । छोटो अवधिमा पटक–पटक गरिएको मूल्य वृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्य वृद्धिको अनुपातमा भाडादर वृद्धि गरिनुपर्ने उनको भनाइ छ । वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघबीच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ । जसका कारण व्यवसायीहरु प्रत्यक्ष मारमा परेको उनी बताउँछन् ।

पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्य वृद्धिकै कारण आफूहरुले ढुवानी सेवा बन्द गर्नुपरेको झापाका ट्रक व्यवसायीले बताउँदै आएका छन् । उनीहरुले शनिवारदेखि ढुवानी सेवा अवरुद्ध पारेका छन् । ट्रक व्यवसायी संघका पदाधिकारीसहितको उपस्थितिमा विभिन्न छ वटा निर्णय गर्दै आगामी चैत ६ गतेसम्म ट्रान्सपोर्ट तथा ट्रक व्यवसायीले लोडिङ तथा अनलोडिङ सम्बन्धी कुनै पनि गतिविधि नगर्ने घोषणा गर्दै सेवा अवरुद्ध पारेका हुन् ।

सरकारले निर्धारण गरेको भाडादर कायम गर्ने÷गराउने विषयमा ट्रक ढुवानी व्यवसायी र ट्रान्सपोर्ट कम्पनी जिम्मेवार रुपमा प्रस्तुत हुने, ट्रान्सपोर्ट तथा ट्रक व्यवसायीले लोडिङ तथा अनलोडिङ सम्बन्धी कुनै पनि गतिविधि नगर्ने, लोड भएर पठाइएका तरकारीको गाडीलाई सवारी नम्बरसहित पठाउनुपर्ने लगायतका माग अघि सारेका छन् ।

व्यवसायी र संघका पदाधिकारीहरु बीच भएको छलफलमा पूर्व नेपाल मेची ट्रक व्यवसायी संघका अध्यक्ष बोहोरा, उपाध्यक्ष बेनु सुवेदी, महासचिव देवेन्द्र केसी, सचिव गोपाल अधिकारी, सह–सचिव प्रभातभुषण दाहाल, सदस्य बुद्ध तामाङ, मेची ट्रान्सपोर्ट एशोसिएशनका कोषाध्यक्ष हेमन्त प्रसाई लगायत सहभागी थिए ।

ट्रक व्यवसायीहरुले भारतीय मालबाहक सवारीको सामान नेपाली भन्सारमा पल्टी गरी नेपाली सवारीसाधनमार्फत ढुवानी गर्नुपर्ने, नेपालको बोर्डरदेखि नेपालतर्फ १७ किलोमिटरसम्म मात्र भारतीय सवारीलाई प्रवेश दिनुपर्ने लगायतका माग गर्दै आएका छन् ।

यसैबीच नेपाल ट्रक यातायात व्यवसायी महाससंघले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानूनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेष गरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भरततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमा क्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने माग अघि सारिएको छ ।

व्यवसायीले भारतमा निश्चित समयसम्म सञ्चालन भई थोत्रिएका ट्रक नेपाली सीमाक्षेत्रमा ल्याइ सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here