जुनोटिक रोग र AMR पैरवी

0
22

सार:

पशुपंक्षीबाट मानिसमा सर्ने रोग वा संक्रमणलाई जुनोटिक रोग भनिन्छ l यो रोग घरपालुवा वा जंगली पशुपंक्षीबाट मानिसमा कुनै न कुनै तरिकाको सम्पर्क वा लसफसबाट सर्ने गर्छ l यो समस्याबाट जोगिनका लागि जुनोटिक रोगहरूबारे सामान्य जानकारी समुदायमा हुन आवश्यक छ l यति मात्रले यो समस्याबाट समुदायका मानिस मुक्ति हुन्न, समुदायलाई मानिसको शरीरमा पर्ने औषधीको प्रभाव र असरबारे पनि पैरवी गर्नु जरुरी देखिन्छ l मानिसले दैनिक जीवनमा जीवजन्तु, बोटबिरुवा र माटोको सम्पर्कमा काम गर्नुपर्छ l मानिस विरामी हुनसक्छ, जीवजन्तु विरामी हुनसक्छ वा बोटबिरुवा विरामी हुनसक्छ तीनको उपचारमा जानी जानी वा अन्जानपूर्वक स्वास्थ्य, पशु वा कृषि विज्ञहरूबाट उपचारमा Antibiotic, Antiviral, Antifungal, Antiparasitic औषधिको प्रयोग भइ नै रहेको हुन्छ l त्यस अवस्थामा औषधिले देखाउने असर भनेको शरीरको लागि ‘प्रभावकारी’ वा ‘प्रभावहीन’ हुन्छ l ‘शरीरलाई आवश्यक प्रयोग’ हो भने औषधिको प्रयोग प्रभावकारी हुन्छ l यदि ‘शरीरलाई अनावश्यक प्रयोग’ हो भने औषधिको प्रयोग प्रभावहीन हुन्छ l अज्ञानपूर्वक खेतबारीमा गरिने ढुसी बिरुद्धको औषधिको प्रयोग, अन्जानपूर्वक गरिने प्रतिजैविक औषधिको प्रयोगले मानिसलाई जहिले पनि स्वास्थ्यको दृष्टिकोणले धोखा नै भैरहेको हुन्छ l विज्ञको सल्लाहमा मात्र औषधि प्रयोग गर्नु उपयुक्त हो l मानिस, जीवजन्तु, बोटबिरुवा र माटोको लागि देखासिखिमा औषधिको प्रयोग गर्नु हानिकारक छ l समुदायको हरेक मानिसले यस्ता कुराहरूमा स्वयम् होसियारी रहनु जरुरी छ भने सरकारी तवरबाट भएको यसबारेको पैरवी र प्रयासलाई सर्वसाधारणसम्म सबैले पुर्याउनु उत्तिकै जरुरी छ भन्ने कुरालाई यस लेखमा उल्लेख गरिएको छ l

जुनोटिक रोग:

जुनोटिक रोगहरू जनावरबाट मानिसमा सर्ने संक्रामक रोग हो l मानव स्वास्थ्यको लागि गम्भीर चुनौतीको रुपमा जुनोटिक रोगहरूलाई विश्व स्वास्थ्य संगठनले लिएको छ l हुन त सन् १९५९ मा Joint WHO FAO Expert group ले प्राकृतिक रुपले मेरुदण्डधारी पशु र मानिसबीच सर्ने रोग तथा संक्रमण जुनोसिस हो भनेको छ l हालसालैको कोभिड-१९ महामारी पनि जुनोटिक रोगको रुपमा उत्पति भएको र पछि मानिसबाट मानिसमा संक्रामक स्थिति भएको पाइन्छ l जुनोटिक रोगले मानव तथा पशु स्वास्थ्यमा धक्का त पुर्याउँछ नै, यसले सामाजिक र आर्थिक प्रणालीमा ठुलो प्रभाव पार्दछ l

