बौद्धमा दिवङ्गत पितृका नाममा बत्ती बालेका भक्त लागे बालाजु

0
461

झापा,
दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य स्तूप परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् ।

चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको छ ।

काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ््गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा बताउनुहुन्छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तूपमा आई दिवङ्गत पितृको सम्झनामा बत्ती बालेमा पितृले मुक्ति पाई कर्ताको जीवनमा पनि सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ । यो विधि पूरा गरेमा दिवङ्गत पितृको दुर्गति नहुने र पुनर्जन्म सुखवती भुवनमा हुने भनी बौद्ध धर्म ग्रन्थमा व्याख्या गरिएको तेमाल जात्रा व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका लामाले राससलाई जानकारी दिनुभयो ।

जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने वेषभूषा एवं ¥यालीसमेत प्रदर्शन गरिएको थियो । शुक्रबारदेखि सुरु भएको बौद्धको तेमाल जात्रा आज बालाजु २२ धारा, जामाचो र स्वयम्भू पुगेर स्नान, पूजा आराधना एवं दर्शन गरेपछि सम्पन्न हुन्छ ।

रातभर मेलामा सहभागी हुने जात्रालुका लागि स्तूप परिसरमा पाल टाँगेर बस्ने व्यवस्था गरिएको थियो । जात्रामा विशेषगरी काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ र मकवानपुरलगायत जिल्लाका तामाङ समुदायको सहभागिता छ । जात्राका अवसरमा शुक्रबार बौद्ध घ्याङ गुठीले स्तूपा र अजिमाथानमा विशेष पूजा गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here