एक नजरमा इजरायल

0
87

पहाडमा यातायातको असुविधाभो भनेर मधेस झरेका हामी इजरायलको जोडान भ्यालीबाट माथिका डाँडा–काँडाहरूमा बाक्लै गाडीहरू यताउता ओहोरदोहोर गरेको देख्दा लाग्थ्यो,हाम्रो देशका डाँडा–काँडाहरू माथिपनि यसरी नै गाडी कुद्ने दिन कहिले लाउलान् ? दोहाबाट अमान प्लेनबाट ओर्लदा हिँड्नु परेको थिएन । प्लेनको ढोका र एयरपोर्टभित्र छिर्ने एयरपोर्टको ढोका मिलेको थियो । इजरायलमा जस्तै भूइँमा खुट्टा राख्नै नपरी फटाफटभित्र पुगिएको थियो । जोडानको एयरपोर्ट सानो भएर के भो । लाग्यो, सबै कुरा विचार पु¥याएर बनाइएको रहेछ । इजरायली र जोडानी नागरिकले खासगरी जोडान भ्यालिमा व्यक्तिगत तवरले कृषिमा निकै ठूलो सहकार्य गरेको पनि पाइयो ।

कोरोना कहर र लक डाउनले थकित भएको मन यी र यस्तै कुराहरू पनि सोच्न पुग्छ बेलाबेला ! विगतलाई सम्झेर मन बहकिनु पनि टायम पास्टका लागि त्यति अनुचित होइन रहेछ । कहिले त दिन काट्नै मुस्किल । २०७७ पनि यसरी नै बित्यो । ०७८ पनि त्यस्तै हुने रहेछ । त्यो भन्दा गतिलो नहुने रहेछ । परिवारका सदस्यहरूको अनुहार हे¥यो । छिमेकीको त्यस्तै । भित्री मन खुम्चिएको बाहिरी अनुहारबाटै प्रष्टिन्छ । घरभित्र बसेर दिन काट्न काममा जाँदा भन्दा चौगुना मुस्किल पर्दो रहेछ । भूपु इण्डियन आर्मी थिए । दिन पनि त्यति धेरै खाएको होइन । चिप्ले छन् बुढा कोरोनाले । कम्ति संवेदनशील बनाएन मन यो घट्नाले । खाइलाग्दै थियो ज्यान । कोरोनाले पनि काँ खाइलाग्दो ज्यान भनिरहँदो रहेछ र । विचरा बुढाले दुःखै लुकाए । जहिले भए पनि एक दिन त जाने नै हो । अलि छिटो भो बुढाको गइ ! नजिकका छरछिमेकी पनि कोही आउँदा रहेनछन् । अलि परै उभिएर हेर्ने अलि परका छिमेकीले कुरा गरेको सुनेको । मसानघाट जस्तै छ टोल सुनसान ।
एकदिन त सुन्न पाइएला यी थोत्रा कानले । हाम्रो पहाडमा पनि गाडी पुग्यो भन्ने कुरा । अरू बेलाभन्दा पनि दुःख–विमार हुँदा सारै कठिन । मलाई सम्झना छ । पहाडको दूर–दराजबाट विमारी हुँदा डोकामा बोकेर विमारी धरान ल्याएको । झोलुङ्गोमा पनि बोकेर ल्याउँथे । न हस्पिटल न यातायात न नजिक स्कूल । उसबेला खाली खुट्टाले घण्टौँ हिँडेर स्कूल जानु–आउनुपर्ने । बत्ती त डोको बोकेर दियालो काट्न सल्लेरी वन जानु प¥थ्यो । नगए के बाल्ने ? मट्टितेल आएपछि बल्ल मट्टितेल हालेर धिप्री÷कुपी बाल्न थालियो । जाँच आउँने बेला भएपछि डोको बोकेर दियालो काट्न जान्थ्यौँ हामी । मट्टितेल आएपछि भने बल्ल दियालो खोज्न जान परेन । अहिले त पुगेको छ रे गाडी गाउँमा । हाम्रा बारीका काँल्ला–काँल्लाबाट कुद्छ रे गाडी । सोलारको उज्यालोले राती झलमल्ल हुन्छ रे गाउँ । खाने पानीका धारा घर–घरमा पुगेका छन् रे । हातमा मोबाएल छुट्ने त कुरै भएन । सुन्दापनि सपना जस्तो लाग्ने ! अब दुःख एउटा राम्रो हस्पिटलको छ भन्छन् पहाड नछोड्नेहरू । अरू सब ठिक छ अहिले त । मधेसमा पनि भएको त्यति त हो नि । अरू बढी के छ र त्यस्तो !

