बिर्तामोड नगरपालिका : नीति तथा कार्यक्रम : नगरक्षेभित्र सूर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाइने

0
135

बिर्तामोड , बिर्तामोड नगरपालिकाले सूर्तिजन्य पदार्थ चुरोट,खैनी, गुट्का आदिको बिक्री वितरण गर्न नपाउने नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड नगर क्षेत्रभित्र सूर्तिन्य पदार्थ विक्री वितरणमा पूर्णरुपमा रोक लगाईने नीति लिएको बताउनु भयो ।
नीति तथा कार्यक्रममा नगर अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा संचालन गरिनुका साथै डायलाइसिस सेवा सुचारु गरिने, नगर भित्रका अति बिपन्न परिवारलाई छनौट गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिईने, सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना गराउने नीति लिइएको उल्लेख गरिएको छ ।
कार्यक्रममा कन्काई विर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनीलाई ३ वटा नगरपालिकाको स्वामित्वमा लिई नगरपालिकाहरुको आपसी सहमतीबाट फोहोरमैलाकोे व्यवस्थापन गरिने, श्रोतमा नै फोहोरको वर्गिकरण गर्ने कार्यलाई अभियानको रुपमा लैजाने र कुहिने फोहोरबाट पुर्णरुपमा बायोग्याँस, जैविक मल तथा नकुहिने फोहोरबाट पेर्वस उत्पादन कार्य गरिने उल्लेख गरिएको छ ।
यस्तै अस्पताल, कारखाना र औद्योगिक फोहोर सम्बन्धीत उद्योगहरुले नै व्यवस्थापन गर्ने, नगर क्षेत्र भित्रका खोला र पैनीको जमिनको साँध सिमाना नक्सांकन गर्ने र नगर क्षेत्रको ऐलानी जमिनको नापजाँच गरी क्षेत्रफल एकिन गरिने उल्लेख गरिएको छ ।
नगरपालिकालाई प्रदुषणमुक्त पूर्ण सरसफाइयुक्त हरित नगर निर्माण गर्नका लागि सार्वजनिक खाली ठाउँमा वृक्षारोपण गरिने र हरेक घरधनीले आफ्नो घर अगाडि २ वटा बिरुवाहरु रोप्न प्रोत्साहित गरिने नीति अवलम्वन गरिने पनि नगर प्रमुख प्रसाईले प्रस्तुत गर्नु भयो ।
वहाल करको दायरा फराकिलो पार्दै आवासिय प्रयोजनको लागि लागेका घर कोठाहरुको वहाल कर संकलन गर्न सम्बन्धित टोल विकास संस्था परिचालनको नीति अवलम्वन गरिने, नक्सापासको दायरामा नआएका घरलाई टोल बिकास समिति मार्फत दर्तामा ल्याउन अभियान संचालन गरिने, धेरै कर तिर्ने र नियमित कर तिर्ने करदाताहरुलाई पुरस्कृत गरिन,े उज्यालो नगरको अवधारणालाई पूर्णतया कार्यान्वय गरिन,े विद्युत जडान गर्न बाँकी रहेका घर परिवारमा विद्युत जडान गरिने, एक घर, एक धारा अभियानलाई विस्तार गरी नगरवासीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराइने, मापदण्ड विपरित र नक्सा पास नगराई बनाइएका संरचनाहरु नगरको सडक तथा ढल बनाउँदा क्षति हुन गएमा घरधनीले नै व्यहोर्नु पर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।यस्तै डोमालाल राजवंशी स्मृति रंगशालाको स्तरोउन्नतिका लागि डिपिआर तयार गरी संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरी निर्माण कार्य प्रारम्भ गरिने, बिर्तामोड ८ मा रहेको दुर्गा देवी गुठीको जग्गामा क्रिकेट खेल मैदान निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने, राष्ट्रियस्तरको डिभिजन टिममा छनौट भई खेल्ने अवसर प्राप्त फुटबल, क्रिकेट, भलिबल तथा अन्य खेलका टिमलाई अनुदान दिइने लगायतका महत्वपुर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
आजको सभामा लिखत प्रमाणीकरण सम्बन्धी विद्ययेक २०८०, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७८लाई संसोधन गर्न बनेको विद्येयक २०८०, न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन २०७४ लाईसंसोधन गर्न बनेको विद्येयक २० र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८० पेश गरीएको छ । विद्ययेक समिति संयोजक शर्मिला राजवंशीले उक्त विद्ययेक पेश गर्नु भएको हो ।
दोश्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको दोश्रो बैठक असार १३ गते दिउँसो २ बजे बस्ने नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो ।

