कनकाई–विर्ता–अर्जुन ऊर्जा कम्पनीको सभा

0
82

सुरुङ्गा ।

कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड सुरुङ्गाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको सभामा कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्पनीका संस्थापक शेयरधनीको रूपमा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकासहित ६ सय ६७ जना रहेका छन् ।

कम्पनीद्वारा ४० मेट्रिक टनको ड्राजेष्टर निर्माण भएको, सेग्रिगेसन सेड निर्माण र मेसिन जडान गरिएको, जेनेटर सेड निर्माण गरी जडान गरिएको, बायोग्याँस उत्पादनको लागि सेड निर्माण गरी सबै मेसिन जडान गरिएको, विद्युतीकरणतर्फ ट्रान्स्फर्मर जडान गरिएको, कार्यालय भवन निर्माण गरी सञ्चालनमा आइरहेको तथा कम्पनीको उद्देश्य अनुसार कम्पोष्ट मल र सी.एन.जी. ग्याँस उत्पादन भैरहेको सञ्चालक समिति अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

त्यसरी नै पेभर्स मेसिन जडान गरी उत्पादन कार्य शुरु गरिएको उनले बताए । स्थापनाकालमा तीन वटा नगरपालिका संलग्न भएपश्चात शेयरधनी सदस्यहरूको संख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष तिम्सिनाले बताए । उनले कम्पनीलाई सक्षम, सफल व्यवस्थित ढंगमा अगाडि बढाउन स्थानीय पालिका र संस्थापक शेयरधनीको प्रमुख भूमिका रहने बताए । विगतमा कम्पनीको व्यावसायिक क्रियाकलाप तथा उपलब्धीमाथि जनस्तरबाट जिज्ञासा, गुनासा र आलोचना भएता पनि सबै पक्षका सल्लाहसुझावलाई स्वीकार्दै कम्पनी अघि बढ्ने अध्यक्ष तिम्सिनाले बताए ।

आवश्यक बजेटको अभाव, विभिन्न सरकारी निकायवीचमा उचित समन्वयको अभाव, आर्थिक मन्दी लगायतका कारण ढिला हुन गएको तर कम्पनीमा कुनै पनि हिसाबकिता तलमाथि नभएको अध्यक्ष तिम्सिनाले बताए । उनले चित्त नबुझे कम्पनीको सम्पूर्ण खातापाता र खरिदप्रक्रिया पारदर्शी भएकाले जो कोहीले हेर्न र अध्ययन गर्न पाउने उनको भनाइ थियो ।

कार्यक्रममा कनकाई नगरपालिका प्रमुख पोखरेल, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा र अर्जुनधारा नगरपालिका प्रमुख बलदेव गोम्देनले स्थानीय, प्रादेशिक तथा सङ्घीय बजेटबाट कम्पनीको बाँकी काम पुरा गरी ऊर्जा कम्पनी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । उनीहरूको भनाइ थियो, ‘शुरु गरेको काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ तीनवटै नगरका मेयरहरूको प्रतिबद्धतापछि सञ्चालकहरू पनि ऊर्जा परियोजना सम्पन्न हुनेमा आशावादी देखिएका छन् ।

विगतका वर्षहरूमा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ र औद्योगिक, व्यापारिक तथा निर्माण क्षेत्रमा पारेको प्रतिकुल प्रभाव लगायत अन्य विविध कारणले परियोजनामा ढिलाइ भएको प्रतिवेदनमा स्वीकारिएको छ । शेयर रकम (६३७ जनाको) ४ करोड १ लाख ८० हजार, अग्रिम शेयर (२७ जनाको) ४६ लाख २५ हजार र अग्रिम शेयर ३ पालिकातर्फ ६ करोड २० लाख ८३ हजार २ सय गरी शेयरवापतको १० करोड ६८ लाख ८८ हजार २ सय रुपैयाँ र जम्मा अनुदान ४१ लाख ६१ हजार १ सय ९९ रुपैयाँ रहेको छ ।

