सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

0
112

धुलिखेल (काभ्रेपलाञ्चोक),

जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरुले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरुका लागि पहिलो प्राथमिकता सडकको ट्र्याक खनेसँगै अब त्यसको स्तरोन्नति र कालोपत्र गर्नेमा जोड दिइएको हो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । जिल्ला सदरमुकामदेखि पालिका केन्द्र जोड्ने गाउँपालिकाको सिमानामा वडा नं ४ पाटिखर्कदेखि आलुवारीपाटी–मुसिखोला सडक कालोपत्र सुरु गरिएको हो । त्यसमा दुई किलोमिटर पाँचसय मिटर कालोपत्र, एक किलोमिटर पाँचसय मिटर ढलान गर्नाका साथै पालिकाको वडा नं १, २, ३ र ४ मा सडक ढलान कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका इञ्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले हरेक वर्ष पालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटर सडक पक्की बनाउने घोषणाअनुरुप यस वर्षबाट कार्य थालनी भएको बताउनुभयो । गाउँपालिकाको गत आर्थिक वर्षमा विनियोजन भएको रु नौ करोड बजेटमा घिसिङ÷जोशी जी जेभीले रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता गरी अहिले काम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

सो कार्यलाई निरन्तरता दिनका लागि चालु आवमा रु छ करोड विनियोजन गरिएको छ । अहिलेसम्ममा बेथानचोकको आफ्नै स्रोत केही सङ्घ र प्रदेशको बजेटमा गरी वडा नं ३ मा सात सय मिटर ढलान, वडा नं २ मा तीन सय मिटर, वडा नं ४ मा तीन सय मिटर र वडा नंं १ मा दुई सय मिटर पक्की सडक निर्माणको काम थालनी भएर ढलान गर्ने काम सकिएको वडा नंं १ का वडाध्यक्ष मधुसूदन तिमल्सिनाले बताउनुभयो ।

अन्य वडाहरुमा भएको कामसहित गरेर पालिकाभित्र यो आर्थिक वर्षमा करिब सात किलोमिटर सडक पक्की बनाउन सफल भएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाका नागरिकलाई सडक पहुँचको सहज सेवा पु¥याउनका लागि हरेक वर्ष पाँच किलोमिटर सडक पक्की बनाउने अभियानअनुसार गत वर्षको बजेटबाट अहिलेसम्ममा करिब सात किलोमिटर सडक पक्की निर्माण गरिएको बताउनुभयो ।

यस्तै रोशी गाउँपालिकाले पनि आफ्नै स्रोतबाट दुई किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा बिपी राजमार्गको ल्हासकोट पुलदेखि गाउँपालिकाको प्रशासनिक भवन अमलटारसम्म करिब पाँच सय ५८ मिटर र चौकीडाँडा–खहरेपाँगु सडकअन्तर्गत रोशी पुलदेखि पोटाखोलासम्म पाँच सय मिटर सडक गाउँपालिकाकै स्रोतबाट कालोपत्र गरिएको हो ।

पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरेको भए पनि भौतिक पूर्वाधारलाई समेत प्राथमिकता दिनुपर्ने भएकाले सबै कार्यलाई सँगसँगै लैजाने गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । डाँडापारिको महाभारत गाउँपालिकामा पालिका केन्द्रदेखि जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्डअन्तर्गत कापोपत्र गर्ने काम सुरु भएको र उक्त कामलाई निरन्तरता दिनका लागि अहोरात्र खटिरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

बिपी राजमार्गदेखि मदनभण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग)को निर्माण कार्यका लागि अहिले प्रक्रिया अगाडि बढिसकेको छ । त्यसअन्तर्गत सो गाउँपालिकाको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमी सडकको स्वीकृत रकम करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ साल कात्तिकसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएर ढलान तथा कालोपत्र समेतको कार्यलाई अगाडि बढाइसकेको उहाँले बताउनुभयो । जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये अझै पनि तेमाल गाउँपालिका र खानीखोला गाउँपालिकामा कच्ची सडक सञ्जालले जोडिए पनि पक्की सडकले भने छुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here