सिटौलामाथि कमरेड दाहालले चलाएको करौंती

१८ चैत्र २०८०, आईतवार मा प्रकाशित

टावरिङ पर्सनालिटी युगपुरुष नेपाली काङ्ग्रेसका तत्कालीन सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही विश्वास पात्र भएर नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा समन्वयात्मक भूमिका खेलेका नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री समेत रहिसकेका नेता कृष्णप्रसाद सिटौलाका जीवनकालमा धेरै उतार–चढाव आई केही वर्षयता पार्टी र राष्ट्रिय राजनीतिको परिदृश्यमा ओझेल जस्तै थिए । उनी ‘फ्रण्टलाइन’मा देखिएनन् ।

पार्टीको १४औं महाधिवेशनपछि त सिटौला गुमनाम जस्तै थिए राष्ट्रियसभा सदस्य हुनुअघि । २०७९ को आमनिर्वाचनमा झापा ३ बाट लगातार दोस्रो पटक पनि उनै चिरपरिचित पुरानै प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएपछि झनै शिथिल बन्दै गए । संविधानसभामा मस्यौदा समितिको सभापति हुँदा बढेको सिटौलाको कद र ओज खस्केको आभाष हुन्छ भने राजनीतिक यात्रामा कतै ‘ब्रेक’ लाग्ने होइन ? संशय गर्छन् राजनीतिक विश्लेषक ।

काङ्ग्रेसको १३औं महाधिवेशन हुने बेलासम्म संस्थापन समूहमै रहेका सिटौलाले सभापति सुशील कोइरालाको मृत्युपछि संस्थापन पक्षले रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाएपछि कित्ता परिवर्तन गर्दै तेस्रो समूह बनाए । आफ्नो धारबाट गगनकुमार थापालाई महामन्त्री र उमाकान्त चौधरीलाई कोषाध्यक्षमा प्रतिस्पर्धी बनाउँदै आपैंm सभापतिको उम्मेदवार बने । पहिलो चरणमा ३२४ मत ल्याएका सिटौला दोस्रो चरणको मतदानमा भने निर्णायक बने । सिटौला कै साथ र सहयोगमा शेरबहादुर देउवा पहिलो पटक सभापति चुनिए । त्यसयता निरन्तर सभापति देउवा खेमामा रहेर तेस्रो धारको नेतृत्व गरेका सिटौलाले देउवाबाट पार्टीभित्र र सत्ता दुबैतिर भागबण्डा लिँदै आए ।

१३औं महाधिवेशनमा आर्जित गरेको शक्ति १४औं महाधिवेशनसम्म आइपुग्दा भने टिकाउन सकेनन् सिटौलाले । युवा नेता गगनकुमार थापाले १३औं र प्रदीप पौडेलले १४औं महाधिवेशनपछि उनको साथ छोडिसकेका छन् । १४औं महाधिवेशनबाट गगन महामन्त्री र पौडेल केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय कार्य समितिमा सिटौला निकट उमाकान्त चौधरी सहमहामन्त्री अनि केन्द्रीय समितिमा कुन्दनराज काफ्ले, तारामान गुरुङ, धना खतिवडा र शिव हुमागाँई केन्द्रीय सदस्य छन् भने कोशी प्रदेशको प्रदेश सभापति उद्धव थापा छन् । अर्को महाधिवेशनसम्ममा यिनले पनि सिटौलाको साथ छोड्ने हुन् कि ? त्यो चाहिँ समयले नै निर्धारण गर्ला ।

समानुपातिक बन्दसूचीको नाम फिर्ता लिएर यसअघि चार पटक सांसद र मन्त्री बनिसकेका आनन्दप्रसाद ढुंगाना माघ १४ गते हुने निर्वाचनमा मधेश प्रदेशबाट उम्मेदवार छनौट भएपछि उनी निशानाको तारो बने । ढुंगानाको छनौटलाई लिएर सभापति देउवाको चर्को आलोचना भयो । अर्का पात्र कृष्णप्रसाद सिटौला भने कोशी प्रदेशबाट सर्वसम्मत चयन भए । उम्मेदवार छनौटको क्रममा गत आमनिर्वाचनमा पराजितलाई उम्मेदवार बनाउन नहुने अडान राख्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा अनि शीर्षनेता डा. कोइरालाले सिटौलाको विगतको योगदानका आधारमा राष्ट्रियसभा अध्यक्षको भूमिकाका लागि उम्मेदवार बनाउन सकारात्मक (पोजेटिभ) बन्दै ‘ग्रीन सिग्नल’ दिएपछि मात्र सिटौलालाई त्यस्तो अवसर प्राप्त भयो । ढुंगानाका हकमा उनी धनुषाबाट प्रतिनिधित्व गर्ने भए पनि मधेशी अनुहारको प्रतिनिधित्व नभएको भन्दै उनको चर्को विरोध भएको थियो । विवादैविवादबीच सभापति देउवाको हस्तक्षेपका कारण ढुंगाना पनि छनौट भए ।

