बिर्तामोड, झापा मेचीनगर –१० टीमाई भ्यालीका उत्तम थापाको हङकङमा निधन भएको छ । भदौ १७ गते पिन्स मार्गेट हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो ।
अन्दाजी ४२ वर्षका थापा चीनबाट गैरकानूनी रुपमा हङकङ प्रवेश गर्ने क्रममा दुर्घटनामा परेर गम्भीर घाइते भएको बताइएको छ । उनी डुङ्गाबाट झरेर घाइते भएका थिए ।
चार महिनासम्म उनको हङकङस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई आगामी भदौ २९ गते एक जना नर्सको सेवा सहित हाल हङकङमा रहेका नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेको टोलीले स्ट्रेचरमा राखेर नेपाल ल्याउने तयारी गरिरहेको बेला उनको निधन भएको हो ।
उपचारको क्रममा करिव १५ लाख हङकङ डलर अर्थात नेपाली दुई करोड ७० लाख रुपैयाँ खर्च भएको र सो रकम समाजसेवी पुष्पा गुरुङ लगायतको पहलमा मिनाह गरिएको अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।
हाल उनको शव नेपाल ल्याउन समस्या देखिएको छ । ६० हजार हङकङ डलर अर्थात दश लाख ८० हजार रुपैयाँ शव ल्याउन लाग्ने भएकाले खर्च जुटाउन र आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि समस्या देखिएको हो । हङकङवासी नेपालीले थापाको शव नेपाल लाने कार्यमा आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अपिल गरेका छन् । उनको शव नेपाल पठाउनका लागि चन्दा संकलन भइरहेको सुब्बाले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं.१ बाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले सरकारसँगको समन्वयमा थापालाई नेपाल झिकाएर थप उपचार गर्ने पहल गरिरहेका बेला उनको निधन भएको बताइएको छ ।
स्रोतका अनुसार हाल हङकङमा रहेका कांग्रेस झापाका सभापति थेबेसहितको टोलीले थापाको शव भदौ २९ गते नेपाल ल्याउने तयारी भएको छ । थापाको उपचार र शव नेपाल पठाउने कार्यमा हङकङ झापा मञ्च, कांग्रेस निकट जनसम्पर्क समिति हङकङ, हङकङका लागि महावाणिज्यदूत उदयबहादुर राना, वाणिज्यदूत सतिशकुमार गुरुङ लगायतले सहयोग गरेको बताइएको छ ।
उपचारको क्रममा मेचीनगर –६ काँकरभिट्टा घर भई हाल हङकङ बस्दै आएकी पुष्पा गुरुङले थापाको लामो समयसम्म हेरचाह र सेवा गरेको बताइएको छ । त्यस्तै हङकङ तमू समाज तथा अध्यक्ष कोमल गुरुङ, हङकङ मगर संघ, दृष्टि काउन्सिलर अरुणा गुरुङ, हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, प्रदीप थापा, रीता गुरुङ, ताहिर खान, सञ्जीव लिङ्देन, नवीन सुहाङ लगायतले विशेष सहयोग पु¥याएको कांग्रेस झापाका सभापति थेबेले जानकारी दिएका छन् ।