खर्च तर्फ जग्गा, जग्गा विकास, पर्खाल, मोटरसाइकल र अन्य औजारमा १ करोड ७४ लाख ४ हजार ३ सय ८३ रुपैयाँ ३० पैसा, कार्यालय भवन निर्माण, फर्निसिङ तथा मर्मतमा १ करोड १६ लाख २४ हजार ७ सय १८ रुपैयाँ १२ पैसा, मेसिनहरू ढुवानीमा ९३ लाख ९२ हजार ६ सय १८ रुपैयाँ ८९ पैसा, डाइजेष्टर निर्माणमा ९५ लाख ८३ हजार २ सय ११ रुपैयाँ ८९ पैसा, डाइजेष्टर मेसिनमा १ लाख ७९ हजार ३ सय ५८ रुपैयाँ ४ पैसा, ट्रान्सफरमरमा १३ लाख ९१ हजार ९ सय ४ रुपैयाँ, जि.जि.ई. प्लान्ट एण्ड मेसिनरीमा ६ करोड १७ लाख ८१ हजार ७ सय ८९ रुपैयाँ १० पैसा, स्टेपलाइजरमा १४ लाख ६० हजार १ सय ७७ पैसा, प्युरिफिकेसन मेसिनमा ६ लाख १२ हजार ७ सय ६९ रुपैयाँ ९१ पैसा, पि.पि. पाइपमा ११ लाख १४ हजार ६ सय ४४ रुपैयाँ, जडान हुन बाँकी अन्य सामानहरु २ करोड ८२ लाख ४६ हजार ९ सय ८५ रुपैयाँ ५८ पैसा, पूर्व सञ्चालन खर्च ३ करोड ३५ लाख १४ हजार ८ सय ९२ रुपैयाँ ५० पैसा, ¥यापिड कोड १ लाख ११ हजार ४ सय, सापटी पाउनु पर्ने ७ लाख २७ हजार ७ सय ४८ रुपैयाँ ७४ पैसा, , पाउनु पर्ने (भ्याट, बैंक मार्जिन र पेश्कीमा १ करोड ९ लाख ९५ हजार २ सय १३ रुपैयाँ ९ र नगद बैंकमा २२ लाख ९४ हजार ९ सय ७५ रुपैयाँ ८७ पैसा गरी जम्मा सम्पति १९ करोड ८४ लाख ३९ हजार ७ सय ७९ रुपैयाँ ३७ पैसा रहेको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

सञ्चालक समितिमा भएको हेरफेर र सोको कारणसम्बन्धमा शेयर सदस्यबाट उठेको प्रश्नको अध्यक्ष तिम्सिनाले जवाफ दिएका थिए । कम्पनीको नियमावलीको नियम ३१ बमोजिम कम्पनीमा ९ जनाको सञ्चालक समिति रहने व्यवस्था रहेको, संस्थापक समूहतर्फबाट मनोनित प्रक्रिया वा आपसी सम्झौता वा निर्वाचनको प्रक्रियाद्वारा ६ जना र शेयरधनीको समूह सर्वसाधरण ख वा कर्मचारी “ग” को तर्फबाट मनोनित वा निर्वाचित २ (दुई) र स्वतन्त्र सञ्चालक १ (एक) जना नियुक्त भई सञ्चालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था गरिएकोमा हाल कम्पनीमा दोस्रो साधारणसभाले नियमावली संशोधन गरी ११ जना सञ्चालक समितिबाट ९ जना कायम गरेको र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृत दिएको हुँदा सञ्चालक समिति परिवर्तन गर्नु परेको अध्यक्ष तिम्सिनाले स्पष्टीकरण दिएका थिए ।

तेस्रो साधारणसभाको हलबाट मिनाल तिम्सिना र मदनगोपाल सुब्बा, विर्तामोड नगरपालिकाबाट उमेश राउत (वार्ड सदस्य) वार्ड नं. ४), कनकाई नगरपालिकाबाट बलराम राई (वार्ड अध्यक्ष वार्ड नं. २) र अर्जुनधारा नगरपालिकाबाट गोविन्द खतिवडा (वार्ड नं. ७ वार्ड अध्यक्ष) सञ्चालकमा मनोनयन भएका छन् । बाँकी १ जना स्वतन्त्र विज्ञ पछि चयन गरिने सहमति भएको छ । सञ्चालक समितिको बैठक बसी अध्यक्ष चयन गरिने बताइएको छ ।

सभामा आ.व. २०७८/७९, आ.व. २०७९/८० र आ. व.२०८०/८१ को कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत लेखापरीक्षकबाट पेश गरिएको प्रतिवेदन तथा सञ्चालक समितिको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरिएको सञ्चालक समितिका पूर्व सदस्य सुवास भट्टराईले जानकारी दिए ।

कार्यक्रममा कनकाई नगरका पूर्व उपप्रमुख मञ्जु प्रसाईं, चेम्बर अफ कमर्श झापा अध्यक्ष ओम बिमली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, अर्जुनधारा नगरका उपप्रमुख खड्गमाया पराजुली लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here