सभापति देउवाको कार्यशैलीप्रति असहमति जनाउँदै महामन्त्रीद्वय थापा र शर्मा अनि केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले आफ्नो फरक मत दर्ज गराएका थिए पार्टी संसदीय बोर्डको बैठकमा पुस २२ गते । महामन्त्री थापाले लेखेको फरक मतको अंश यस्तो छ– ‘यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखी निर्णय हुन्छ, सबै तह र तप्काका साथीलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एक पटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत कमजोर बनाउँछ । अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ ।’

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयन गर्दा कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने र गत आमनिर्वाचनमा पराजितलाई टिकट नदिने पार्टीले निर्धारण गरेको मापदण्ड विपरीत पुस २२ गते बसेको कार्य सम्पादन समितिको बैठकले केही विवादित व्यक्तिलाई छनौट गरेपछि त्यस्तो निर्णयको आलोचना र विरोध भयो । प्रतिनिधिसभामा लगातार दोस्रो पटक पनि पराजित भएपछि सक्रिय राजनीतिबाट विश्राम लिन खोज्दै गत वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्न इच्छा राखेका कृष्णप्रसाद सिटौलाप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सकारात्मक भए पनि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बाधक बने सिटौलाका लागि त्यस बेला ।

जीवनको उत्तराद्र्धमा रहेका काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिबाटै किनारा लाग्दै सन्यासै लिनुपर्ने परिस्थिति सिर्जना भएपछि १४औं महाधिवेशनमा आपूmलाई सभापतिमा निर्वाचित गराउन महŒवपूर्ण भूमिका खेलेका पौडेलको गुनको ऋण चुक्ता गर्न अनि त्यसैबेला राष्ट्रपतिका लागि दिएको बचन पूरा गर्न देउवा पौडेलको पक्षमा उभिएपछि पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्न सफल भएका थिए रामचन्द्र पौडेल । यहाँ स्मरणीय के छ भने त्यसैबेला देउवा र दाहालले अनौपचारिक समझदारी गर्दै सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने सहमति गरेका थिए ।

सत्ता गठनबन्धनको प्रमुख दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग विभिन्न प्रकरण र मुद्दामा मतभेद भई दूरी बढ्दै सम्बन्ध समेत चिसिएको पृष्ठभूमिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले फागुन १६ गते पार्टीको स्थायी समितिको बैठकबाट आफ्नो पार्टीको तर्फबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक निर्णय गराएपछि काङ्ग्रेस झस्कियो । प्रचण्डले आफ्नो पार्टीको तर्फबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गर्दैगर्दा सहयात्री दलहरूसँग छलफल गर्न आवश्यकै ठानेनन् । हेक्का रहोस्, कमरेडलाई राष्ट्रपतिको निर्वाचन अगावै देउवा र दाहालबीच भएको सहमतिकै धरातलमा टेकेर गठबन्धनको तर्फबाट सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको होइन र ?

केही महिनाअघिसम्म आफ्नो रोजाईमा रहेका सिटौलालाई ऐनमौकामा धोका दिएर सिटौलाले लगाएको गुनको नजरअन्दाज र अवमूल्यन गर्दै मानमर्दन गरे पुष्कमल दाहाल (प्रचण्ड)ले । दाहालले काखमा राखेर पछाडिबाट छुरा प्रहार मात्र गरेनन् करौंती समेत चलाएर शिकारै गरे सिटौलाको । देउवा र दाहालको निकृष्ट खेलको भकुन्डो बन्न बाध्य भए सिटौला । प्रचण्डका खुनी हातको औंलाले कलम चोबेर आफ्ना भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउन गरेको निर्णय सार्वजनिक भएसँगै सिटौला मर्माहत भए । राष्ट्रियसभा सदस्यको पद सिटौलाका लागि ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ भन्ने उखान जस्तै बन्यो ।

