सडक मार्गबाट नै व्यापार व्यवसाय लगायत मानवीय गतिविधिहरू सहज हुने भएकाले सडकलाई सभ्यता र समृद्धिको प्रमुख आधार पनि मानिन्छ । सडक पूर्वाधारको विकाससँगै सडक सुरक्षा राज्यको प्रमुख चुनौतीको विषय बन्दै आएको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकमा साँघुरा र मापदण्ड बिना निर्माण गरिएका सडकहरू सवारी दुर्घटनाका प्रमुख कारण बनेका छन् ।
भयावह अवस्था छ
महाविपत्तिको त्रासदी सृष्टि गर्दै सडक दुर्घटना निरन्तर बढ्दो छ हाम्रो देशमा । नेपालमा त्यस्तो कुनै दिन छैन जुन दिन सडक दुर्घटना नभएको होस् । सामान्य मृत्यु, आत्महत्या जस्तै सडक दुर्घटना पनि भयावह अवस्थामा निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा भयावहरूपमा सडक दुर्घटना बढ्दै गएको कुरा विश्लेषण गर्दा यो नियन्त्रण र न्यूनीकरण गर्न अप्ठ्यारो हुने देखिन्छ । परिवारका प्रियजनको अल्पायुमै, अकालमा विभत्स मृत्युु हुनु भनेको परिवार माथिको बज्रपात हो भने राष्ट्रको ठूलो क्षति हो । सडक पूर्वाधार मुलुकको समृद्धिको मुख्य आधार हो । सभ्यताको शुरुवातसँगै सडक पूर्वाधारले मानव जातिको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सवारी दुर्घटनामा वार्षिक १३ लाखभन्दा बढीले ज्यान गुमाउने गरेका छन् भने दुईदेखि पाँच करोड मानिसहरू घाइते हुने गरेका छन् ।
दोष कसको ?
हामी एका आपसमा दोष थोपर्छौं । वास्तवमा एक पक्षको कमजोरीबाट मात्र सडक दुर्घटना हुने होइन । सडक तथा पुलबाट बाहिर खोँच, नदीमा खस्ने, गाडी जुध्ने, अनियन्त्रित भई गाडी पल्टने, सडकयात्री सडक पार गर्दा गाडीले ठक्कर दिने लगायतले सडक दुर्घटना बढिरहेका छन् । फुर्सद कसैलाई छैन । सबै हतारमा हुन्छन् । कोही पर्खन चाहँदैन । यही नपर्खने जिताहा मनोवृत्तिका कारण सडक दुर्घटना हुने गरेको छ । नेपालमा सवारी दुर्घटना हुनुमा कुनै एक कारणमात्र जिम्मेवार देखिँदैन । सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्ड विपरीत बनेका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभाव, सवारी साधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापरवाही सडक दुर्घटना निम्त्याउने प्रमुख कारण बनेका छन् । सवारी दुर्घटना दिन प्रतिदिन वृद्धि हुँदै गए पनि यसलाई न्यूनीकरण गर्ने प्रयास निकै कमजोर देखिएको छ ।
हामीसँग भएका नीति, नियम र कार्ययोजनाहरू कार्यान्वयन हुन सकेका छैनन् र सवारी सुरक्षा सम्बन्धी दीर्घकालीन रणनीतिको खाँचो रहेको छ । अबको २५ वर्षमा नेपालमा कति सवारीसाधन भित्रिने छन् र तिनीहरूको लागि कस्तो सडक पूर्वाधारको निर्माण गर्ने, सावारी व्यवस्थापन कुन निकाय मार्फत कसरी गर्ने, यसका लागि जनशक्ति र पूर्वाधार कस्तो हुनुपर्ने, सडक प्रयोगकर्ताहरूलाई सडक सुरक्षा सम्बन्धी कसरी सचेतना प्रदान गर्ने लगायतका सवालमा हामीसँग स्पष्ट कार्यदिशा भएको पाइँदैन र केही कार्ययोजना भइहाले पनि कार्यान्वयनको पक्ष अत्यन्त फितलो रहेको छ ।हरेक दिन सडक दुर्घटनामा कसै न कसैले ज्यान गुमाइरहेकै छ । तीतो सत्य के हो भने दुर्घटना भएका बेला हामी सबै शोकसन्तप्त हुन्छौँ, तर केही समयपछि त्यसलाई बिर्सदै जान्छौं । सडक यातायातका साधनको दुर्घटनामा दैनिक सात जनाले ज्यान गुमाउने गरेको सरकारी तथ्याङ्क छ ।
