भनिन्छ– विपत्तीको बेला कसैले कुनै जात, धर्म, वर्ण, लिङ्ग र सम्प्रदाय छुट्याउँदैन । त्यसबेला मात्र, मानवीय सम्वेदना हुन्छ । एकले अर्कालाई सदासयतापूर्वक सहयोग गर्नु नै आपद् विपदका समयमा मानवको मूल धर्म हो । एकले अर्काको पीडामा मल्हमपट्टी गर्नु मुख्य कर्तव्य हो । यस्तो बेलामा कुनै पनि सचेत र जिवन्त व्यक्तिले छर छिमेक वा आफ्ना वरपरकाहरुको चित्कार, गुहार सुनेर हात बाँधेर बस्दैन । तुरुन्तै सहयोगका हात बढाई हाल्छ ।
नेपालमा वैशाख १२ गते आइ लागेको महाविपत्तीको एक घण्टा भित्रै छिमेकी भारतबाट नेपालको निम्ति सहायताको घोषणा गरियो । लगत्तै हवाईमार्ग र स्थलमार्ग दुवैतिरबाट भौतिक सामग्रीका साथै विशेषज्ञ जनशक्तिसहितको टोली नेपाल भित्रियो । संसदीय दलको बैठक बस्यो । विपक्षी दलहरुले तँछाड कि मछाड गर्दै पीडित छिमेकीका लागि सहयोग गर्न एक महिनाको आफ्नो भत्ता वापतको रकम सहयोग गर्ने घोषणा गरे अनि मात्रै नेपाली संसद र सरकार चट्पटाए झैं ग¥यो । लाग्थ्यो–भारत र चीन नतात्तिएको भए हाम्रो सरकार र संसद लाटिएकै अवस्थामा रहने थियो, सम्वेदना नै हराए झैं ।
अहिलेको महाविपत्तीमा पीडितहरुलाई सहयोग गर्न छिमेकी लगायत अन्य विदेशी मित्रराष्ट्रहरुबाट पनि एक पछि अर्को गर्दै आर्थिक सहयोग उपलब्ध गराउने काम भइरहेको छ । सरकारमा दुई ठूला भनिएका दल नेपाली कांग्रेस र नेकपा एमालेको हालीमुहाली छ । सहयोगीमा साना अन्य केही दलहरुको पनि साझेदारी त छ तर उनीहरको उपस्थिति लड्न लागेको थांग्रोलाई टेवा दिए जत्तिको मात्र छ । महाविनाशपछि पनि राहत नपाइरहेका जनता तिर्खा मेट्ने पानी पिउन नपाएर काकाकूलको नियति भोग्दै गरेको सुनिन थालेको छ । खाद्यान्नको अभावमा आवाल, बृद्ध, बनीता भोक भोकै छट्पटाउन थालेका छन् ।
तर, दुःख लाग्दो कुरो यस्तो संकटग्रस्त अवस्थामा रहेको देशका राजनीतिक दलहरुबीच दलीय समन्वयको अभाव देखिएको छ । सरकारमा बसेका दलका कुनै पनि ठूला भनिएका नेताहरुले सम्पूर्ण राजनीतिक दलहरुलाई एकीकृत गरेर एक्यवद्धताको साङ्लो बनाउन अग्रसर भएको सुनिएको–देखिएको छैन । प्रधानमन्त्री सुशील कोइराला स्वयम् भावशून्य मुद्रामा टेलिभिजनमा भूकम्पको दुःखद कथा फलाक्दै देखिन्छन्– आहतहरुमाथि राहतको कुनै सन्देश छर्न सकेनन् । आशलाग्दा भनिएका नेता अर्थात पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक्लै आफ्ना केही समर्थक लिएर गोर्खा पुगेका छन् तर दुर दराजका भग्न गाउँ र रुग्णमनहरुमा सान्तवनाको चिसो पानी पनि छ्याप्न सकेका छैनन् ।
केही ठूला भनिएका दलहरुबाट आ–आफ्ना कार्यकर्ताहरुलाई पीडितलाई सहयोग गर्न उर्दी दिएका छन् तर तिनका कार्यकर्ता नामे तावेदारहरुले राहतका सामग्रीलाई पनि दलीय तथा आफन्तजन मै सीमित राखेको जन गुनासो आउन थालेको छ । अरु देशमा आइपर्ने आपद–विपदको बेला सम्पूर्ण दलहरु दलीय भावना विर्सिएर एकजुट भई राहतकार्यमा जुट्छन्–जुटेको देखिन्छ । तर हाम्रो सानो र सुन्दर देशका अनगिन्ती दलहरु आ–आफ्नै ताल र सुरमा निमग्न छन् । बढो अचम्मलाग्दो अवस्था देखिन्छ अहिले हाम्रो देशको राजनीतिक दलका नेतााहरुमा । सम्वेदना शून्य झैं देखिएका नेता र तिनका कार्यकर्ता कस्तो अनुहार लिएर फेरि जनताका घर दैलामा जालान? सर्वत्र प्रश्न उब्जन थालेको छ ।
मुलुकमा व्याप्त प्राकृतिक विपदाको समयमा पनि दलीय भावनाबाट प्रेरित भई एक हुन नसक्ने कस्ता नेता जन्मिए छन् ? नेपाल र नेपालीको पीडामा विश्वको जनमत उद्वेलित छ तर नेपाली राजनीतिक दल भने झैं कुम्भकर्ण निद्रामा मस्त छ । जनता भने यी सबै राजनीतिक दलहरुको आफू प्रतिको बेखबरबाट अपरिचित भने छैनन् – चुपचाप सहेर यिनको चर्तिकला मात्रै हेरिरहेका छन् । जनतालाई सकसका बेला दह्रो र पूर्वाग्रहविहीन शक्तिशाली नेतृत्वको खाँचो महशुस भइरहेको भने निश्चय छ । एउटा कुशल राजनेताको । सबैलाई समन्वय र समायोजना गर्न सक्ने व्यक्तित्वको अभाव खट्किरहेको छ ।