फागुन २७ गते एकाबिहानै काङ्ग्रेस महामन्त्री गगनकुमार थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई साथैमा लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सिटौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई धोकेबाजको आरोप लगाउँदै यस्तो चुनौति दिए– ‘म तपाईंलाई चुनाव लड्दासम्मको गठबन्धनको नेकपा माओवादी केन्द्रको हैसियतमा रहनुभएका अध्यक्षसँग भेट्न आएको हुँ । तपाईंले गिरीजाप्रसादलाई त्यस बेला दिएको धोकासँगै मलाई अहिले पार्टीगतसँगै व्यक्तिगत रूपमा दिएको धोका सम्झाउन आएको हुँ । तपाईं त्यसबेला गिरिजाबाबुलाई दिएको धोकाका कारण पश्चात्ताप गरेको नाटक गरिरहनुभएको थियो । तर, त्यो पश्चात्ताप होइन, नाटक रहेछ । तपाईंले गरेको विश्वासघात र धोकाको श्रृङ्खला यत्तिमै टुङ्गियो भन्ने नठान्नु होला । तपाईंसँग आज म राष्ट्रियसभा अध्यक्षको आकांक्षी होइन, नेपाली काङ्ग्रेसको राष्ट्रियसभा संसदीय दलको नेताको हैसियतमा भेट्दै छु ।
गृहमन्त्री रहेकै बेला २०६३ असारमा माओवादी सुप्रिमो कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र अर्का नेता डा. बाबुराम भट्टराईलाई कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सवार गराएर प्रधानमन्त्री निवास बालुवाटारमा रातो कार्पेट बिछ्याएर उनीहरूको स्वागत र सत्कारमा जुटेका काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला नेपालको शान्ति प्रक्रियाका एक प्रमुख पात्र हुन् । कमरेड प्रचण्डले बेइमानी गरेको यो प्रकरणको हिसाबकिताबको मूल्य ढीलोचाँडो उनका लागि महङ्गो पर्न सक्ने विश्लेषण छ यो पंक्तिकारको ।

गृह जिल्लाका आफ्ना आलोचकलाई भित्तैमा पु¥याउने अनि योग्यता, क्षमता भएका ऊर्जाशील कार्यकर्तालाई पाखा लगाएर आफ्ना वरिपरिका झुण्ड ‘एस् म्यान’सँग मात्र रमाउने आरोप खेप्दै आएका सिटौलाको एउटा मात्र पाटो खोतलेर पूर्वाग्राही भएर अर्को पाटो बिर्सियो भने त्यो उनीमाथि अन्याय हुन जान्छ । सिटौलाले नेपालको शान्ति प्रक्रियामा पु¥याएको अतुलनीय योगदानको प्रशंसा र उच्च मूल्याङ्कन गर्नै पर्छ । राजनेताको छवि बनाइसकेका व्यक्तित्वले झुण्डमा रमाउनुभन्दा त्यस क्षेत्रकै मियो बन्नु पर्दछ भन्ने मत समेत रहेको छ कार्यकर्ताको ।

१३औं महाधिवेशनबाट शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको मूल नेतृत्व हत्याएपछि इतिहासमै सबैभन्दा कमजोर बनेको काङ्ग्रेस खस्कँदै गई आफ्नो हैसियत र शाख गुमाउन पुग्यो । काङ्ग्रेसको घरको छानो त भत्कियो नै जगसमेत भत्काउने दुस्प्रयास गरे देउवाले । पार्टी सभापतिको बन्धक बन्दै काङ्ग्रेसले कहिले उग्र बामपन्थी कम्युनिष्ट त कहिले चरम दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैशाखी टेक्न पुग्यो । आफ्नो सिद्धान्त, मूल नीति, आदर्श, विचार मूल्य–मान्यता र संस्कार त्याग्दै लक्ष्मणरेखा नै पार ग¥यो काङ्ग्रेसले । स्वेच्छाचारी सभापति देउवाले प्रहार गरेको खुकुरीको चोट अचानो बनेर सहन बाध्य भए काङ्ग्रेसका स्वाभिमानी, निष्ठावान् नेता कार्यकर्ता । देउवा सिङ्गो पार्टीको मियो नबनेर एउटा झुण्डको मुखिया मात्रै बन्दै आएका छन् ।

