इलाममा आफ्ना उम्मेदवार जिताउन नेताहरुको दौडधुप

८ बैशाख २०८१, शनिबार मा प्रकाशित

इलाम ।

आगाामी वैशाख १५ गते हुने उपनिर्वाचिनको मिति नजिकिएसँंगै इलाममा शीर्ष नेतााहरुको लर्को लाग्न थालेको छ । उनीहरु आफ्ना उम्मेद्वार जिताउन दौडधुपमा निस्किएका हुन् । इलाम उपनिर्वाचनलाई दल र उम्मेदवारहरुले प्रतिष्ठाको बिषय बनाउँदा बझाङ प्रदेशसभा–१ सुनसान जस्तै छ । दलहरुले सम्पूर्ण शक्ति इलाम केन्द्रित गरेका छन् ।

सबैजसो उम्मेदवारहरुले प्रतिष्ठाको बिषय बनाएको इलाम–२ मा दलहरुले सबै शक्ति परिचालन गरेका छन् । दैनिकजसो दलका शीर्ष नेताहरुको आावतजावत बढेको छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवम् रास्वपा अध्यक्ष रवि लामिछानेले इलामको निर्वाचन क्षेत्रमा पुगेर आफ्नो उम्मेद्वारलाई मत मागेका थिए । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासहितका शीर्ष नेताहरु पनि इलाममा नै रहेका छन् । इलाममा केन्द्रीय मन्त्री, पदाधिकारीदेखि सबैको दौडधूप बढेकाले चहलपहल निक्कै बढेको छ ।

उम्मेदवारहरु भौतिक रुपमा मतदाता रिझाउन हरसम्भव प्रयासमा लागिरहँदा सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै छ । एमालेले युुवापुस्ताप्रति बढ्दो आकर्षण, पहिचान र सुवास नेम्वाङको विरासत थाम्न भन्दै सुहाङलाई अघि सारेको छ ।

तीन दशकदेखि एमालेको कब्जामा रहेको यो क्षेत्रमा कसैगरी पनि जीतको निरन्तरतामा एमाले छ । एमालेले आफ्नो सबै केन्द्रीय शक्ति इलाम केन्द्रित गरेको छ । भगवती चौधरी, शिवमाथा तुम्बाहाम्फे, प्रदीप ज्ञवाली लगायतका नेताहरु मतदाता रिझाउन लाग्दा अध्यक्ष केपी शर्मा ओलीले त आफूहरु पहिचान विरोधी नभएको भन्दै मतदाता मनाउनेदेखि सुहाङलाई जिताए विकासको ठेक्का लिनेसम्मकै घोषणा गरेका छन् ।

कांग्रेसको पनि केन्द्रीय शक्ति इलाम केन्द्रित छ । डम्बर खड्कालाई जिताउन महामन्त्री शर्मा चुनावी कमाण्डर नै तोकिँदा अर्का महामन्त्री थापा पनि इलाममै छन् । शेखर कोइराला समेत आफ्ना उम्मेदवार जिताउन लागिपरेका छन् । उनले त्यहाँ निर्णायक मानिने धर्मगुरु आत्मनन्दसँग समेत भेट गर्दै यसअघि बारम्बार एमालेलाई सहयोग गरेकाले यसपटक कांग्रेसलाई सहयोग गरी हेर्न अनुरोध गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको पनि आफ्नो सबै शक्ति इलाममा केन्द्रित छ । मिलन लिम्बूलाई जिताउन सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र रमेश प्रसाईं शुरुदेखि नै इलाममा रहेका बेला मन्त्रीहरु सुमना श्रेष्ठ, डीपी अर्याल लगायत नेताहरु पनि इलाम पुगेका छन् । निशा डाँगी, तोसिमा कार्की लगायत नेताहरु पनि इलाममै छन् । पार्टी सभापति तथा गृहमन्त्री लामिछाने पनि इलाम पुगेर मत मागेका छन् । वाम गठबन्धनतर्फका साझा उम्मेदवार बन्न नसकेपछि अहिले आफ्नै उम्मेदवार जिताउन एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लागिपरेका छन् ।

त्यस्तै पहिचानवादीका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको प्रचारमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले पनि इलाम पुगेर मत मागेका छन् । त्यसैगरी लक्ष्मी गुरुङलाई जिताउन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही पनि इलाम पुगेर मत मागिरहेका छन् ।

इलाम–२ मा कसले मार्ला बाजी ?

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनबाट संसद् प्रवेश गर्ने रणनीतिका साथ दलहरू चुनावी मैदानमा होमिएका छन् । इलाममा मतदाता फकाउन दलका नेताहरु लागिपरेका छन् । नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) बाट जीतबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू लगायतका नेताहरु चुनावी मैदानमा उत्रिएर मत मागिरहेका छन् ।

उनीहरूले चुनाव जीत्ने रणनीति आ–आफ्नो ढंगले बनाइरहेको दाबी गरेको नेताहरूले बताएका छन् । इलाम–२ बाट निर्वाचित संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा आफ्नो जीत सुनिश्चित भएको नेपाली कांग्रेसका उम्मेदवार खड्काले बताए । इलामको मुख्य स्रोतका रूपमा रहेको अकबरे, आलु, ओलन, अम्रिसो, अलैंची, अदुवा र चियालाई प्रवद्र्धन र बजारीकरण आफ्नो पहिलो एजेन्डा भएको खड्काले बताएका छन् । उनीे गत निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाएर दोस्रो भएका थिए । त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जीत निश्चित रहेको दावी गरेका छन् ।

त्यस्तै सत्ता साझेदार रास्वपाका उम्मेदवार मिलन लिम्बूले पनि आफ्नो जीत निश्चित भएको बताएका छन् । जनताले परिर्वतन चाहेको र त्यो आफ्नो पार्टीले मात्रै दिन सक्ने भएकाले यस पटक आफूले जित्नेमा ढुक्क रहेको उनले बताए । त्यस्तै, पहिचान पक्षधरहरूका तर्फबाट थेगिमले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । उनले अन्य दलहरु प्हिचानको पक्षमा नरहेकाले यस पटक इलामबासीले आफूलाई जिताउनेमा ढुक्क रहेको बताए ।

गत निर्वाचनमा कसको मत कति ?

२०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेका कांग्रेसका उम्मेदवार खड्का ११४ मतलले पराजित भएका थिए ।

त्यस्तै यस क्षेत्रमा रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए भने मंगोल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बूले १३६३, राष्ट्रिय जनमुक्तिका खड्गप्रसाद पालुङ्वाले १२७२, जसपाका यमप्रसाद लिम्बूले ७२४, राप्रपाका गणेशप्रसाद दुलालले ५,१० मत प्राप्त गरेका थिए ।

त्यसैगरी समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । त्यस्तै, राप्रपाले ११९१ मत, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here