इजरायलमा पहिलो पल्ट त्यस्तो देखेर आश्चर्यचकित भएको हुँ म । बारी भनौँ काँल्ला छैनन् । खेत भनौँ आली छैनन् । घुमी–घुमी प्लेन उड्छ भुइँ छुने गरी । के गरेको होला त्यो प्लेनले त्यसरी ! नजिक गएर हेर्न उत्सक भयो मन । गएर हेर्दाको आश्चर्य हो यो । आलुमा विषादी छर्केको रहेछ । अचम्म लाग्यो । कहिल्यै नदेखेको आफूले त्यस्तो । प्लेनले औषधी छर्केको ! नसकुन्जेल हेरि बसेँ म त रमिता । साथीहरू फर्किसकेछन् । भरे त रमिताभन्दा पनि इजरायलीहरूले कृषिमा गरेको उन्नति देखेर लोभ लाग्यो । हाम्रा यस्ता दिन कहिले आउलान् ! ग्रीन हाउसभित्रको खेतीमा पनि प्रविधिका माध्यमबाट बटम थिचेपछि औषधी छर्किइने । पानी त आवश्यकता अनुसार अटोमेटिक आफैँ पट्ने । गर्दा के हुँदो रहेनछ र म यति बेला महाबीर पुनलाई सम्झँदैछु जसले ल्याए राष्ट्रिय अनुसन्धान केन्द्र सञ्चालनमा । यसरी नै त होला नि पश्चिमाहरूले प्रगतिको शिखर चुमेको ।

अब हामीले गर्नुछ केही भने लाग्छ यही कृषिमा गर्नुछ कायापलट । यसमै छ हाम्रो भविष्य पनि । के छैन हामीसँग ! जनशक्ति पनि छ । पानी पनि छ । बत्ती पनि छ । विभिन्न किसिमको माटो छ । छैन त हामीसँग केबल अन्तर्राष्ट्रिय बजार र सम्बन्धित विषयसँग सम्बन्धित विषेशज्ञको अभाव छ । त्यहाँ कुनै पनि खेतीको लागि बिरुवा लगाइसकेपछि त्यसलाई हुर्काउने, बढाउने, फुलाउने, फलाउने, टिप्ने, बजार पु¥याउने बेलासम्म पनि त्यसका विषेशज्ञहरूले चेकजाँच गरिरहेका हुन्छन् । खान योग्य भएनभएको छुट्याएर मात्र बजार पु¥याउने गर्छन् । जस्तो खासा बजार पठाउनुछ भने बोटैदेखि खान लायकको छ÷छैन भनेर जाँच गरिन्छ ।

जाँच भएर खान योग्य छ भने त्यो पास हुन्छ । पास भएपछि त्यसलाई टिपिन्छ । टिपेर ल्याएर प्याकिङ्ग गर्ने बेलामा पनि चेकजाँच नै हुन्छ । बजार पठाउँदा पनि चेकजाँच गरेर पास भएपछि मात्र पठाइन्छ । यसरी चेकजाँच गर्दा दुई जना विषेशज्ञको टिम हुन्छ । तिनले यो खानयोग्य छ भनेर सिफारिस गरेपछि मात्र बजारमा बिक्रीका लागि पठाइन्छ । खासा भनेको साग हो । कुन माटोमा के खेती लाउँदा राम्रो हुन्छ भन्ने कुरा विषेशज्ञले माटो परिक्षण गरेर मात्र खेती लाइन्छ । यति गरेपछि लाएको बालीनाली नसप्रने कुरै भएन । एक मुठी माटोमा एउटा डोरी गाडेर किलोका किलो टमाटर फलाएको देख्दा अचम्म लाग्यो । इजरायलमा नभएको खेती भनेको मैले धान खेती मात्र नभएको देखेँ । अरू प्रायः सबै खेती गरिँदो रहेछ । पानी पनि किनेर । श्रम पनि किनेर । बत्ती पनि किनेर । त्यतिमात्र होइन । कतिपय खेतीको लागि त माटो पनि किनेर खेती गरेको पाइन्छ । विश्वकै चलाख जातीमा गनिने त्यहाँका यहूदी जाती साँच्चै मेहनती पनि हुँदा रहेछन् ।

