बेसारप्रतिको आकर्षण

0
13

धरान उपमहानगरपालिकाका किसान व्यवसायिक रुपले बेसार खेतीतर्फ आकर्षित भएको अन्य किसानका लागि प्रेरणा हुनसक्छ । यसको खेतीबाट मनग्य आम्दानी गर्न थालेका त्यहाँका किसानको भनाइ र यसको गुणका कारणले पनि यसप्रतिको आकर्षण बढ्नुपर्छ । बेसार मूलतः तरकारीमा प्रयोग गरिने एउटा मसला हो । यद्यपि यसका गुणहरु अनगिन्ती छन् । नेपालमा सदियौंदेखि बेसार भान्साको अनिवार्य वस्तु हुँदै आएको छ । हाम्रा ऋषिमुनिहरुले यसको विशेषताका आधारमा बेसारलाई औषधिका रुपमा प्रयोग गर्दै आएका थिए । त्यसकै उदाहरण हो चिकित्साशास्त्रको आयुर्वेद पद्धतिमा बेसारलाई बहुपयोगी वस्तु मानेर औषधिमा प्रयोग गरिन्छ ।

वानस्पतिक नाम जिन्जिवेरेसी अहिले दक्षिण तथा दक्षिण पूर्वी एसियाको मात्र अनिवार्य कन्दमूल नभएर विश्वका सम्पूर्ण देशहरुमा समेत लोकप्रिय हुन थालेको छ । यसमा हुने ‘कुरकुमिन’ नाम जैविक रसायनका कारण यो पहेंलो देखिन्छ, जसमा विभिन्न औषधीय तत्वहरु पाइन्छन् । बेसारमा भिटामिन ए, बी, सी र खाद्य ऊर्जा हुन्छ भन्ने विज्ञानसिद्ध तथ्य हो । त्यस्तै कीटाणु मार्ने शक्ति भएको बेसार जमिनमुनि फल्ने बहुपयोगी उत्पादन हो । बेसारको गुणका बारेमा खोज अनुसन्धान भई एलोपेथिक चिकित्सा पद्धतिमा समेत सामेल गरिएको छ । यसमा दाद, लुतो, कुष्ठरोग र विष नष्ट गर्ने शक्ति भएका कारण आधुनिक चिकित्सा विज्ञानमा यो अनिवार्य भइसकेको छ ।

सौन्दर्य प्रशाधनका रुपमा समेत प्रयोग भइरहेको बेसारको अहिले हुन थालेको व्यवसायिक खेतीप्रति धरानका मात्र होइनन् अन्य कतिपय पहाडी जिल्लामा समेत आकर्षण बढ्न थालेको सन्दर्भले किसानको आर्थिक जीवनमा परिवर्तन आउने निश्चित छ । नगदेबालीका रुपमा लिइएको बेसार तराईका किसानहरुले समेत व्यावसायिक रुपमा खेती गर्ने हो भने यसले आयआर्जन र आत्मनिर्भरतामा बल पु¥याउँछ । तत्काल नबिग्रिने र नगदेबाली भएकाले धरानका किसान बेसारखेतीतर्फ आकर्षित भएका हुन् । त्यसकै खेतीबाट थोरै क्षेत्रमा मनग्य आम्दानी गर्दै आएका मेहनती किसानको आयको प्रमुख स्रोत बन्न सक्यो भने युवा जनशक्तिको पलायन पनि रोकिन सक्छ । यस्तो अवस्था देशको पनि हितमा हुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here