दुई सय गोठमा भकारो सुधार कार्यक्रम

0
396

इलाम, भदौ १९ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका तीन गाविसमा २०० गोठको भकारो सुधारका लागि  १० लाख अनुदान दिएको छ ।

गाईभैँसीको मल र मूत्रलाई व्यवस्थित गर्दै अग्र्यानिक उत्पादनलाई बढवा दिन कार्यालयले प्रतिगोठ पाँच हजारका दरले अनुदान उपलब्ध गराएको हो । जसअन्तर्गत गत आर्थिक वर्षमा पशुपतिनगरमा ४९, गोदकमा ५० र सुलुबुङमा १०० गोठमा भकारो सुधार कार्यक्रम गरिएको वरिष्ठ कृषि विकास प्रकाशकुमार डाँगीले बताए ।

अनुदानबाट गोठमा मल, मूत्र हाल्ने ट्याङ्की र ओत निर्माण गरिएको किसानले बताएका छन् । गाईभैँसीको वर्षदिनको मल र मूत्रमा धेरै नाइट्रोजन भए पनि खुल्ला रूपमा छाड्नाले उडेर जाने गर्दछ । खेर गइरहेको मल र मूत्रको सही सदुपयोग गरी उचित व्यवस्थापन गर्न भकारो सुधार कार्यक्रम अघि सारिएको कार्यालयले जनाएको छ ।

भकारो सुधारपछि त्यसमा राखिएको मल खेतबारीमा थोरै लगाए पनि उत्पादन भने बढ्ने गरेको सुलुबुङस्थित बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्थाका सदस्य लीला भट्टराईले बताए ।  रासायनिक मलको सट्टा गोठेमल प्रयोग गर्ने हो भने माटोको उर्वराशक्तिसमेत बढ्ने भट्टराईको भनाइ छ ।

भकारो सुधारपछि थोरै मल पनि धेरै क्षेत्रफलमा प्रयोग गर्न सकिने किसान बताउँछन् । भकारोको मलबाट तरकारी खेती, अन्नबाली आदिमा प्रयोग गर्न सकिन्छ । गाईवस्तुको मल लगाएको उत्पादनले मानिसको स्वास्थ्यलाई समेत असर नगर्ने कृषि प्राविधिक बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here