नेपालमा वि.स. २०७८ सम्म स्वास्थ्यकर्मीहरूलाई ६ प्रकारका जुनोटिक रोगहरूमा बढी केन्द्रित गराइएको थियो l २०७८ पछि स्वास्थ्यकर्मीहरूलाई १० प्रकारका जुनोटिक रोगहरूलाई समाजमा कसरी नियन्त्रण गर्न र जनचेतना तथा पैरवी गर्न  सकिन्छ भन्नेमा केन्द्रित रहेको देखिन्छ l यसबारे अभिमुखीकरण र पैरवी गर्न केद्रीय सरकारले सशर्त बजेट स्थानीय तहमा प्रदान समेत गरेको छ l नेपाल सरकारले २०८१ असार २० गते नेपाल राजपत्रमा सुचना प्रकासित गरी ५२ वटा संक्रामक रोगहरूको सुची जारी गरेको छ, जसमा Taeniasis/Cysticercosis/ Neurocysticercosis, Hydatidosis, Leptospirosis, Brucellosis, Toxoplasmosis, Avian influenza, Salmonellosis, Zoonotic Tuberculosis, Leishmaniasis, Rabies, Covid-19 उल्लेखित जुनोटिक रोगहरू पनि समावेश रहेका छन् l

जुनोटिक रोगहरूको सामान्य परिचय:

Taeniasis / Cysticercosis:

यो एक प्रकारको फित्ते जुका हो l यो पशुबत मानिसमा, मानिसबाट पशुमा वा मानिसबाट मानिसमा सर्छ l यो रोगमा हुने जुका ४-८ मि. सम्म लामो हुछ l यो खास गरी Pork र Beef Meat मा पाउँछ l Taeniasis भनेको आन्द्रामा फित्ते जुका हो भने Cysticercosis भनेको मुटु वा दिमागमा फित्तेजुका Cyst को अवस्थामा रहेको हुन्छ l

Hydatidosis:

यो कुकुरबाट अन्य पशु वा मानिसमा लाग्ने एक किसिमको फित्ते जुका हो l मानिस वा कुकुरको कलेजो, फोक्सो, मुटु आदिमा Cyst बन्छ l यो हुन लामो समय लाग्छ l यो रोग कुकुरबाट मानिसमा सर्छ l

Toxoplasmosis:

सुक्ष्म परजीवीबाट हुन्छ l यो बिरालो, बंगुर, भेडा, बाख्रा, तातो रगत भएको पशुबाट सर्छ l यो रोगको सराइ अवधि ५-२३ दिन मानिएको छ l यो रो लाग्दा रुघाखोकी, कमजोरी हुनसक्छ l अरु खासै लक्षण नदेखिए पनि सुक्ष्म परिजिवी लामो समयसम्म निस्कृय रहने भएकोले स्नायु प्रणाली, मुटु, कलेजो, आँखामा समस्या देखापर्छ l

Brucellosis:

यो रोग Brucella जातका विभिन्न जीवाणुहरूबाट हुने एक संक्रामक र सरुवा रोग हो l यो जीवाणु दूध, पिसाब, पानी र चिसो माटोमा लामो समयसम्म बाँच्न सक्छ l मानिसमा माल्टा फिभर, अंडूलेंट फिभरको नामबाट जानिन्छ l मानिसमा सामान्यतया ज्वरो, राती पसिना आउने, बिरामी भएजस्तो, लाग्ने, अरुचि हुने, टाउको दुख्ने, जीउहात र शरीरको पछाडि दुख्ने हुन्छ l

Leptospirosis:

यो रोगको कारक अर्थात् जीवाणु स्क्र्यु तथा स्पाइरल आकारको लेप्टोस्पाइरा भन्ने जीवाणुबाट लाग्दछ l यो मुसाबाट सर्ने भएपनि गाईभैंसी, भेडाबाख्रा, बंगुरसुगुर, घोडा, कुकुर लगायत प्राय सबैमा यो रोगको जीवाणु पाइन्छ l मुसाको पिसाब खानेकुरामा मिसिएर दुसित भएमा, संक्रमित जनावरको पिसाब मानिसको मुखसम्म कुनै तरिकाले पुगेमा यो रोग लाग्नसक्छ l मानिसमा ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी कम्जोर हुने, जन्डिस, पिसाबमा रगत, पातलो दिसा, छालामा नचिलाउने डावर, आँखा दुख्ने, मृगौला, कलेजो खाराब हुने समस्याहरू हुनसक्छ l

