सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पठनपाठन सुरु

0
474

imagesgबिर्तामोड , कात्तिक २३ ।  विद्यार्थीलाई अंग्रेजी माध्यममा शिक्षा प्रदान गरिरहेका नेपालका निजी विद्यालयहरुबीच हरेक कुरामा कडा प्रतिष्पर्धा हुने गर्दछ । अझ अहिले त केही सरकारी तथा सामुदायिक विद्यालयले पनि विद्यार्थी संख्या घटेपछि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छन् । अंग्रजी माध्यममा छोराछोरी पढाउन पाउँदा अभिभावक पनि गौरव महसूस गर्छन । तर, झापामा एउटा यस्तो संस्कृत विद्यालय पनि छ, जुन विद्यालयले अन्ततः आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ ।
बिर्तामोडबाट १३ किलोमिटर उत्तर खुदुनाबारी १ स्थित साधुटारमा रहेको श्री वेद वेदाङ्ग संस्कृत पाठाशालाले विसं २०३३ सालबाट विद्यार्थीलाई संस्कृत शिक्षा दिन सुरु गरेको हो । सुरुमा ५०÷६० विद्यार्थीबाट पठनपाठन सुरु गरेको यस पाठशालामा अहिले १ सय ३५ जना विद्यार्थी छन् । ती विद्यार्थीलाई चार जना शिक्षकले संस्कृत भाषामा शिक्षा दिन्छन् । विद्यालयमा मेचीदेखि महाकालीसम्मका विद्यार्थीमात्र नभएर भारतको आसाम र मणिपुरबाट पनि विद्यार्थी आउने गरेको पाठशालाका प्राचार्य आचार्य छन्दुराम भण्डारी बताउँछन् ।
२०५५ सालबाट प्राचार्यको जिम्मेवारी सम्हालिरहेका आचार्य भण्डारीका अनुसार संस्कार, संस्कृति र सभ्यताको जगेर्ना गर्ने उद्देश्यले स्थानीयको सक्रियतामा ०३३ सालमा पाठशालाको स्थापना गरिएको हो । उनका अनुसार विसं २०५४ सालमा आयोजित विराट शन्त सम्मेलनमा जगतगुरु शंकराचार्य महाराजले यस पाठशालालाई नेपालकै पहिलो शंकराचार्यपीठ भएको घोषणा गरेका थिए । आचार्य भण्डारी भन्छन्, ‘त्यसैबेलादेखि पाठशालालाई शंकराचार्यपीठ भनेर नाम राख्ने मौका पायौं र आज यसलाई मुलुकले पनि राम्रोसँग चिनेको छ ।’
अत्यन्तै कठिन अवस्थाबाट सुरु भएको पाठशालाले यज्ञ, भागवतलगायत विशाल कार्यक्रमहरु गरेर आर्थिक स्रोत जुटाउँदै फड्को मारेको प्राचार्य भण्डारी बताउँछन् । भन्छन्, ‘धर्म, संस्कार, संस्कृति, परम्परा र वैदिक वाङमयको जगेर्ना गर्नु नै यस संस्थाको मुख्य लक्ष्य हो ।’ भौगोलिक हिसावले दुर्गम रहेता पनि आध्यात्मिक हिसावले यो स्थान असाध्यै सुन्दर रहेको उनी बताउँछन् ।
सुरुवाती दिनमा पाठशालाको भौतिक संरचना तयार गर्नका लागि कार्यसमिति नै बनाएर छात्राबास भवन निमार्ण गर्न, विद्यार्थी भोजन अक्षयकोष स्थापना गर्न र आजीवन सदस्यता बनाउनका लागि विभिन्न कार्यक्रम गर्दै अनुरोध गरेको भण्डारी सम्झिन्छन् । त्यसबेलाको संघर्षको फलस्वरुप हाल पाठशालाका लागि एक हजारजना भन्दा बढी आजीवन सदस्य, सयजना बढी अक्षयकोषदाता जसले पाँचहजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म सहयोग गरेका छन् ।
पाठशालामा हाल आठ वटा कोठा भएको दुई तले पक्की भवन र अरु कच्ची भवन छन् । संस्कृत मात्र पढाई हुने यस पाठशालामा ‘‘संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए हामी नै हराउँछौं’’ भन्ने कुरा बुझेकाहरु पढ्न आउने गरेको प्राचार्य भण्डारी बताउँछन् । अहिले युवाहरु बीए, एमए पास गरेर पनि वैदेशिक रोजगारीमा जान वाध्य भएको स्मरण गर्दै भण्डारी भन्छन्, तर यस गुरुकुलमा अध्ययन गरेका विद्यार्थी गुरुकुलबाट बाहिर गएर उच्च शिक्षामा शास्त्रीय आचार्य र नेपालीमा एमए, एमएड गर्दै भविष्य उज्वल बनाउन सक्ने उनी बताउँछन् । यहाँका अध्ययन गरेर एकातिर पौराणिक आख्यानबाट पनि जीवनलाई चरितार्थ गर्न सकिने र अर्कातिर शास्त्रीय आचार्यको डिग्रीबाट कलेजमा प्राध्यापन गराएर पनि भविष्य उज्वल बनाउन सकिने अनि विदेशको भर पर्नु नपर्ने प्राचार्य भण्डारीको अनुभव छ ।
पछिल्लो समय केही अभिभावक पनि संस्कृत शिक्षाप्रति आकर्षित बन्दै गएको प्राचार्य भण्डारीको बुझाई छ । भन्छन्, ‘अहिले त अभिभावक पनि सकारात्मक छन् । एसएलसी पास गरेका विद्यार्थी पनि समाज र राष्ट्रका लागि केही गर्ने उद्देश्य बोकेर १३ जना विद्यार्थी यस पाठशालामा आएका छन् ।’
फरक प्रकारको शिक्षा दिएर विद्यार्थीलाई उज्वल भविष्य बनाउन मद्दत गर्दै आएको साधुटारस्थित श्री वेद वेदांग संस्कृत पाठाशालामा हाल पनि भौतिक संरचना र विद्यार्थीलाई खानपिनमा समस्या हुने गरेको पाठशालाका प्राचार्य आचार्य भण्डारी बताउँछन् । खानपानको र भौतिक संरचनामा समस्या भएकै कारण पाठशालामा आएजति सबै विद्यार्थीलाई सेवा पुर्याउन नसकिएको उनी सुनाउँछन् । जिल्ला शिक्षा कार्यलयबाट वार्षीक दुई लाख रुपैयाँ प्राप्त हुने गरेको र त्यसले पाठशालालाई केही राहत पुगेको प्राचर्य भण्डारी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here