झस्काइरहने घाऊ

0
393

[रेजिना रोदन]

‘नबोली आउँछ भूकम्प’ हो त्यही नबोली आउने भूकम्पको धक्काका कारण गत बैशाख १२ गते शनिवार पुगेको मानवीय तथा भौतिक क्षति अपुरणीय छ । त्यही भूकम्पका कारण निम्तिएको महामारीका चपेटामा छौं हामी । भूकम्पले नेपाल र नेपालीमा महाविपत्ती निम्त्याइदियो । शनिवार मध्यान्ह ११ः५६ बजे आएको ७.९ रेक्टर स्केलको भूकम्प तथा त्यसलगत्तैदेखि निरन्तर चार÷पाँच दिनसम्म आएका ससाना झड्काले झन त्रास मच्चाइदियो । जसका कारण अझसम्म पनि कतिपयको मानसिक सन्तुलनमा विश्रृङ्खल छ। हुन त यो अत्यास लाग्दो महाविपदले खल्बल्याएको शारीरिक तथा मानसिक असन्तुलन तत्काल फर्किन सक्ने अवस्थाको पनि छैन । यो विपदको घाउ बर्षौसम्म आलो रहने देखिन्छ ।
नौ वर्षअघि १० वर्षसम्म चर्किएको जनयुद्धको घाउले अझैं झस्काईरहेको छ। वेपत्ता बनाइएको परिवार ‘सास वा लास’ माग्दै अझै रोइरहेका छन् कराइरहेका छन्, खबरदारी गरिरहेका छन् । सन्तान गुमाएका अभिभावक दिनदिनै बृद्धावस्थामा पुग्दा सहाराको खोजीमा भौतारिएका छन् । अभिभावक गुमाएका सन्तानहरु क्रमशः युवा हुँदै जाँदा आफ्ना बाबा–आमा, र अभिभावकलाई बेपत्ता पार्ने र अनाहकमा ज्यान लिनेहरुलाई कारवाहीको माग गरिरहेका छन् । यस पृष्ठभूमिले जनयुद्धको घाउ तत्काल नमेटिने स्पष्ट छ । तिनै मर्ने, मारिने, वेपत्ताहरुको लाश र जीउज्यानमाथि उभिएर राजनीति गर्ने नेताहरु व्यक्तिगत तथा दलगत स्वार्थका लागि घृणित खेल खेल्दैछन् । विस्तृत शान्ति सम्झौता भएको नौ वर्ष संविधान निर्माणका नाममा गुजारिंहदा दलहरुबीच देखिएको विवादले संविधान कहिले बन्छ ? भन्ने अन्योल यथावत छ। यसै समय भू(कम्पिय प्राकृतिक विपत्तिले मुलुकलाई छोपिदिएको छ । जनयुद्ध र वर्तमानको विपत्तिसंग कुनै सम्बन्ध छैन, तर द्वन्द्वमा परेर होस् वा विपत्तिमा परेर होस् सन्तान गुमाएका बाबु(आमा र अभिभावक गुमाएका सन्तानको पीडा दर्दनाक छ। यो दैवी विपत्तिमा परेका कतिको सास भेटिन्छ, वा कतिको लास पनि नभेटिने हो भन्ने अन्योल जारी छ। विपत्तिमा पुरिएकाहरुको उद्दारका लागि यथेष्ट उपकरण नेपालमा उपलब्ध नहुँदा नेपालले विदेशीको सहयोग लिनुको विकल्प छैन । उपकरण अभावका बीच उद्दारमा खटिएकाहरुले भनेजस्तो काम गर्न नसकिरहेको अवस्था छ। यस समय आफन्त गुमाएकाहरु आक्रोशित बनेका छन् भने राहत नपाएको भन्दै सरकारको चर्को आलोचना पनि गर्न थालेका छन्। यस समय सञ्चारमाध्यमले प्रकोप प्रभावितलाई उत्तेजित बनाएर सरकारको विरुद्धमा जनमत तयार पार्नु हुँदैहुँदैन । प्रभावितहर्रु संयमित हुने समाचार सम्प्रेषण गरेर सरकारले सञ्चालन गरेको उद्दार, राहत वितरण र सत्य तथ्य सूचना संकलनमा सक्रिय तथा सचेत बनाउन प्रभावकारी भूमिका खेल्नु नै सञ्चारमाध्यम र सञ्चारकर्मी प्रमुख भूमिका हो ।