जीवनलाई सधैँ आशावादी दृष्टिले हेर्ने तिनीहरू कर्ममा विश्वास गर्ने । खाली हात नबस्ने र समयको महत्व बुझेका अत्यन्त व्यस्त र उच्च जीवनशैली जिउँने गर्छन् । त्यहाँ उत्पादित सबै खानेकुराहरू पनि प्रायः यूरोप र अमेरिका जान्छ । त्यहाँ काम गर्ने कामदार मुख्यतः कृषिमा थाइल्याण्डी र नेपाली । केयर गिभरमा फिलिपिनी र नेपाली । घर बनाउँनेमा चाइनिज रहेको पाइन्छ । त्यसपछि मात्र अन्य मुलुकका कामदारले मौका पाउँछन् । इजरायल श्रमको सम्मान गर्ने एक शक्तिशाली र सम्पन्न देश हो । सानो देश । भौगोलिक दृष्टिले सानो मानिए पनि विचार र सम्पन्नताको दृष्टिले सानो मानिँदैन । भनिन्छ भौगोलिक दृष्टिकोणले नमिलेर मात्र यो देश एशियामा छोडिएको रे । नत्र यसलाई पनि यूरोपमा गाभ्न खोजिएको थियो रे । सायद त्यसैले पनि होला । यसलाई यूरोपियन सिस्टममा चलेको देश पनि भनिन्छ । यहाँको मुख्य भाषा हिब्रु हो । यहाँको पैसालाई सेकल भनिन्छ । अधिकांश यहूदी धर्मावलम्बी भएको यो देशमा थोरै संख्यामा क्रिश्चियन र मुस्लिम पनि रहेका छन् । यो देशले छोटो समयमा गरेको प्रगति लोभ लाग्दो मात्र होइन । विश्वमै उदाहरणीय पनि रहेको छ ।

यहाँका हरेक नागरिकले १८ वर्ष पूरा भएपछि अनिवार्य रूपमा सैनिक तालिम लिएका हुन्छन् । घरमा एउटा गन हुन्छ । यिनीहरू आफ्नो देशप्रति पूर्णरूपमा बफदार हुन्छन् । यिनीहरूमा अगाध देश प्रेम हुन्छ । इजरायललाई देश भक्तहरूको देश इजरायल भनेर त्यसै भनिएको होइन रहेछ । यहाँका हरेक नागरिकको घरमा आफ्नो देशको झण्डा राखिएको हुन्छ । सवारीसाधनमा पनि देशको झण्डै राखिएको हुन्छ । कुनै कुरा नलुकाउने यिनीहरू एउटा खुल्ला किताब जस्तो हुन्छन् । यिनीहरू प्रायः कालो सुट र सेतो सटमा सजिएर हिँड्छन् । यिनीहरूबाट मैले सिकेको कुरा मेहनत, सधैँ सकरात्मक सोच, विश्वास, आफ्नो विचारप्रतिको अडान सबैभन्दा बढी त देशप्रतिको माया आदि हुन् । यहाँ उत्पादन हुने हिरा, मोति, हातहतियार र मृत्त सागर आदि यस देशका अमूल्य सम्पत्ती हुन् । वरिपरिबाट अरबियन÷मुस्लिम देशहरूले घेरिएको यो एउटा मात्र विश्वको यहूदी राष्ट्र हो । यिनीहरूले मान्ने चाड–पर्वहरूमा पेशाक, पुरीम, रोशासना, योम किपुर, सुकोत, सभुओत, खानुका आदि हुन् ।

२०६२ साल वैशाख महिनाको पहिलो दिन । रातको १२ बजे हामी इजरायलको तेलभीभस्थित बेनगुरियन अन्तर्राष्ट्रिय विमान स्थल ओर्लिएका थियौँ । नयाँ ठाउँ के पत्तो पाउनु । एजेन्सी हामीलाई रिसिभ गर्न आइसकेको रहेछ । नेपाली मूलका इजरायली नागरिक नेरी र भिषा वाला इजरायली नागरिक बारुख जैरे । एक वर्षका लागि एयरपोर्टमै लाग्यो, हाम्रो पासपोर्टमा वर्क प्रमिट भिषा । त्यसपछि गाडीमा राखेर हुइँक्याए हामीलाई तिनले । करिब आधा घण्टापछि आइपुग्यो, हाम्रा आँखा अगाडि एउटा झलमल्ल, रङ्गीन सहर । गल्ली–गल्ली छिरेर पुग्यौँ, एउटा घरमा । ८÷१० जना नेपालीहरू रहेछन् त्यहाँ । ती सबै तन्द्रादेवीको अङ्गालोमा बेरिइसकेका रहेछन् । यसो बुझ्दा आश्किलोन शहर रहेछ त्यो । नेपालीहरूको अपार्टमेन्ट रहेछ हामी पुगेको घर । एजेन्सीले खोलेको आश्किलोनको अपार्ट । काम नपाउञ्जेल वा काममा नजाउञ्जेल बस्ने, खाने ठाउँ रहेछ त्योे नेपालीहरूको । सबै सुतिसकेका भए पनि बिना झन्झट उठेर पकाएर ख्वाए साथीहरूले खाना । बिहानको २ बजेतिर त्यतै पल्ट्ङपुल्टुङ सुतियो । गलेको ज्यान बिहान अबेरसम्म निदाइएछ । दुई दिन अपार्ट बसेपछि काममा गइयो मुसाभ सखार । सखार भनेको ठाउँको नाम रहेछ । मुसाभ भनेको हिब्रु भाषामा गाउँ हो ।

