अर्जुनधारा ।

कोभिड–१९ का कारण विगत तीन वर्षदेखि स्थगित भएको ‘खुदुनाबारी गोल्डकप’ यस वर्ष हुने भएको छ ।
२०७४ सालबाट सुरु भएको उक्त गोल्डकपको तेस्रो संस्करण विजया दशमीको अवसरमा आगामी असोज ७ गतेदेखि तेस्रो खुदुनाबारी गोल्डकप महिला फुटबल प्रतियोगिता–२०७९ हुने शुक्रबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
अर्जुनधारा–३स्थित च्यारिटी युथ क्लबसँगै जुनतारा महिला फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त गोल्डकपमा पहिलोपटक महिला फुटबल खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुन लागेको प्रतियोगिता मूल आयोजक समारोह समितिकी अध्यक्ष हीमा मगरले जानकारी दिइन् ।
महिला फुटबल खेलाडीहरुको उत्पादन र उनीहरुको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन् । स्थानीय कैदले पर्यापर्यटन केन्द्रको प्राकृतिक खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसँगै इलाम, उदयपुर, ताप्लेजुङ, धनकुटा, पाँचथर, मोरङ र सुनसरी जिल्लाका महिला फुटबल क्लबको सहभागिता रहने च्यारिटी युथ क्लबका अध्यक्ष एवम् समितिका सचिव लीलाबल्लभ खतिवडाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश एक लाख एक हजार एक सय ११ रुपैयाँ र ५५ हजार पाँच सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न संयोजक मगरको अध्यक्षतामा एक सय एक सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ । त्यसैगरी आर्थिक संयोजकमा लीलाबल्लभ खतिवडा, प्रचारप्रसार एवम् सांस्कृतिक संयोजकमा साजन तामाङ, खेल संयोजकमा याम खवास, व्यवस्थापन संयोजकमा सूर्य इम्बुङ, अतिथि सत्कार संयोजकमा तेजमाया राई ‘पार्वता’, स्वयंसेवक परिचालन संयोजकमा सन्ध्या रिजाल, अनुगमन संयोजकमा शुक्रराज दुलाल ‘दीपक’, लेखा संयोजकमा कञ्चन काफ्ले र सल्लाहकार संयोजकमा ढुण्डीराज गौतम रहेका छन् ।
अनुमानित लागत १४ लाख ५६ हजार छ सय ६६ रुपैयाँ लाग्ने खर्चको स्रोत अर्जुनधारा नगरपालिका, अर्जुनधारा–३ वडा समितिको कार्यालय, प्रायोजक, सहप्रायोजक, विभिन्न संघसंस्था र सहयोगी दाताहरुबाट जुटाउने आयोजकको लक्ष्य रहेको छ ।
समितिकी अध्यक्ष मगरको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा–३ वडा समितिका वडाध्यक्ष सीताराम भट्टराई, नगर कार्यपालिका सदस्य चन्द्रमाया तामाङ, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दीपक दुलाल, खेल एवम् कार्यक्रम संयोजक याम खवासलगायतले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव खतिवडाले गरेका थिए ।


























