पेलोसीको ताइवान भ्रमणप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेको विरोध

0
310

काठमाण्डौं ।

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति नेपालका कम्युनिस्ट नेताहरुले विरोध गरेका छन्। नेपालका कम्युनिस्ट पार्टीका नेताहरुले पेलोसीको ताइवान भ्रमण ’एक चीनको सिद्धान्त’ विरुद्ध भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले बुधबार एक वक्तव्य जारी गर्दै पेलोसीको ताइवान भ्रमणको विरोध गरेका हुन्। उनले आफ्नो वक्तव्यमा भनेका छन्, ’जनवादी गणतन्त्र चीनको गम्भीर विरोधकाबीच अमेरिकी संसद्की सभामुखको मंगलबार ताइवान पुगिन्। ताइवान चीनको अभिन्न अंग हो। ताइवानका सम्पूर्ण मुद्दाहरु चीनका आन्तरिक मामिला हुन्। अमेरिकाले पनि एक चीन नीतिलाई स्वीकार गरेको छ। यस्तो अवस्थामा न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन सिद्धान्त विपरीत छ।’

पेलोसीको ताइवान भ्रमणले ताइवान स्ट्रेटमा तनाव सिर्जना गरेको पनि नेता खनालले बताएका छन्। उनले थप भनेका छन्, ’हाम्रो पार्टी सधैं ताइवान स्ट्रेट र एसियाको सम्पूर्ण क्षेत्रमा शान्तिलाई खलबल्याउने कुनै पनि गतिविधिको विरोध गर्दछ। हाम्रो पार्टीको तर्फबाट एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई दोहो¥याउँछु।’

उनले ताइवानको प्रश्नमा चीनले लिने कानुनी र शान्तिपूर्ण कदमको समर्थन गर्नेसमेत बताएका छन्। कुनै पनि मुलुकलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार नभएको पनि बताएका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको छ। बुधबार अध्यक्ष नारायणमान बिजुक्छेंले प्रेस विज्ञप्ति जारी गर्दै ताइवान चीनको अभिन्न अंग भएको र पेलोसीको भ्रमण चीनको सम्प्रभुता माथि ठाडो हस्तक्षेप भएको बताएका हुन्।

बिजुक्छेंले अमेरिका आफैले ’एक चीन नीति’ लाई स्वीकार गरे पनि ताइवानलाई चिनियाँ मुख्य भूमिबाट अलग गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको बताएका छन्। अमेरिकाको पछिल्लो कदम संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणाविपरीत भएको र विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरीत भएको उनको भनाइ छ।

अमेरिकाले पछिल्लो समय युद्ध उत्तेजनात्मक गतिविधि जारी राखेको उल्लेख गर्दै बिजुक्छें भन्छन्, ’अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको जगजाहेर छ। ’चीन घेर्ने नीति’ अन्तर्गत हिन्द – प्रशान्त रणनीति, एमसीसी, क्वाड, अउकस आदि नीति र सङ्गठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य हो चिनियाँ भूमिमा अस्थिरता फैलाउने, थाइवानमा क्रियाशील विखण्डनकारी सङ्गठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ’शीत युद्ध’ को अभ्यास गर्ने कार्य गर्दै आएको सर्वविदित छ त्यसैको सिलसिला अन्तर्गत पेलोसीको ताइवानं भ्रमण भएको प्रस्ट छ निश्चय पनि, यसको परिणाम बाइडेन प्रशासनले भोग्नुपर्ने छ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ।’

ताइवान चीनको अभिन्न अङ्ग हो भन्नेबारे नेपाली शान्तिप्रिय जनता तथा कामदार जनता दृढ भएको उल्लेख गर्दै बिजुक्छें भन्छन्,’एसियाली र संसारका अन्य मानिसहरू नेपाली जनता पनि युद्ध चाहँदैनन्, शीतयुद्ध अगाडि बढेको मन पराउँदैनन् तसर्थ, नेमकिपा र नेपाली कामदार तथा शान्तिकामी नेपाली जनता सांरा अमेरिकी सरकारको संसारका विभिन्न भाग र देशहरूमा झगडाको ’आगो झोस्दै’ हिँड्ने कार्यको विरोध एवम् निन्दा गर्दछ विश्वभरि शान्ति, विकास र मानव जातिको ’साझा भविष्य’ का निम्ति प्रयत्नरत चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तथा चिनियाँ जनताको उद्देश्यप्रति नेमकिपा ऐक्यबद्धता प्रकट गर्दछ, साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्दछ र अमेरिकालाई आफ्नो युद्धपिपासु नीति तुरून्त त्याग्नसमेत आग्रह गर्दछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here