काठमाण्डौं ।

दक्षिण चीन सागर ३५ लाख वर्गकिलोमिटरमा फैलिएको जलक्षेत्र हो । यो सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गको रूपमा परिचित छ । बर्सेनि खर्बौं डलरको कारोबार हुने यस जलक्षेत्र सबैको रणनीतिक चासोको रूपमा रहँदै आएको छ ।
चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्छ । त्यस कारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको छ ।
तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरूले चीनको यस कार्यको विरोध गर्ने गरेका छन् । ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, इन्डोनेसिया र भियतनामले पनि यो सागर आफ्नो भएको दाबी गर्छन् ।
अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाका लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ । चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँछ ।
तर, दाबीकर्ता राष्ट्रहरूले अमेरिकाको उपस्थितिलाई स्वागत गरेको अवस्था छ । अन्तर्राष्ट्रिय अदालतले पनि सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो । दक्षिण चीन सागरलाई दाबी गर्ने चीनबाहेकका राष्ट्रहरू साथै अमेरिका, जापान, अस्ट्रेलियाले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन् ।
चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ । यसबीचमा गत हप्ताको शनिबार दक्षिण चीन सागरमा चिनियाँ तटरक्षकको जहाजले दक्षिण चीन सागरमा चीनको मात्र नभएर आफ्नो पनि अधिकार भएको बताउने राष्ट्र फिलिपिन्सको जहाजलाई आक्रमण गरेको छ ।
शनिबार चिनियाँ जहाजले फिलिपिन्सको जहाजलाई पानीको फोहराले आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ । फिलिपिन्सको सानो जहाजले फिलिपिन्सका नौसेनाका लागि खाना बोकेको बताइएको छ । यो घटनापछि चीनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा दादागिरी देखाएको फिलिपिन्सको आरोप छ ।
यतिबेला अमेरिका र अमेरिकाका सहयोगी राष्ट्रले यस जलक्षेत्रमा चिनियाँ आक्रामकताविरुद्ध एक भएर गस्ती गर्ने योजना बनाइरहेको सीएनएनले जनाएको छ । अस्ट्रेलिया, जापान र जर्मनीले चिनियाँ जहाजले फिलिपिन्सको जहाजलाई आक्रमण गरेपछि चिनियाँ कार्य खतरनाक र अस्थिरता निम्त्याउने खालको भएको बताएको छ ।






























