काठमाण्डौं ।
![]()
भारतका जम्मु–कश्मीरको प्राकृतिक सौन्दर्यबारे धेरैले बखान गर्छन् । त्यहाँ हुर्किएकी डा. ऋतु अहलको मन बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक विविधताले तानेको छ । ‘मलाई यहाँको दृश्य मनमोहक लाग्यो ।
जंगलको मार्ग, पाइलैपिच्छे फरक प्राकृतिक सम्पदा, चराको चिरबिर, कतै मृगको दौड,’ उनले भनिन्, ‘त्यसमाथि मयूरको नाच ज्यादै आकर्षक लाग्यो । म त यहाँको प्रकृतिमा डुबें र असाध्यै रमाएँ ।’
नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा यहाँ शुक्रबारदेखि आइतबारसम्म ‘टुर दी ठाकुरद्वारा’ यात्रा सम्पन्न भएको छ । यात्रामा सहभागी हुन दन्त चिकित्सक अहल कश्मीरबाट यहाँ आएकी हुन् । उक्त साइकल यात्रामा भारतीयसहित झन्डै ५ सय सहभागी थिए । नेपाल पर्यटन बोर्डसँगै यहाँका स्थानीय तहले साइकल यात्रा सफल बनाउन सहयोग गरेका थिए ।
यहाँबाट १ हजार १ सय ५४ किमि टाढा कश्मीरबाट डा. अहल साइकल यात्रामा सहभागी हुन यहाँ आएकी हुन् । एक ठाउँबाट अर्को गन्तव्यसम्म आउजाउको साधन उनले साइकललाई बनाएकी छन् । ‘धेरैले सहरी जीवनलाई राम्रो ठान्छन् । हामी नै सबैभन्दा ठूला र सक्षम हौं भन्ने सोच धेरैजसो सहरियामा छ,’ उनले कान्तिपुरसित भनिन्, ‘यो धारणा गलत हो ।
मलाई ग्रामीण र जंगली क्षेत्र मन पर्छ ।’ यहाँको जैविक विविधताले आफूलाई थप आकर्षित गरेको उनले बताइन् । ‘त्यसैले साइकल यात्रालाई माध्यम बनाएर यहाँ आइपुगें,’ उनले भनिन्, ‘ठूला अस्तव्यस्त सहरभन्दा स–साना गाउँ हेर्दै शान्तिपूर्ण वातावरणमा मस्त निदाउँदा अलौकिक आनन्द प्राप्त हुने ठानेरै नेपाली भूमिको साइकल यात्रा रोजेकी हुँ ।’
प्रकृति, संस्कृति, स्वास्थ्य, खेलकुद र वातावरणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जबाट बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारासम्म एक सय किमि साइकल यात्रा आयोजना गरिएको हो । प्रसिद्ध धार्मिक पीठ बागीश्वरी मन्दिरबाट सुरु भएको यात्रा बर्दिया निकुञ्जको ठाकुरद्वारासम्म पुगेर समापन भएको थियो । राजमार्ग र बस्तीको बाटो, बाघ लाग्ने डर भएको जंगल छिचोल्दै साइकल यात्री दुर्लभ पाटेबाघको बासस्थान बर्दियाको ठाकुरद्वारा गन्तव्य राखेर गुडेका हुन् ।
जसमा पहिलो पटक ४२ जना महिला साइकल यात्री पनि सहभागी भए ।भारतीय सीमा क्षेत्रबाट नजिकको बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिमको मुख्य पर्यटकीय केन्द्र हो । विदेशी आगन्तुकलाई सस्तो र सहज यात्रा गराउँदै नेपालका पर्यटकीय स्थलको अवलोकन गराउनु यात्राको अर्को उद्देश्य हो, जसमा धेरै जना चिकित्सक सहभागी भए । युवाहरूको दौडमा उमेरले ६० कटेका नेपालगन्ज मेडिकल कलेजका डा. सुरेश कनोडियाले कुनै बेला पनि पछि नपरेको बताए । ‘अचम्मै भयो । मभित्र इस्टेमिना धेरै रहेछ,’ उनले भने, ‘थकाइ नै लागेन । सायद समूहमा दौडँदा ऊर्जा थपिएको हुन सक्छ ।’
जोखिमयुक्त मार्ग हुँदै अघि बढेको साइकल दौडमा भेरी अस्पतालका डा. प्रकाश थापा पनि सहभागी थिए । ‘चिकित्सक हुँदैमा स्वास्थ्य राम्रो हुन्छ भन्ने छैन,’ उनले भने, ‘पहिले मानिसलाई सर्ने रोग मात्र लाग्थ्यो । अहिले त नसर्ने रोग उच्च रक्तचाप, क्यान्सर, मधुमेहको संक्रमण बढेको छ । साइकल चलाउने बानीले हामीलाई शारीरिकसँगै मानसिक रूपमा स्वस्थ बनाउँछ ।’
यात्रामा कीर्तिमानी विश्व साइकलयात्री पुस्कर शाहसमेत सहभागी थिए । उनले यात्राका क्रममा वातावरण, प्रकृति र वन्यजन्तु संरक्षणसम्बन्धी छलफल पनि गरे । साइकल यात्राको यो आयोजनाले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतीश निरौलाले बताए । ईकान्तिपुर






























