‘बजेट बढी महत्वकाङ्क्षी भयो, कार्यान्वयनमा चुनौती’

0
7

काठमाडौँ,

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बजेट बढी महत्वकाङ्क्षी भएको भन्दै कार्यान्वयनमा चुनौती देखिएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद पूजा चौधरीले बजेट बढी महत्वकाङ्क्षी भएको टिप्पणी गर्नुभयो । बढ्दो महँगीमा कर्मचारी तलब वृद्धि हुनुपर्ने भन्दै उहाँले तलब वृद्धिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तुलप्रसाद विश्वकर्माले पहिलेको तुलनामा यस पटकको बजेटले जनतामा केही आशा जगाउँदै नयाँपन ल्याएको टिप्पणी गर्नुभयो । आगामी वर्षलाई कृषि दशक भनिए पनि कृषिमा बजेट घटेर आएको उहाँको भनाइ छ । उहाँका अनुसार बजेटले वैदेशिक ऋणलाई घटाउँदै लैजानुपर्ने छ ।

सांसद अन्जान शाक्यले समग्रमा बजेट सन्तुलित र यर्थाथपरक रहेको टिप्पणी गर्नुभयो । “निजी क्षेत्रका लागि आवश्यक रकम कसरी जुटाउने?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “विभिन्न नीतिगत कारण बैँक, वित्तीय संस्थाले निजी क्षेत्रलाई कर्जा विस्तार गर्न नसकेको अवस्था छ ।”

सांसद नरबहादुर विष्टले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती गर्ने प्रतिबद्धतालाई कानुनी रुपमा लागु गर्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद पदमबहादुर परियारले समग्रमा बजेटले सबै क्षेत्रलाई समान रुपमा समावेश गरेको टिप्पणी गर्नुभयो । सांसदहरु सोनाम गेल्जेङ शर्पा र गोमादेवी तिमिल्सीनालगायतले बजेट जनताकेन्द्रित भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here