पार्थ मण्डल,
झापा।

भद्रपुरस्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि दलहरुबीच सहमति नजुटेपछि यही असार ४ गते निर्वाचन हुँदैछ ।
नेकपा (एमाले) र राप्रपा गठबन्धनको प्रगतिशील राष्ट्रवादी साझा समूह र नेपाली कांग्रेसको प्रजातान्त्रिक समूहले छुट्टाछुट्टै प्यानल बनाएर चन्द्रगढी खानेपानीको चुनावी मैदानमा उत्रिएका छन् ।
नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने चन्द्रगढीको खानेपानीमा आफ्नो उम्मेदवार खडा गरेका छैनन् । भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसले नेकपा (माओवादी) र नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरी अघि बढेको थियो । स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रै धोका भएको छ । त्यसैले चन्द्रगढी खानेपानीमा ती दलहरूबीच गठबन्धन भएन ।
स्थानीय तह निर्वाचनमा तीन दलको संयुक्त गठबन्धनले नगरमा सोचे जस्तो परिणाम ल्याउन सकेन । माओवादी र एकीकृत समाजवादीका अधिकांश उम्मेदवारले पराजय व्यहोर्नु प¥यो । त्यही कारणले खानेपानीको चुनावमा कांग्रेस एक्लै मैदानमा उत्रिएको जानकारहरू बताउँछन् ।
कांग्रेस र राप्रपासँग गठबन्धन गरी खानेपानीको चुनाव लड्ने एक प्रकारको लिखित सहमति नै भइसकेको कांग्रेसका नगर उपसभापति रमेशचन्द्र झाले जानकारी दिए । ‘अन्तिम समयमा आएर राप्रपाले लिखित सहमति तोडेर एमालेसँग गठबन्धन ग¥यो’– उनले भने– ‘राप्रपाले सहमति तोडेकोले अन्य दलसँग तालमेल नगरी कांग्रेस एक्लै चुनावी मैदानमा उत्रियो ।’
माओवादीका नगर सहइञ्चार्ज पुकारचन्द्र राजवंशीले खानेपानी चुनावको लागि कांग्रेससँग छलफल भएको बताए । ‘कांग्रेससँग छलफल मात्र भयो’– उनले भने– ‘त्यस्तो ठोस निर्णय केही पनि भएन, स्थानीय तह निर्वाचनमा जस्तै पार्टीका उम्मेदवारलाई उठाएर हराउनुभन्दा बाहिर बसेर नै सहयोग गर्ने निष्कर्ष पार्टीले निकाल्यो ।’ कांग्रेसले कार्यदल संयोजक तोकेका सोम ढुङ्गेलको प्रतिक्रिया पनि माओवादी जस्तै छ ।
‘स्थानीय तह निर्वाचनमा गठबन्धनले नगरमा राम्रो रिजल्ट निकाल्न नसकेको र त्यही भएर कांग्रेस नेता तथा कार्यकर्ताहरूले पनि त्यसैलाई आधार मानेर एक्लै चुनाव लड्ने निर्णय लिएको हो’– संयोजक ढुङ्गेलले भने । ‘खानेपानीको चुनाव सर्वसम्मत बनाएर अघि बढ्न कांग्रेसले नै शुरुमा पहल ग¥यो’– उनले भने– ‘त्यही पहलको क्रममा राप्रपा सहमतिमा आयो, तर पछि राप्रपा सहमतिबाट पछि हटेर एमालेसँग गएर मिल्यो ।’
स्थानीय तह निर्वाचनमा एमाले र राप्रपा एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए । त्यसको फाइदा गठबन्धनलाई भएकोले एमाले र राप्रपा चन्द्रगढी खानेपानी चुनावमा गठबन्धन गर्न पुगेको एमालेका एक नेताले बताए । एमाले र राप्रपाको गठबन्धन खानेपानीमा मात्र नभएर भद्रपुर नगरपालिकामा पनि सहकार्य र समन्वय गरी अघि बढ्ने बुझिएको छ ।
विशेषगरी चन्द्रगढी खानेपानीमा वडा नम्बर ७ र १०का सम्पूर्ण उपभोक्ता, ८ र ९का केही उपभोक्ता मतदाता रहेका छन् । स्थानीय निर्वाचनमा ती वडाहरू कांग्रेसभन्दा पनि एमाले र राप्रपाकै मतदाता बढी रहेको मतगणनाले देखाइसकेको छ । त्यही कारणले पनि एमाले र राप्रपा सहकार्य गरी अघि बढेको हुनुपर्छ ।
दुई वटा प्यानल चुनावी मैदानमा
नेकपा (एमाले) र राप्रपा गठबन्धनको प्रगतिशील राष्ट्रवादी साझा समूहबाट एमालेले अध्यक्ष, सचिव, चार सदस्य, लेखा समिति संयोजक र एक जना लेखा समिति सदस्य लिएको छ भने राप्रपाले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष, दुई सदस्य, एक जना लेखा समिति सदस्य लिएको छ ।
अध्यक्षमा पुरुषोत्तम अधिकारी, उपाध्यक्ष बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सहसचिवमा झुमा शिवाकोटी (दाहाल) र कोषाध्यक्षमा खेमराज भट्टराईले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरूमा कृष्णप्रसाद खतिवडा, मोहन श्रेष्ठ, रामकुमार गिरी, गंगा घिमिरे (नेपाल), सुजन विष्ट (दुलाल), सुमित्रा न्यौपाने (भट्टराई)ले उम्मेदवारी दिएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा माधवप्रसाद घिमिरे, सदस्यहरूमा कृष्णबहादुर कटुवाल र निर्मल चाम्लिङले उम्मेदवारी दिएका छन् । समूहबाट अध्यक्ष पदका उम्मेदवार अधिकारी तेस्रो कार्यकालका लागि अध्यक्षमा उठेका हुन् । उनी वर्तमान अध्यक्ष हुन् ।
त्यसैगरी कांग्रेसको प्रजातान्त्रिक समूहबाट अध्यक्षमा गोविन्द लम्साल, उपाध्यक्षमा उत्तम कोइराला, सचिवमा ऋषि चापागाँई, सहसचिवमा महेन्द्र कोइराला र कोषाध्यक्षमा लावण्यकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा राजेन्द्र तुलाधर, प्रेमप्रसाद गौतम, तारादेवी लुइँटेल (ओली), निर्मला प्रसाईँ (ओली), हरिमाया कार्की र मेनका शर्मा (दाहाल)ले उम्मेदवारी दिएका छन् । त्यस्तै लेखा समिति संयोजकमा रमेश पराजुली, सदस्यहरूमा पौरप्रसाद खतिवडा र सुशीला राजवंशीले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा स्वतन्त्रबाट यादव भट्टराईले उम्मेदवारी दिएका छन् । चन्द्रगढी खानेपानीमा बिहीबार उम्मेदवारी दर्तासँगै चुनावी चहलपहल पनि बढेको छ । भद्रपुरको ४ वटा वडामा गरी करिब ३ हजार ५१७ मतदाता रहेको खानेपानीका सह–लेखापाल उत्तम पोखरेलले जानकारी दिए ।






