Avian Influenza / Bird flu:

यो रोग कुखुरा, हाँस, टर्की र जंगली चराचुरंगीहरूमा पाइन्छ l अर्थोमिक्जोभीरिडी जातिको भाइरसबाट हुने सरुवा रोग हो l यो ज्यादै संक्रामक हुन्छ l कुखुराको सुली, -यालबाट अति छिटो यो रोग सर्छ l मानिसमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, सिंगान आउने, जीउ दुख्ने हुन्छ l यसको खासै उपचार छैन l

Rabies:

यो प्राण घातक रोग हो l तर रोकथाम गर्न सकिन्छ l नेपालमा ९५% भन्दा बढी मानिसमा कुकुरको टोकाइबाट रेबिज हुने गरेको छ भने ३% रयालबाट र बाकि न्याउरी मुसा तथा अन्य जनावरबाट हुने गरेको छ l यस रोगको सराइ अवधि १० दिनदेखि २ वर्षसम्म रहेको छ l तर ६ महिना भन्दा बढी विरलै पाइन्छ l रोगको लक्षण देखिएको १० दिनभित्र रोगीको मृत्यु हुने गरेको छ l मानिसमा हावा, पानीदेखि डर लाग्ने, उत्तेजित हुने, पक्षाघात हुने, खान गाह्रो हुने र मृत्यु हुने हुन्छ l

Salmonellosis:

यो एक प्रकारको खाद्यजन्य रोग हो l तर यो मानिस र जनावर दुबैमा संक्रमण गर्न सक्ने भएकोले यो रोगलाई जुनोटिक रुपमा राखिएको छ l दुसित मासु, अण्डा, जनावरको मल वा शारीरिक सम्पर्कको माध्यमबाट यो रोग सर्छ l खेतीपाती, पशुपालन र मासुजन्य उत्पादन प्रक्रियामा दुषित वातावरण भएमा ब्याक्टेरिया खाद्य शृंखलामा समावेश भइ मानिससम्म पुग्छ l

Zoonotic Tuberculosis:

जनावरबाट मानिसमा सर्ने क्षयरोग हो l यो प्राय: Mycobacterium bovis नामक जीवाणुको कारणले हुन्छ, मानिसमा हुने सामान्य क्षयरोगसंग मिल्दोजुल्दो छ l यो रोग संक्रमित पशुहरूको सम्पर्क, काँचो दूधबाट सर्ने हुन्छ l यस रोगमा ज्वरो, तौल घट्ने, कमजोरी र राति धेरै पसिना आउने जस्ता लक्षणहरू देखिन्छन् l

Leishmaniasis:

यो रोगको परजीवी घरेलु र जंगली जनावरहरूको शरीरमा रहन्छ l त्यसकारण यसलाई जुनोटिक रोग भनिएको हो l टोकाईबाट नै मानिससम्म रोग सर्ने हुन्छ l यो रोगको प्रसारमा मानिस र जनावरबीचको सम्पर्कले महत्वपूर्ण भूमिका खेल्छ l यो रोग सार्ने काममा sand fly ले मुख्य भूमिका खेलेको छ l यस रोगमा उच्च ज्वरो, तौल घट्न, फियो र कलेजो बढ्ने, रगतमा रातो रक्तकोष घट्ने समस्याहरू हुन्छ l

Covid-19:

यो रोगको उत्पति जनावर नै मानिएको छ l त्यसैले  यो रोग मानिसबाट मानिसमा छिट्टै सर्ने संक्रामक रोग हो l यो रोगको कारक कोरोना भाइरस हो l हाछ्यु गर्दा, खोक्दा, -याल , सिंगान वा प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्छ l यो रोग लाग्दा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, जीउ दुख्ने, दिसामा गडबडी हुने वा बिरामी गम्भीर अवस्थामा पुग्नेसम्म हुन्छ l