बिर्तामोडको बजेट १ अर्ब ४० करोड

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको ल्याएको छ ।
नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गर्नु भयो । उक्त बजेट मध्ये आय तर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
यसै गरि नगरपालिकाको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट गरी जम्मा ३२ करोड, संघीय शसर्त अनुदान चालु तर्फ २९ करोड ६ लाख तथा पुजीगत तर्फ ३६ करोड ७६ लाख, संघीय बिशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रुपैयाँ बजेट प्राप्त हुने नगर उपप्रमुख संग्रौलाले प्रस्तुत गर्नु भएको बजेटमा उल्लेख छ ।
नगरपालिकाले चालु आर्थीक वर्ष ०७९÷०८० को लागि कुल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९०रुपैयाँ (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट ल्याएको थियो । बजेट संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त बजेट, समपूरक अनुदान र विशेष अनुदानका योजना तथा कार्यक्रमहरु र सशर्तमा तोकिएका योजना तथा कार्यक्रममा खर्च हुने जनाइएको छ।

नगरपालिकाले कृषि क्षेत्रमा १ करोड, पशुपन्क्षी तथा मत्स्यविकासमा ७५ लाख , शिक्षा क्षेत्रमा २ करोड ५० लाख, स्वास्थ्य क्षेत्र नगर अस्पताल तथा विपन्न नागरिकहरुको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन समेतमा ३ करोड २० लाख, मर्मत संभार कोष र सडक सुधारमा २ करोड, महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक, दलित, मधेशी, जनजाति, अदिवासी समेतलाई लक्षित कार्यक्रममा १ करोड, लघुउद्यम विकास, सहकारी युवा तथा खेलकुद कार्यक्रममा ७० लाख, फोहोरमैला व्यवस्थापन तथा विपद् व्यवस्थापनमा २ करोड ५० लाख, देबीहाट बुधाबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण, नगरको प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा साझेदारी गर्न समपूरक कोषमा ५ करोड ५० लाख, लोक कल्याणकारी सूचना सन्देश विज्ञापन र सचेतनामुलक कार्यक्रमहरुमा ५० लाख, नगरस्तरीय नगरगौरव योजना, वडास्तरीय योजना तथा बहुवर्षे क्रमागत योजना समेतमा २२ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

नगरपालिकाले व्यवसायीहरुलाई व्यवसाय करको दायरा भित्र ल्याउन एकपटकको लागि आन्तरिक राजश्व कार्यालयमा दर्ता भई बिर्तामोड नगरपालिकामा व्यवसाय दर्ता नभएका र दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग÷फर्म÷कम्पनीलाई ३ वर्ष वा सो भन्दा माथिको वक्यौता कर तिर्नुपर्ने रहेछ भने ३ वर्ष सम्मको हकमा १ वर्षको कर र ३ वर्ष माथिको बक्यौता हुनेको हकमा २ वर्षको कर लिई आ.ब. २०८०÷८१ को श्रावण देखि कार्तिक महिना सम्मका लागि एकपटक दर्ताका लागि समय उपलब्ध गराउने जनाएको छ । उक्त अवधिमा समेत दर्तामा नआउने फर्म÷कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण करको अतिरिक्त शतप्रतिशत जरिवाना गरी असुलउपर गरिने नगरपालिकाले बजेटमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here