गुलाबको फूलमा काम थियो । फूल काट्नुपर्ने । काटेर ल्याएर नापोमा सेमीसेमी छुट्याएर गुच्छागुच्छा बनाउनुपर्ने । ओइलाउन नदिन त्यसलाई अलिकति बाल्टीको पानीमा चोपेर एसीभित्र बन्द कोठामा राख्नु पर्दोरहेछ । यसरी फूललाई केही समय फक्रिनबाट रोक्न सकिँदो रहेछ । राति कम्पनीको गाडी आएर लादो रहेछ । गाडी आउनु अघि नै ठिकठाक पारेर राखिदिएपछि आफ्नो काम सकिन्थ्यो । उसैले लोड गरेर लिएर जाँदो रहेछ । गुलाबको फूलको काँडाले हात घोचेर बानी नपरुञ्जेल त झ्याउ नै लाग्यो । बाक्ला पन्जा लगाउनुपर्ने । हातमा पन्जा र एउटा साकिन बोक्यो हिँड्यो काममा । साकिन भनेको चक्कु हो । बिहान ६ बजेदेखि बेलुका ८÷९ बजेसम्म काम हुन्थ्यो । बल्ल काम सकेर सुत्न जाने हो । ग्रिन हाउसभित्रको काम हो । निकै गर्मी हुन्थ्यो दिनमा त ।

प्याकिङ हाउसभित्र चाहिँ एसी हुन्थ्यो । बानी पर्दै गएपछि त सजिलै लाग्यो काम । दुई जना थाइल्याण्ड नागरिक थिए । नेपाली हामी दुई गरी चार जना भयौँ । बाक्लो कालो प्लाष्टिकको ड्याङमा रातो माटो भरेर त्यहाँ गुलाबको फूलको खेती गरिएको रहेछ । माटो देख्दा मलाई नेपालको पहाडी दूर–दराजको गाउँको याद आयो, जहाँ म जन्मेको थिएँ । त्यो माटो पहाडको गाउँले घर पोत्न प्रयोग गरिने जस्तो रातो माटो थियो । लाग्यो, धर्तीको माटो एउटै हो । म दिदीहरूसँग दशैँमा डोको लिएर घर पोत्ने रातो माटो लिन मड्केलोसम्म जान्थेँ । हामी डोकाका डोका दशैँमा घर पोत्न मड्केलाको रातो माटो ओर्साथ्यौँ । म त्यही सम्झेर बेला–बेला त्यो माटो हातमा लिएर खेलाउँथेँ । त्यस्तो रातो माटो सायद इजरायलमा छैन ।

बाहिरबाट किनेर लगिएको हुनुपर्छ । थोपा सिँचाइबाट मल, पानी दिइदोरहेछ । तीन–चार खालको गुलाबको फूलको खेती थियो । ठूला–ठूला चार वटा ग्रिन हाउस थिए । त्यहाँ हामीले पाँच महिना जति काम ग¥यौँ । त्यसपछि हामीलाई कम्पनीले अर्कै ठाउँ, अर्कै कामका लागि पठायो । हामी त्यता गयौँ । त्यता गएर काम गर्न थाल्यौँ । त्यसपछि मैले इजरायलका विभिन्न ठाउँमा बसेर सात वर्ष जति काम गरेँ । रेबाया, राहात, जेरुसेलायम, मिफ्ताकिम, प्रिगान, नेकोहोट, म्यागेन, नेतिबोट, तेलभीभ, रमत्गान आदि इजरायल बसेर मैले काम गरेका ठाउँहरू हुन् । अहिले पनि मलाई ती ठाउँहरू र साथी–सङ्गीको कति धेरै याद आउँछ । इजरायल बसाइको क्रममा मेरो जीवनको स्मृतिमा बारम्बार आइरहने अविस्मरणीय ठाउँहरू हुन् । जहाँ मैले जीवनका रमाइला र नरमाइला दुबै क्षणहरू विताएको छु । २०६८ साल कात्तिक १३ गते म इजरायलबाट सधैँका लागि विदा भएर नेपाल फर्केको थिएँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here