शिक्षित बर्गनै खाँदैनन् हात्तीपाइले रोगबिरुद्धको औषधि

0
18

झापा ।

हात्तीपाइले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान शुरु भएको १३ वर्ष भयो । सन् २०१२ देखि नै झापा जिल्लामा हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाउने अभियान शुरुवात भएको हो । तर, हालसम्म झापा हात्तीपाइले रोगमुक्त जिल्ला हुन सकेको छैन ।

यसो हुनुको प्रमुख कारण शिक्षित वर्गले नियमित औषधि सेवन नगर्नु रहेको बताइन्छ । अभियान अन्तरगत हात्तीपाइले बिरूद्धको औषधि खाएको भए ६ पटकसम्म सञ्चालन भएर यो अभियान स्थगित हुनु पर्ने थियो तर सबै नागरिकले यस रोगको औषधि नखाएकै कारण १३ वर्षसम्म अभियान सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कोशी प्रदेशको सबैभन्दा शिक्षित जिल्लाका रुपमा चिनिएको झापा औषधि सेवनको सन्दर्भमा भने सबैभन्दा पछाडि परेको छ । प्रदेशका १३ जिल्लामा हात्तीपाइले रोग उन्मुलन भइसक्दा समेत झापामा यो रोगको संक्रमित फेला परेसंगै सरकारले यो वर्ष अन्तिमपटक नारा दिएर झापासहित देश भरका सातवटा जिल्लामा यो अभियान सञ्चालन गरिरहेको छ । गत वैशाख १६ गतेबाट शुरु भएको अभियान वैशाख २५ गतेसम्म सञ्चालन हुँदैछ । जसमा झापाका १५ वटै पालिकामा औषधि खुवाउने कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

अभियान अन्तरगत अहिले औषधि खुवाउन झापाका १५ वटै स्थानीय तहका टोल–टोलमा स्वास्थ्यकर्मी सहित महिला स्वास्थ्य स्वयसेविका परिचालित छन् । उनीहरुले घर–घरमा पुगेर हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइरहेका छन् । तर, गलत बुझाइका कारण अधिकांशले हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको हो ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउनका लागि बिर्तामोड –१ मा खटिएकी महिला स्वास्थ्य स्वयसेविका निरु भेटुवाल सापकोटाका अनुसार अधिकांश शिक्षित समुदायले यो औषधि सेवनका क्रममा सरकारले परीक्षणका लागि पठाएको औषधि नखाने बताउने गरेका छन् । तर, उनीहरुलाई सम्झाइ– बुझाइ गरेपछि अन्कनाउँदै औषधि खाने गरेको सापकोटाको भनाइ छ । कतिपयले औषधि यसअघि नै खाएको भन्दै ढाट्ने गरेका छन् भने कतिपयले रिंगटा लाग्ने, वान्ता हुने जस्ता बहाना देखाउँदै औषधि खान हिच्किचाउने गरेको उनको भनाइ छ ।

बिर्तामोड वडा नं. –१ मा खटिएका दुई स्वास्थ्यकर्मीसहित दुई जना महिला स्वास्थ्य स्वयम् सेविकाले ३६ वटा टोलमा अहिले औषधि सेवन गराइरहेका छन् । दुई–दुई जनाको टोली बनाएर उनीहरुले यो वडाका ३६ वटा टोलमा औषधि सेवन गराउने गरेको बताइन्छ ।

बिर्तामोड– १ मा चार वटा टोलीले अहिले नियमित औषधि सेवन गराउँदै आएका छन् । अतिथि सदन टोलीमा भेटिएका महिला स्वास्थ्य स्वयम्सेविका निरा भेटवाल सापकोटा, सृजना कार्की र अन्य दुई स्वास्थ्यकर्मी जेश्मीन प्रविन र जेनिसा विकले औषधि सेवन गराउने क्रममा शिक्षित समुदायका व्यक्ति औषधि खानका लागि सहजै तयार नहुने बताए । अधिकांश सम्पन्न र शिक्षित देखिने परिवारमा औषधि खुवाउन समस्या रहेको बताएका छन् । कतिपय घरमा औषधि सेवनका लागि पुगेका हामीलाई देखेर घरभित्रै बस्ने र कुकुर छाडिदिने जस्तो समस्या झेल्नु परेको स्वास्थ्यकर्मी जेश्मिनको भनाइ छ ।

धनी र शिक्षित घरमा यो समस्या देखिएको हो । उनले भनिन्– अन्य सामान्य र मध्यमवर्गीय परिवारमा औषधि खुवाउन आएको भनेपछि सहजै खाने तर शिक्षित समुदायले औषधि सहजै सेवन मान्दैनन् ।
अहिले अभियान अन्तर्गत दिनहुँ तीन सय बढीलाई औषधि सेवन गराउँदै आएको बताइन्छ । पहिलो दिन तीन सय ६१ जनाले औषधि सेवन गरेका थिए ।

यो क्रम दिनहुँ बढ्दै गएको महिला स्वास्थ्य स्वयमसेविका निराको भनाइ छ । विद्यालयमा अध्ययनरत् बालबालिकालाई औषधि खुवाउन शिक्षकको सहयोगमा सहज भए पनि टिनएज माथिका युवालाई औषधि खुवाउन समस्या हुने गरेको उनको भनाइ छ । अझ हात्तीपाइले रोगका विषयमा शिक्षित युवाले सहजै औषधि खान नमान्ने गरेको उनको भनाइ छ ।

झापाका १५ वटा पालिकामा नौ लाख ६२ हजार ८ सय ६१ जनालाई औषधि सेवन गराइँदैछ । अभियान सफल बनाउन ८० प्रतिशत बढी मानिसलाई यो पटक औषधि सेवन गराउनु पर्ने छ । झापामा गत वर्ष औषधि सेवनदर ७८ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here