दुर्घटनाले ज्यानमात्रै लिँदैन, घाइते बनाएर जीवनभर कामै गर्न नसक्ने पनि बनाउँछ । दुर्घटना व्यहोर्नु परेको परिवारलाई थाहा हुन्छ, यसको मानसिक आघात कति भयङ्कर र पीडादायी हुन्छ । सडक दुर्घटना प्रमुख कारण सडकको दुर्दशा पनि हो । नेपालमा जति पनि सडक छन्, गतिलो छैनन् । एक त कालोपत्रे गरेको सडक कम छ, त्यही कालोपत्रेको पनि राम्रो स्तर छैन । भत्कनु, बिग्रनु, बेलामा मर्मत नहुनु र सडकमै आहाल जम्नु सामान्य जस्तै छ नेपालमा । चालकको कमजोरी र लापरबाहीका कारणले दुर्घटना बढिरहेको छ । सडक यातायात गुडाउने शैली र संस्कारको पनि उत्तिकै कमी नेपालीमा छ । एक त सार्वजनिक यातायातका साधन हाँक्ने चालकमध्ये धेरैमा शैक्षिक योग्यताको कमी छ । चेतनाको अभाव छ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा अस्वस्थ हँकाइले पनि दुर्घटना निम्तिरहेको छ । चालकले मादक पदार्थ सेवन गरेका कारणले दुर्घटना भएको सत्यता पबलरूपमा छ ।
सडक दुर्घटनाको कारण र असर
सडक दुर्घटनामा ज्यान गुमाउनु भनेको एउटा परिवारको आशा र भरोसा मारिनु हो । नेपालमा सडक सञ्जालको विकास र विस्तारसँगै सवारी दुर्घटना पनि हरेक वर्ष वृद्धि हुँदैगएको छ । असुरक्षित यात्राका कारण वर्षमा सयौंले ज्यान गुमाउने र हजारौं घाइते हुने गरेका छन् । यो समस्या दिन प्रतिदिन जटिल बन्दै जाँदा सवारी दुर्घटनाको प्रमुख कारणहरूमा पुराना सवारीसाधनको प्रयोग, चालकको लापरवाही, सडकको दुरावस्था, कमजोर ट्राफिक नियम र फितलो अनुगमन, कमजोर प्रशासनिक निकाय, सवारी प्रयोगकर्ता, यात्रु र सवारी चालकमा ट्राफिक नियमको ज्ञानको अभाव, सडक सुरक्षामा जनचेतनाको कमी, कसुर र सजायमा अस्पष्टता, अव्यवस्थित पार्किङ प्रणाली, ट्राफिक संकेतको अभाव, सडकमा ट्राफिक कमजोर उपस्थिति हुनु, सडक सुरक्षा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको अभाव लगायतका रहेका छन् । तर, छ यी समस्याहरुका बारेका सम्बन्धित निकायहरू जानकार भएर पनि त्यसको समाधानमा गम्भीर नहुनु र उनीहरू बीच समन्वय समेत नहुनु थप समस्याको रुपमा रहेको पाइन्छ ।
कतिपय स्थानमा अगाडि बढाइएका सडक योजनाहरूमा मापदण्ड बिना सडक निर्माण गर्ने यसरी निर्माण गरिएका सडकहरूको गुणस्तर समेत कमजोर हुने, चालक तथा सवारीधनीले आर्थिक प्रलोभनमा परी क्षमताभन्दा बढी यात्रुहरू बोक्ने प्रवृत्तिले पनि सवारी दुर्घटनालाई बढावा दिइरहेको छ । त्यसैगरी राजधानी लगायत शहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्ड अनुसारको गुणस्तरीय सडकको अभाव, चालकको लापरवाही, यात्रुहरूको जथाभावी सडक काट्ने प्रवृति, सडकका पेटीहरूको अतिक्रमण, पुराना सवारीको बाहुल्य, ट्राफिक सङ्केतको अभाव लगायतका कारण सवारी दुर्घटना बढ्ने गरेको पाइन्छ ।
न्यूनीकरणका लागि के गर्ने ?
