बिर्तामोड,मंसीर ३ । तोकिएको समयमा संविधान निर्माण गरिनुपर्ने माग राख्तै आएका रमेश दुलालले आज झापाको बिर्तामोडमा काग सम्मेलन गरेका छन् ।
संविधान जारी गर्ने मिति नजिकिँदै जाँदासमेत संविधानको खाका नआएको जनाउँदै इलामको सुम्वेकका दुलालले संविधान निर्माणका लागि दवाव स्वरुप काग सम्मेलन गरेको बताएका हुन् ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड, फोकस नेपाल र कञ्चनह्युमेन रिसोर्स प्रालिको सहकार्यमा भएको कार्यक्रममा उनले बिर्तामोड आसपासका कागलाई भेला गराएका थिए । राजधानी लगायत देशका विभिन्न स्थानमा ११ औं काग सम्मेलन गरिसकेका उनले तोकिएको समयमा संविधान निर्माण नगरिए काठमाडौंमा रहेका सबै काग भेला गरी संसद भवन घेर्ने चेतावनी समेत दिएका छन् । कागको आवाज निकालेर काग भेला पारेका दुलालले शान्ति स्थापनार्थ यो अभियानले मद्दत पुग्ने हुनाले अभियान देशव्यापी रुपमा सञ्चालन गर्ने बताएका छन् ।
काग सम्मेलनमा स्थानीय भवानी ढुङ्गेल,जीवन दाहाल , राजु वस्नेत लगायतले पशु पंक्षीको भावना वुझेर उसको जस्तै आवाज निकालेर संविधान निर्माणको माग गर्दै हिड्ने दुलालको अभियानमा सबैले साथ दिनुपर्ने धारणा राखेका थिए ।