नेपालको राजधानी काठमाडौं शहर भू(कम्पीय जोखिमको ११ औं स्थानमा रहेको कुरा आजभन्दा केही वर्ष अघि नै सार्वजनिक भइसकेको थियो । साथै प्रत्येक ८० देखि १०० वर्षको अन्तरालमा ८ रेक्टर स्केल भन्दा माथिको महाभूकम्प जाने कुरा पनि विभिन्न अध्ययन अनुसन्धानले देखाइसकेको थियो । यस अवस्थामा विपदबाट बच्नका लागि आवश्यक पूर्व तयारी अनिवार्य थियो । हुन त अहिलेको विपत्ती नेपालमा गरिएको पूर्वतयारीले मात्रै धान्न सक्ने थियो भन्न सकिंदैन । यो अर्कै बहसको विषय हो । अहिलेको आवश्यकता विपत्तीमा परेकाहरुको उद्धार पहिलो प्राथमिकता हो । तर, महाविपत्तीमा परेर ज्यान गुमाएका मृतकहरुको शव निकाल्ने, पहिचान गर्ने, आफन्तलाई जिम्मा लगाउने र मृतकहरुको अन्त्येष्टि अत्यन्त जटिल देखिएको छ । अझ राजधानी काठमाडौंमा आफ्नो घरको आसपासमा अलिकति पनि खाली भू–भाग नछोडि बनाइएका भौतिक संरचनाका कारण उद्धार अत्यन्तै जटिल बनिरहेको छ । भत्किएका भौतिक संरचनाका अवशेषहरुको व्यवस्थापनमा देखिएको कठिनाईले उद्दार र तथ्याङ्क संकलन झन् जटिल बनेको छ । यसोे भनिरहँदा राहत वितरण, घर विहिन भएर टेन्टमा बस्नेहरुको सुरक्षा र स्वास्थ्यको सवाल पनि त्यत्तिकै महत्वपूर्ण छ । तर, ती मध्येपनि पहिलो प्राथमिकता चेपिएकाहरुको जीवित उद्धार नै हो ।
१९९० सालको भूकम्प भन्दा यो पटकको भूकम्प रेक्टरस्केल र समयका आधारले कम रहेपनि क्षतिको विवरण बढ्ने क्रम तीब्र छ। हुन त १९९० सालमा २ मिनेट भन्दा बढी समय गएको भूकम्प ८.४ रेक्टर स्केलको थियो । उक्त भूकम्पबाट ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो भने १,२६,३५५ घरहरुमा क्षति पुगेको थियो । ८०,८९३ घरहरु पूर्णरुपमा नष्ट भएका थिए भने सोही भूकम्पबाट ऐतिहासिक धरहरा पनि २ टुक्रा भएको तथ्याङ्क पाइन्छ ।
महामारी पूर्व सूचना दिएर आउँदैन । अकस्मात आउने महामारीले पु¥याउने मानवीय तथा भौतिक क्षति आफैंमा दुःखद र मर्माहत हुन्छ । यस्ता महामारीबाट निम्तिएको विपदका समयमा एकापसमा दोषारोपण गर्नुभन्दा प्रत्येक व्यक्ति वा संस्थाले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु मानवीय कर्तव्य र जिम्मेवारी हो । यो बेला हामीले सरकार, राजनीतिक दल, संघ–संस्थाहरुले यो वा त्यो गरेनन् भन्नुभन्दा हामीले के गर्न सक्छौं भन्ने सोच्नु जरुरी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here