नेपालमा सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, अनुभवहीनता, कामको बोझ, मदिरा तथा लागूऔषधको प्रयोग र तीव्रगति नै देखिन्छ । विचलित भएर सवारी चलाउने र ट्राफिक नियम पालना नगर्ने कारण दुर्घटनाको दर उच्च रहेको प्रहरीको अध्ययमा उल्लेख गरेको छ । एउटै चालकले लामो समय गाडी चलाउँदा थकान हुने र समयभित्र गन्तव्यमा पुग्ने दबाबले दुर्घटनाको जोखिम बढ्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार चालकले मदिरा र लागूपदार्थ सेवन गर्दा निर्णय लिने क्षमता र समन्वयमा कमी आउँदा पनि दुर्घटनाको सम्भावना बढिरहेको छ । राज्यले सडक सुरक्षाको कुनै कार्यक्रम बनाउँदैन । सरकार केवल सडक यति निर्माण ग¥यौं र दुर्घटनामा यति मरे र यति अस्पताल भर्ना मात्र सुनाउँछ, तर त्यसको स्तर र त्यहाँ यातायात सञ्चालन र नियमन तथा कारणका बारेमा कुनै ख्याल गर्दैन ।
राज्यले प्रभावकारी योजना बनाएर कडाइका साथ लागू नगर्ने हो भने नागरिकले अकालमा ज्यान गुमाइरहनुपर्छ । ट्राफिक नियमको पालना नेपालमा निकै फितलो छ । अतिले खति गर्छ भने झैं युवा उमेरका चालकमा अहम् देखिन्छ । युवामा अति आत्मविश्वास र पेलाहा प्रवृत्तिका कारणले बढ्दै गएकाले चालकलाई ट्राफिक शिक्षा दिन र कडा कानून पालना गराउन राज्यपक्ष जिम्मेवाररूपमा लाग्नुपर्छ । अति घुमाउरा बाटाहरू, बिग्रेका सडक, घरपालुवा तथा वन्यजन्तुका घना आवतजावत मात्र होइन चालकको लापरवाही र मादक पदार्थ सेवनका कारणले पनि दुर्घटनाको ग्राफ उकालिँदो छ । वार्षिकरूपमा हजारौंको संख्यामा सवारी नेपालमा भित्रिने तर पुराना विस्थापित नहुनु, साँघुरा सडक, नशालु पदार्थ सेवन गरी सवारी चलाउनु, फुटपाथको अधिकरण जस्ता कारणले सवारी दुर्घटना हुने गरेको पाइएको छ ।
चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानी जस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारण बनेका छन् । मुलुक सङ्घीय संरचना कार्यान्वयनमा पूर्ण रूपमा अगाडि बढी सकेको अवस्थामा सवारी सुरक्षा सम्बन्धी नीति–निर्माण र कार्ययोजनाको जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकारको साझा विषय हो । नेपालमा सडक सुरक्षा सम्बन्धी कार्य गर्ने निकायहरू धेरै भएकोले काममा दोहोरोपन, समन्वयको अभाव, अधिकार क्षेत्रमा विवाद लगायतका कारण प्रभाकारी काम हुन सकेको पाइदैन सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न आवश्यक छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तयार गरी कार्यान्वयन गर्ने हो भने पनि सवारी दुर्घटना न्यूनीकरणमा गुणात्मक अभिवृद्धि हुने निश्चित छ ।
निष्कर्ष
सडक यातायात दुर्घटनाको भयावहता हेर्दा सरकार संवेदनशील हुनै पर्नेछ । नेपालको संविधानले यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्न यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिंदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित, समावेशी र अपाङ्गमैत्री बनाउने परिकल्पना गरेको छ । त्यसैगरी, राष्ट्रिय योजना आयोगले यसै वर्ष जारी गरेको १५औं योजनाले सर्वसाधरणले प्रयोग गर्ने सार्वजनिक यातायात पूर्णतः व्यवस्थित, सर्वसुलभ, सुरक्षित र भरपर्दाे नहुनु, जीर्ण तथा पुराना सवारीसाधनका कारण प्रदुषण बढ्नु, व्यवसायिक तालिम प्राप्त सवारी चालक र तिनको श्रम, समय, सीमा नियमन गर्ने मापदण्ड नहुनु, संस्थागत क्षमता तथा प्रविधिमैत्री कार्य प्रणाली नहुनु र सवारी साधनको नियमित र व्यवस्थित परीक्षण प्रणाली नहुनु सवारी दुर्घटना न्यूनीकरणका प्रमुख समस्याको रुपमा रहेको उल्लेख गरेको छ ।
चालक शिक्षा र सचेतना, पूर्वाधारको सुधार, सुरक्षित सवारीसाधनको व्यवस्था, सुधारिएको लाइसेन्स वितरण प्रणाली, नीति–नियमको उचित कार्यान्वयन, बलियो आपत्कालीन प्रतिक्रिया प्रणालीको संयोजनले सडक दुर्घटना कम गर्न सकिन्छ । यी चुनौतीलाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण आवश्यक छ । नेपालमा सडक दुर्घटनाको विपत्तिलाई सम्बोधन गर्न सरकारी निकाय, नागरिक समाज र निजी सरोकारवालाबीचको एकजुट प्रयास आवश्यक छ । सर्वपक्षीय पहल जरुरी छ ।