वर्षमा तीन लाख आँखा बिरामीको उपचार

0
409

चितवन,

नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म दुई लाख ८९ हजार तीन सय ९२ जनाको आँखा उपचार गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बहिरङगतर्फ भरतपुर आँखा अस्पतालमा एक लाख ३२ हजार पाँच सय २१, भरतपुर ओरालोमा रहेको चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग (सिटी क्लिनिक)मा १९ हजार एक सय आठ, ठोरी अस्पतालमा आठ हजार पाँच सय २३ जनाको उपचार गरिएको छ ।

यसैगरी कावासोती अस्पतालमा नौ हजार १४, सिम्रनगढ अस्पतालमा ६ हजार छ सय ९० र आँखा उपचार केन्द्रमा २६ हजार सात सय ९८ जनाको उपचार गरिएको छ । अस्पतालले ग्रामीण क्षेत्रमा पुगेर सञ्चालन गरेको आँखा शिविरमार्फत् ८६ हजार सात सय ३८ जनाको उपचार गरेको छ ।

अस्पतालले उक्त अवधिमा नौ हजार आठ सय ९६ वटा शल्यक्रिया गरेको छ । तीमध्ये हातले गर्ने शल्यक्रिया सात सय दुई, उपकरणको माध्यमबाट गरिने तीन हजार ३०, आँखाको नानी (कर्निया) को तीन सय ८१, जलविन्दुको ८४, आँखाको पर्दा (रेटिना) को एक सय ६१ शल्यक्रिया गरिएको हो ।

यस्तै आँखाको वरिपरिको भागको तीन सय ८७, बालबालिकाको आँखाको ९०, अन्य शल्यक्रिया दुई सय १२ र शिविरमार्फत् रिफर गरिएका चार हजार आठ सय ४९ को शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । बहिरङ्ग र शल्यक्रिया गरी लक्ष्यको एक सय २४ दशमलव ९७ प्रतिशत सफलता मिलेको जनाइएको छ ।

अस्पतालले सन् २०२० को जुलाई १ देखि सन् २०२१ को जुन ३० सम्म एक लाख १८ हजार नौ सय ४७ जनाको उपचार गरेको थियो । सोही अवधिमा पाँच हजार तीन सय ३५ जनाको विभिन्न शल्यक्रिया गरेको थियो । कोभिडका कारण उक्त अवधिमा बिरामीको सङ्ख्या कम भएको थियो ।

अस्पतालले २०२२ जुलाई १ देखि सन् २०२३ जुन ३० सम्म तीन लाख ४१ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलका अनुसार अस्पतालमा विशेषज्ञ प्राप्त गरेका दक्ष चिकित्सक रहेका छन् । हाल नौ विशेषज्ञ चिकित्सक कार्यरत छन् । नौ विशेषज्ञ अध्ययनरत रेसिडेन्टल चिकित्सक छन् । विशेषज्ञता हासिल गरेकामध्ये आँखाको पर्दा (रेटिना), आँखाको बाहिरी नानी(कर्निया), जलविन्दु, प्लास्टिक सर्जरी, बच्चाको आँखामा फेलोसिप गरेका चिकित्सक कार्यरत छन् ।

उहाँको भनाइमा एक सय १७ जनाको विशेषज्ञ चिकित्सकदेखि सहायकसम्मको कर्मचारीको समूह उपचारमा जुटेको छ । अस्पतालले एक सय ११ को नानीको प्रत्यारोपण गरिसकेको छ । यस अस्पतालमार्फत ३९ नानी सङ्कलन गरिएको छ । आठ सय ८६ जनाले आँखा दानका लागि इच्छा गरेका छन् ।

धरेलका अनुसार अस्पतालमा चितवन, मकवानपुर, नवलपरासी सुस्ता–बर्दघाट पूर्व, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, गोरखा, लमजुङ्, तनहुँ, धादिङ्लगायतका जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएका छन् । यसको अतिरिक्त नेपालका अन्य जिल्ला र छिमेकी देश भारतका सीमा क्षेत्रका बिरामीले यहाँ सेवा लिँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here