लोकतन्त्रको पर्याय बन्दै आएको काङ्ग्रेसको भूमिका गौण बन्दै जानुमा उसको आधारभूत सैद्धान्तिक धरातलमा आएको विचलन र मूल्य स्खलन नै हो । यसको सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता सभापति देउवाले लिनु पर्छ । त्यसो त देउवाले गरेका अक्षम्य गल्ती र दोषीमा देउवापत्नी आरजु देउवा (राणा), प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत, महेन्द्र यादव, किशोरसिंह राठोर पनि भागिदार छन् । दोषको धेरै अंशको नैतिक जिम्मेवारी आरजु भाउजूले लिनु पर्छ । सत्ताका पारखी देउवा र उनका किचन क्याबिनेटका सदस्य सत्ता बाहिर रहँदा पानीबिनाको छटपटाएको माछा जस्तै हुन्छन् भने सत्ता प्राप्त भएपछि उनमा उन्माद चढ्छ ।

देउवालाई सत्ताको मात र बात दुबै लाग्दै आएको छ । देउवा तिनै पात्र हुन् जसले तानाशाही निरङ्कुश राजा ज्ञानेन्द्रबाट निगाहाबक्स भएको अलङ्कार छातीमा भिरेर प्रजातन्त्र राजा ज्ञानेन्द्रलाई लगेर बुझाएका थिए । त्यति मात्र होइन निर्वाचन गराउन नसकेको आरोपमा राजा ज्ञानेन्द्रको बर्खास्तीमा परेका देउवालाई उनै राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीमा पुनः नियुक्त गरेपछि ‘गोरखाका राजाले न्याय दिए’ भनि ज्ञानेन्द्रका पाउमा सभक्ति कृतज्ञता चढाएका थिए । लोकतान्त्रिक पार्टीको नेताको खोल ओढेर पार्टीमा निरङ्कुश र तानाशाही हुने अभ्यास गर्दै आएका शेरबहादुर देउवा ‘इम्पेरियर न्यू क्लोथ’ को बादशाहको भूमिकामा देखिँदै आएका छन् ।

इतिहासको कालखण्डमा खरो उत्रँदै डेमोक्रेटिक धारकामे नेतृत्व गर्दै आएको देशकै सबैभन्दा जेठो पार्टी काङ्ग्रेसले आज आएर हात पसारेर अनि अञ्जुली थापेर अरूको निगाहा अनि खटनपटनमा मागी खानु पर्ने, आफ्ना कार्यकर्ताको आलो रगतले लतपतिएको माआवादी सुप्रिमो कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) को रक्तरञ्जित खुनी हातबाट ‘भिख’ लिनु पर्ने अनि १७ हजार नेपाली नागरिकको घाँटी रेटेर कमरेडले तयार गरेको रगतको आहालमा काङ्ग्रेसलाई पौडी खेलाउने, त्यस्तै गरेर काङ्ग्रेसको सिद्धान्त, दर्शनको थैली सजाएको किस्तीमा राखेर प्रचण्डका पाउमा चढाउँदै उनकै आरती उतार्दै आएका काङ्ग्रेस सभापति शेरबहादुर देउवाको जान–अन्जानमा सारथी बनेर फड्के किनाराको साक्षी बस्नु चाहिँ सिटौलाले गल्ती गरेकै हुन् भन्छन् काङ्ग्रेसका कार्यकर्ता ।

तत्कालीन संविधानसभाको निर्वाचनमा भाग लिँदै गर्दा माओवादीले देशभरि नै एउटा नारा घन्काएको थियो, ‘माओवादीलाई भोट दिऊँ, प्रचण्डलाई भावी राष्ट्रपति बनाऔं’ । नाराले पर्खाल रङ्गििएका थिए भने ब्यानर र पम्प्लेटले भित्ता भरिएका थिए । माओवादी अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) त भित्ते राष्ट्रपति बने नै उनले गुथेको भित्ते राष्ट्रपतिको ताज सिटौलालाई समेत पहि¥याइदिए भित्ते राष्ट्रियसभा अध्यक्षका रूपमा ।

(पराजुली शहीद श्रीप्रसाद पराजुली पुत्र हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here