रास्वपामा संसदीय दलको नेता बन्न ५ जना आकांक्षी

0
116

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै संसदीय दलको नेता बन्न पाँच जना आकंक्षी देखिएका छन् ।अलिे रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ ।

पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।

निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् ।

‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,’ श्रेष्ठले केन्द्रीय सदस्यहरुको मेसेन्जर ग्रुपमा लेखेकी छन्, ‘म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ।’

श्रेष्ठले एक पदाधिकारीलाई ‘मेन्सन’ गर्दै ग्रुपमा यो जवाफ दिएकी हुन् । उनले आफू दाबेदारीबाट पछि नहट्ने स्पष्ट संकेत गरेकी छन् ।

पार्टीका अर्का पदाधिकारीले भने रविले टीका लगाएर पद नबाँडेको, बरु पार्टी संगठनमा दुई उपसभापतिमध्ये एक अर्याललाई, अनि संसदमा अर्का उपसभापति वाग्लेलाई स्थापित गर्नु न्यायोचित भएको धारणा राखेको बताए । ‘जे निर्णय गरे पनि त्यो पार्टीकै निर्णय हो, तर रवि दाइको मनसाय यस्तो छ,’ ती नेताले भने ।

सुमनालाई रोक्ने तयारीमा रहेका केही सांसदले भने उनलाई काउन्टर दिन चन्दा कार्कीको नाम अघि सारेका छन् ।
उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा नेताहरुसँग राखिसकेको बुझिएको छ ।

सहमहामन्त्री सुमनालाई संसदीय दल नेता बन्न नदिन रास्वपाकै सांसदहरुले समानुपातिक सांसदलाई दलको नेता मान्दा गलत सन्देश जाने तर्क थालेका छन् । ‘प्रत्यक्ष जितेको सांसद मात्रै दलको नेता बन्छ, स्वर्णिम दाइ बन्न पाउनुभएन भने बरु विराजजी नै बन्नुहुन्छ,’ पार्टी उच्च स्रोतले भन्यो ।

विवाद बढ्दै गएर समाधान कठिन बनेमा अर्याल नै संसदीय दल नेताका रुपमा अघि सारिन सक्ने सम्भावना पनि ती नेताले औंल्याए ।

सुमनालाई रोक्ने तयारीमा रहेका केही सांसदले भने उनलाई काउन्टर दिन चन्दा कार्कीको नाम अघि सारेका छन् । तर संसदीय दलमा वाग्ले आउने सम्भावना सबैभन्दा बढ्ता रहेको रास्वपाले बतायो ।

रास्वपाले रविको निलम्बनविरुद्ध अदालत जाने बताए पनि उनी संसदीय दल नेताका रुपमा फर्कने सम्भावना करिब नभएको टुंगोमा पार्टी पंक्ति पुगेको बताइएको छ ।

यसो गर्दा अब रास्वपामा संसदीय दल नेताका रुपमा पाँच आकांक्षी देखिएका छन्– स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, चन्दा कार्की र डिपी अर्याल । संसदको बैठक सुरु हुनुअघिसम्म यो विषय निरुपण भइसक्ने रास्वपाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here