
बिर्तामोड, बैशाख २।
अग्रज पत्रकार झापाको बिर्तामोड निवासी लीला बराल जनसेवा श्री पञ्चम श्रेणीद्वारा विभूषित भएका छन् ।
नवबर्ष २०७९को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार बराललाई विभूषित गर्दै विभूषण अधिकार पत्र प्रदान गरिन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बराल महासंघ झापा शाखाका सदस्य हुन् । बराल पूर्वाञ्चल दैनिकमा स्थापनाकालदेखि लामो समय आवद्ध थिए । उनले कान्तिपुर पब्लिेकशनमा आवद्ध भएर लामो समय पत्रकारिता गरे । पत्रकारिता सेवामार्फत राष्ट्रको गौरव र नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान स्वरुप उनलाई जनसेवा श्री पञ्चमश्रेणीद्वारा विभूषित गरिएको बताइएको छ ।
त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल सुप्रवल जनसेवाश्री तृतीय श्रेणीबाट विभूषित भएका छन् । निजामित सेवामा रहेर गरेको योगदानको कदर गर्दै उनलाई उक्त विभूषण प्रदान गरिएको बताइएको छ । पत्रकार बराल र प्रजिअ रिजालले प्राप्त गरेको विभूषित अधिकार पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री तथा विभूषण समितिका अध्यक्ष बालकृष्ण खाँणले हस्ताक्षर गरेका छन् ।































