बिर्तामोड–भद्रपुर सडक अवरुद्ध पार्दै विरोध

0
7

भद्रपुर।

कालोपत्रे सडक निर्माणको कार्य तत्काल सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा सडक अवरुद्ध पारेका हुन् ।

स्थानीयले आइतबार बिहान लेखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री सडकमा राखेर अवरुद्ध पारेका थिए । सडक अवरुद्ध गरेका कारण सवारी साधनहरू वैकल्पिक सडकबाट सञ्चालन गरिएको थियो ।

धुलोका कारण सडकमा बसी नसक्नु भएपछि अब पानी हालेर धुलो बन्द गर्ने होइन कालोपत्रे सडक नै एक सूत्रीय माग रहेको उनीहरूले जनाएका छन् । हिउँदमा धुलो मारेर के गर्नु, वर्षा याममा हिलाम्मे सडक हुन्छ भन्दै स्थानीयहरु नेता र ठेकेदार प्रति आक्रोशित भएका थिए ।

बिर्तामोड –८ देउनियाँ पुलदेखि भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । यता समयमै सडक नबनेपछि बिर्तामोड – शनिश्चरे सडकखण्ड पनि स्थानीयले एक सातादेखि अवरुद्ध गरेका छन् ।

सडक खुलाउने विषयमा नगरपालिकाले चासो लिए पनि निर्माण व्यवसायीले काम गरेको रकम नपाएको भन्दै सडक निर्माण कार्य रोकेपछि सडक अलपत्र परेको हो ।

निर्माणाधीन सडक सवारी चल्दा धूलो उडेर मानवस्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीय अनिश्चितकालका लागि भन्दै सडक अवरुद्ध गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here