माथि उल्लेखित जुनोटिकहरूबाट जोगिन हरेक मानिसले सरसफाइ, जनावरसितको सम्पर्कमा होसियारी, खोप पूरा गर्ने र रोग लाग्न वितिकै रोगको सहि पहिचान र उपचार गर्ने जस्ता कार्यहरूले जुनोटिक रोगको प्रभावलाई समाजमा कम गर्न सकिन्छ l

AMR (प्रतिजैविक प्रतिरोध):

AMR भनेको प्रतिजैविक प्रतिरोध हो l यसलाई पुरा अक्षरमा Anti-Microbial Resistance भनिन्छ l प्रतिजैविक प्रतिरोध भन्नाले सरल भाषामा औषधिको कार्य प्रभावहीन हुनु वा औषधिले आफ्नो प्रभाव गुमाउनु हो l अर्थात् औषधिले जीवाणु बिरुद्ध प्रभाव देखाउन सक्दैन र जीवाणुहरूले आफ्नो कार्यलाई निरन्तर अगाडि बढाई रहेको हुन्छ l फलस्वरूप हाम्रो लागि रोग निको हुदैन l यो समस्यालाई सम्बोधन नगरिएमा मानवीय जीवनमा धेरै नाजुक अवस्थाहरू निम्तिन सक्छ l धेरै मानिसहरू गरिबीतिर धकिलिने सम्भावना हुन्छ l

मानव स्वास्थ्य, पशु स्वास्थ्य र कृषिको क्षेत्रमा रोगको उपचार गर्ने सन्दर्भलाई हालसम्म प्रयोगमा आएको अभ्यास चार प्रकारमा हेर्न सकिन्छ l जस्तै:-

  • किटाणु बिरुद्ध (Antibiotics वा Antibacterial)
  • विषाणु बिरुद्ध (Antiviral)
  • ढुसी बिरुद्ध ( Antifungal)
  • परजीवी बिरुद्ध (Antiparasitic)

स्वास्थ्यकर्मी वा चिकित्सकको उचित सल्लाह बिना औषधि सेवन गर्ने र पशु कृषि विज्ञको सल्लाह बिना नै खेतबारीमा विषादी र ढुसी बिरुद्धका औषधिको जथाभावी प्रयोग गर्नाले मानव शरीर, पशुपंक्षी र बोटबिरुवामा प्रभावहिनताको समस्या देखिएको छ l उदाहरणका लागि हेल्थपोष्ट स्तरदेखि विज्ञसम्मको उपचारमा अहिले विरामीको दादलाई निको पार्न सकिराखिएको छैन l यो समस्या भनेको नै Antifungal औषधिहरू विरामीको शरीरमा Resistance (प्रतिरोध) हो l सामान्य Antifungal को सट्टा नयाँ नयाँ पुस्ताका Antifungal औषधिको खोजी गर्नुपर्ने अवस्था छ l यस्ता समस्या Antibiotic, Antiviral, Antiparasitic मा कति छन् कति छन् l शरीरको लागि नयाँ जेनेरेशनका औषधि खोजी गर्न देशले अनुसन्धानमा लगानी गर्नुपर्ने बाध्यताहरू हुन सक्छन् l यस्ता कारणले पनि विकासका अरु योजनाहरूमा नोक्सानी पुगेको हुन्छ l

