चुनावअघि लालपुर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन

३१ भाद्र २०७९, शुक्रबार मा प्रकाशित

काठमाडौं,

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न निर्देशन दिएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्य भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आगामी असोज २ र ३ गते उम्मेदवार मनोनयनको बन्दसूची पेश गर्ने कार्यक्रम रहेको भन्दै आयोगले यो निर्देशन दिएको हो।

निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायत कार्य तत्काल स्थगित गर्न आयोगले भनेको छ।

त्यसको यथार्थ जानकारी दुई दिनभित्र आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सात प्रदेश सरकार र ७५३ स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here