सुरुङ्गा ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई देशभरका महिला जनप्रतिनिधिहरुबाट छानिने ‘शी लिड्स आइकन’ मा छनौट भएकी छन् ।
उपप्रमुख प्रसाईँ उत्कृष्ट २७ को छनौटमा परेकी हुन् । महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर विमिन नेपाल’ ले सञ्चालन गरेको ‘शी लिड्स आइकन–२०८१’ को उत्कृष्ट २७ मा पर्न सफल भएकी हुन् । ‘हामी रोज्दैछौं हाम्रा प्रतिनिधि’ भन्ने नाराका साथ देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्व सामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ छनोट गरिएको हो ।
‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा पहिलो चरणको छनौटमा परेका २७ मध्ये उत्कृष्ट ३ जना कार्यक्रमको अन्तिम चरणको छनोटमा पर्ने जनाइएको छ । महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको असल कर्मलाई सञ्चार गर्ने कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको र त्यसमध्ये २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागि छनोट गरिएको कल्प इम्पावर विमिन नेपालकी अध्यक्ष पूजा कोइरालाले बताइन् ।
छानिएका देशभरका प्रमुख तथा उपप्रमुख महिला जनप्रतिनिधिहरूमा रेगीना भट्टराई प्रसाई उपप्रमुख दमक नगरपालिका (झापा) सहित विमला कुमारी शाही, उपाध्यक्ष तुर्माखाँद गाउँपालिका, अछाम, सीता थापा उपाध्यक्ष गौमुल गाउँपालिका, बाजुरा, धाना धामी उपाध्यक्ष सिगास गाउँपालिका,बैतडी, सरस्वती दर्लामी चिदी अध्यक्ष बगनासकाली गाउँपालिका, पाल्पा, विमला अर्याल प्रमुख सुनवल नगरपालिका, नवलपरासी, भुपेन्द्रा बुढा उपाध्यक्ष पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, सीता गिरी उपाध्यक्ष धुर्कोट गाउँपालिका, गुल्मी, सरिता खड्का उपाध्यक्ष मदाने गाउँपालिका, गुल्मी, सावित्रा देवी अर्याल, उपप्रमुख बुटवल उपमहानगरपालिका, रुपन्देही, गीता आचार्य उपप्रमुख रोल्पा नगरपालिका, रोल्पा, ममता महतो उपाध्यक्ष पटेर्वा सुगौली गाउँपालिका,पर्सा, फुल कुमारी सिंह उपाध्यक्ष बटेश्वर गाउँपालिका, धनुषा, सविता अर्याल उपाध्यक्ष सिद्धलेक गाउँपालिका, धादिङ र बाल कुमारी कार्की थापा उपप्रमुख रामेछाप नगरपालिका, रामेछाप रहेका छन् ।
त्यसैगरी, तारा राना तिमल्सिना उपाध्यक्ष बेथानचोक गाउँपालिका, काभ्रेपलाञ्चोक, विमला सापकोटा (दाहाल) उपप्रमुख, बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक, गण्डकी थापा अधिकारी अध्यक्ष बडिगाड गाउँपालिका, बागलुङ, दिवा कुमारी तिलिजा पुन उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका ,म्याग्दी, रीता देवकोटा उपाध्यक्ष सिरानचोक गाउँपालिका, गोरखा, गीता देवी तिम्सिना गौतम उपाध्यक्ष मेन्छयायेम गाउँपालिका, तेह्रथुम, मीना कुमारी खतिवडा पौडेल उपप्रमुख उर्लाबारी नगरपालिका, मोरङ, आशा शिवाकोटी उपप्रमुख कनकाई नगरपालिका, झापा, अल्किना बम उपाध्यक्ष पचालझरना गाउँपालिका, कालिकोट, सनसिल्ता वली डिसी उपाध्यक्ष कालिमाटी गाउँपालिका, सल्यान, तप्ता थापा, उपप्रमुख नारायण नगरपालिका, दैलेख र मञ्जु कुमारी शर्मा पाण्डे, उपाध्यक्ष महाबु गाउँपालिका दैलेख रहेका छन् ।
छनौट भएका २७ महिला जनप्रतिनिधिमध्ये रुकुम पूर्व जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिकाका उपप्रमुख भूपेन्द्रा बुढा मगरको निधन भएकाले अब २६ प्रतिष्पर्धी मात्र रहेका छन् । पहिलो चरणको प्रतिष्पर्धाका लागि कोशी प्रदेशबाट २४ जना, मधेश प्रदेशबाट १४ जना, बागमती प्रदेशबाट १२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट ३६ जना, कर्णाली प्रदेशबाट १६ जना र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताए ।
राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चड्ड़ाको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरुलाई जनमतका लागि छनोट गरेको हो । सूचीकृत भएका २७ महिला जनप्रतिनिधिहरूमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने कार्यक्रमको प्रस्तोता मिस नेपाल २००५ सुगारिका केसी हुनेछिन् ।
अब अन्तिम तीनको छनोट मंसिरसम्ममा हुने संस्थाले जनाएको छ । नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत यो कार्यक्रम अघि बढेको जनाइएको छ । देशभरका महिला जनप्रतिनिधिहरूको बिचमा प्रतिस्पर्धी र समन्वयकारी भावनाको विकास गराई समाज विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ आयोजित कार्यक्रमले नेपाली महिला जनप्रतिनिधिहरूको विगत, वर्तमान र भविष्यको ऊर्जाशील कर्मगाथा हेरेर विश्वभरका महिलाहरूमा प्रेरणा र हौसला पुग्ने उद्देश्य कार्यक्रमले राखेको अध्यक्ष कोइराला बताउँछिन् ।
रेगिना भट्टराई (प्रसाईं) नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेद, दमन, अपहेलना र अमानवीयता समेतलाई सामना गर्दै राजनैतिक क्षेत्रमा उदाएर नेतृत्वदायी भुमिकामा पुग्न सफल भएकी जनप्रतिनिधि हुन् । उनको परिवार खेती किसानीमा निर्भर थियो । हजुरबुबा राजनीतिज्ञ थिए र समाजमा शोषण, दमन र पीडामा परेका मानिसहरूलाई सहजीकरण गरेर सहयोग गर्थे । आफ्नो लागि राजनीतिको लक्ष्य हजुरबुबाको प्रेरणाले बनेको बताउँछिन् । उनी सामाजिक कामसँगै व्यवसायमा पनि संलग्न छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखको पदमा उपविजेता हुँदै २०७९ मा निर्वाचित भएकी रेगिना शिक्षा क्षेत्रमा सदैव अग्रणी स्थानमा रहेकी छन् । उनी हाल पीएचडी विद्यार्थी रूपमा आफ्नो अध्ययनलाई अघि बढाइरहेकी छन् ।
स्वास्थ्य क्षेत्रमा रेगिनाले सुधारका ठोस कार्यक्रम अघि बढाएकी छन् । उनले आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याब स्थापना, दमकका प्रजनन उमेर समूहका सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र (क) वर्गको अपाङ्गता भएका नगरवासीलाई घरघरमा गएर स्वास्थ्य विशेषज्ञ सेवा र प्रत्येक ३ महिनामा स्वास्थ्य सहायता सामग्रीहरू प्रदान गर्ने व्यवस्था गरेकी छन् भने उनकै पहलमा वडा नं. १० का ३४ घरपरिवारलाई धनीपूर्जा वितरण गरिएको छ । प्रत्येक वडामा महिलाहरूको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर सम्पन्न गरिएको छ ।
दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईं प्रदेश १ को प्रदेश समन्वय परिषद्मा मनोनित भएकी छन् । मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशका स्थानीय तहका जनप्रतिनिधि सदस्य रहने परिषद्मा झापाबाट दमक नगर उपप्रमुख भट्टराई मनोनित भएकी छिन् । प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ । परिषद्मा हरेक जिल्लाबाट एकजना स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका संयोजक वा सहसंयोजक मनोनित हुनेछन् । परिषद्मा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहन्छन् । समन्वय समितिले प्रदेश सरकार र स्थानीय सरकारबीच विकासका कामहरूमा साझेदारी गर्न, बजेट कार्यान्वयन गराउन र नीति निर्माण गराउन आवश्यक सुझाव लिने र दिने भूमिका निर्वाह गर्छ ।