AMR (प्रतिजैविक प्रतिरोध) समाजको लागि गम्भीर चुनौती हो l यो समस्या हामी सबैको लागि हामीबाट नै गरिएको धोका हो l यो धोकालाई हामीले जनस्वास्थ्य समस्याको रुपमा नै समाधान गर्नु आवश्यक छ l यो समस्यामा विश्व स्वास्थ्य संगठन निकै चिन्तित छ l जनस्वास्थ्य समस्याका कारण हरेक स्थानीय तहमा गाउँपालिका र नगरपालिकामा पैरवीका लागि रू.२० हजार र उपमहा न. पा. कालागि रू.३५ हजार र महा न. पा. कालागि रू.५० हजार सशर्त अनुदानमा कार्यक्रमहरू छन् l वर्षैपिछे आउने यो अनुदानको मर्म बुझ्ने कारणले सम्बन्धित व्यक्ति वा निकायले पैरवीका कार्यहरू गरेका छन् भने मर्म नबुझिएको कारण बजेट फिर्ता भइरहेको वा कार्यक्रमकै लागि कार्यक्रम हुने गरेको पनि छ l

त्यसकारण AMR को मर्मलाई बुझेर स्थानीय तहका सम्पूर्ण स्वास्थ्यकर्मी, पशु-स्वास्थ्यकर्मी र कृषि प्राविधिकहरूमा अभिमुखिकरण गरिनु पर्छ l केन्द्रले तोकेको बजेट न्यून भएकोले स्थानीय तहले थप सहयोग गर्न पनि जरुरी छ l यो समस्याको बारेमा व्यापक जनचेतना फैलाउन २०८१ मङसिर ३ देखि ९ गतेसम्म नेपालमा सप्ताह अभियान तोकिएको थियो l कतिपय स्थानीय तहले गरेको र कतिपयले गर्न नसकेको पनि छ l

AMR मुख्य असरहरू:

शल्यक्रियाका रोगीहरूमा जटिलता, संक्रमण वृद्धि, स्वास्थ्य सेवा लागतको वृद्धि, शिशु र वालावालिकामा बढी जोखिम, कृषि उत्पादनमा असर, अर्थतन्त्रमा असर l

रोकथामका उपायहरू:

मानव, पशुपक्षी र बोटबिरुवाहरूमा प्रतिजैविक औषधिको उचित प्रयोग गर्नुपर्छ l स्वास्थ्य, कृषि, खाद्य प्रणालीमा सरसफाई र स्वच्छता तथा सुरक्षा हुनुपर्छ l रोकथामका उपाय प्रभावकारी हुनुपर्छ l देशले अनुसन्धानमा लगानी गर्नुपर्छ l स्वास्थ्य संस्थाहरूले रोगको प्रकार र गम्भीरताको आधारमा औषधिको सिफारिस गर्नुपर्छ l सम्बन्धित स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले किटाणु, बिषाणु, ढुसी र परजीवीको संक्रमण छुट्याउने र सोको उपचार गर्ने अभ्यासले प्रतिजैविक प्रतिरोधको समस्या धेरै हदसम्म सुधार हुन्छ l विरामीले औषधिको पुराकोर्ष लिने व्यवहारले पनि यो समस्यालाई समाधान गर्छ l समुदायलाई यो समस्याबारे स्थानीय तहको स्वास्थ्य शाखा, कृषि शाखा र पशु सेवा शाखाबाट समन्वयात्मक तरिकाले जनचेतना हुन आवश्यक छ l

AMR को जनचेतना निम्न निकायमा हुन जरुरी छ:

स्वास्थ्यकर्मीहरू, पशुस्वास्थ्यकर्मीहरू, कृषिकर्मीहरू, स्थानीय समाजसेवीहरू र नेताहरू, शिक्षक र विद्यार्थीहरू, आमा समुहहरू

सन्दर्भ श्रोतहरू:

१.महामारी तथा रोग नियन्त्रण महाशाखाका क्रियाकलाप संचालन गर्ने

स्थानीय स्तरीय निर्देशिका संग्रह आ.व.२०८१/०८२

२.नेपालमा रहेका महत्वपूर्ण जुनोटिक रोगहरू

सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूका लागि उपयोगी तालिम पुस्तिका

२०७३ l

३.स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जुनोटिक रोग नियन्त्रण कार्यक्रम l

४.नेपाल राजपत्र खण्ड ७४ असार, २० गते, २०८१ साल संख्या १७ भाग ५

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here