त्रिभुवन विश्वविद्यालय यतिबेला बन्द, हड्ताल, धर्ना र तालाबन्दीको मारमा परेको छ । त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको कार्यकक्ष अगाडि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर धर्नामा छन् । ढोकै अगाडि उनी धर्नामा बसेको दुई हप्ता भयो । भट्ट २४ सै घण्टा धर्नामा बसेपछि उपकुलपति बराल कार्यकक्षमा गएका छैनन् । त्यसरी नै, नेपाल विद्यार्थी संघ, माधवकुमार नेपालको एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका सङ्गठनहरू पनि यो माहौलमा सरिक छन् । कहिले के बहानामा कहिले के बहानामा यो परिपाटी जारी छ । माग सम्बोधन गर्न त्रिवि नेतृत्वलाई कडाइका साथ आग्रह गर्ने गरिएको छ ।
उच्चस्तरीय वार्ता समिति बनाएर आफ्ना सङ्गठनले उठाएका माग सम्बोधन गर्न त्रिवि नेतृत्वलाई अनुरोध गर्ने गरिएको छ । तर, यी सबै हात्तीका देखाउने दाँत जस्ता मात्र हुन् । मागको अन्तर्यमा अर्कै कुरा लुकेको हुन्छ । त्रिविभित्रैका अधिकांश प्राध्यापक–कर्मचारी यस्ता विषयमा खुलेर बोल्न सकिरहेका हुँदैनन् । विश्वविद्यालय परिसरमै प्राध्यापकहरु कुटिने जस्ता आपराधिक घटना हुने गरेका कारण पनि असुरक्षाको चिन्ता बढेको छ । त्यसैले तालाबन्दीले विश्वविद्यालय ठप्प पार्दा पनि सरोकारवालाहरु बोल्न डराउने गरेका छन् ।
तालाबन्दी गर्नुहुँदैन भन्दा डराउनुपर्ने हुन्छ । जीवन नै धरापमा पारेर ताला नलगाऊ भन्न कसैले नसक्ने देखिएको छ । लामो समयदेखिको विवरण हेर्दा त्रिवि पदाधिकारी प्रमुखमा जुन दलको मान्छे छन्, त्यसको विपक्षी दलको विद्यार्थी सङ्घले तालाबन्दी गर्ने गरेको देखिएको छ । तर, पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको देखिन्छ । पहिला राजनीतिक कारण हुन सक्थ्यो । तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ । लेनदेनको कुरा मिले ताला खुल्छ । आन्दोलनको पर्दामा विद्यार्थी सङ्गठनहरुले एउटा माग देखाए पनि वार्तामा बस्दा अरु नै माग सुनिने गरिएको छ । अनौपचारिक रूपमा भित्रभित्रै गलत मागहरू उठाउने गरिएको छ ।
त्रिविभित्रका भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारी माथि भएको श्रृङ्खलाबद्ध प्रणालीगत प्रहारका कारण आज त्रिवि आहत बनेको छ । हरेक पटक सेवा आयोग अमुक दलको भर्ती केन्द्र बनाइयो र आफ्ना मान्छेहरुलाई छिराउनका लागि परीक्षाको नाटक मञ्चन गरिएको भन्दै तालाबन्दी गर्ने गरिएको छ । यसरी पटक पटक बन्द हुनु, तालाबन्दी हुनु, धर्ना हुनु आदि त्रिवि खस्कनुको मुख्य कारण मध्येको एक रहेको हो । शिक्षाविद् संसारका कुनै पनि विश्वविद्यालयमा यसरी तालाबन्दी नहुने गरेको विचार राख्छन् । राजनीतिक नेतृत्व मुकदर्शक बनेर टुलुटुलु हेरेर बस्नु झन् बढी दुःखदायी कुरा हो । तालाबन्दी गरेर त्रिवि सुधार्छु भन्नु पटमुर्खता शिवाय केही होइन । त्रिविको साख खस्किनबाट जोगाउन विद्यार्थीका जायज माग तुरुन्त सम्बोधन गर्ने र विद्यार्थीले कुनै पनि बहानामा बन्द नगर्ने प्रतिबद्धता हुन जरुरी छ ।