नेपालको राजनीति, नेता र सीसीफसको मिथक

0
18

म ग्रिक कथामा भएको एउटा मिथकबाट आफ्ना विचारहरू शुरु गर्न चाहन्छु । जुन मिथक अहिलेको नेपालको राजनीति, नेता र समसामयिक विषयसँग धेरै अर्थमा मेल खान्छ । ग्रीक पुराणका अनुसार सिसीफस एक चलाख र धुर्त राजा थिए । जसले देवता र मृत्युलाई धोका दिएको कथा पाइन्छ । उनले धेरै पटक आफ्ना कृत्यहरूले देवताहरूलाई रिस उठाए । विशेष गरेर उनले मृत्यु (थानाटोस)लाई बन्धक बनाएर मानिसहरूको मृत्यु हुन नदिइ आफ्नो धुर्तता देखाए । उनका यस्ता कामहरूका परिणामस्वरूप देवताहरूले उनलाई मृत्युपछि एउटा कठोर सजाय दिए ।

उनलाई यमलोकमा एउटा ठूलो चट्टान पहाडको टुप्पोमा पु¥याउन आदेश दिइयो । तर, उनले त्यो चट्टान जति पटक पहाडको टुप्पोमा पु¥याउन लाग्दथे त्यो चट्टान फेरि शुरुकै ठाउँमा गुडेर आउँथ्यो । धेरै प्रयास गर्दा पनि सिसिफसले यो चट्टान पहाडको टुप्पोमा पु¥याउन सकेनन् । पटक–पटक उनी चट्टान धकेल्दै पहाडको टुप्पोको नजिक पुग्दथे, चट्टान गुड्किएर तल सतहमा झर्दथ्यो । यसरी सिसिफसले आफ्नो जीवन पर्यन्त यस चट्टानलाई पहाडको टुप्पोमा पु¥याउन सकेनन् । पटक–पटकको व्यर्थ परिश्रम र अनन्त प्रयास उनको जीवनको नियति बन्यो । यसरी सिसिफसको यो नियति अंग्रेजी साहित्यमा धेरै लेखिएको छ ।

पश्चिमा साहित्यमा कथा, कविता, दर्शन आदि धेरै विधामा यो चट्टान धकेलाईलाई व्यर्थको अनन्त प्रयासको प्रतिकात्मक रुपमा धेरै लेखिएको छ । हो, आज हाम्रो देशको राजनीति यस्तै नियतिसँग मेल खान्छ । हामीले परिवर्तनका लागि धेरै परिश्रम ग¥यौंर्, तर हामी हाम्रो लक्ष्यमा कहिले पुग्न सकेनौं । हामीलाई नेतृत्व गर्ने नेता वर्गहरु जहिले पनि सिसीफसको जस्तो व्यवहार गरिरहेका छन् । हाम्रा नेतृत्व वर्गहरू जसलाई हामी विश्वास गरेर अन्धाधुन्द पछ्याइरहेका छौं, उनीहरु एउटा ठूलो लक्ष्यको चट्टान बोकेर पहाडतिर अर्थात् लक्ष्यतिर धकेले झैं गर्छन र हामी विश्वास गर्दै उनीहरुका पछाडि होस्टेमा हैसे गर्दै पछाडि लाग्छौं, तर लक्ष्यमा नपुगी हाम्रा नेतृत्व वर्गहरुले चट्टान छोडिदिन्छन् र चट्टान गुडिँ्कदै तल सतहमा आइपुग्छ । वर्षौंदेखि यो अन्तहीन परिश्रम हामी नेपालीको नियति नै बन्न पुगिसकेको छ ।

२००७ सालमा नेपालमा राणा शासनको अन्त्यसँगै प्रजातन्त्रको उदय भयो र नेपालीहरूले सामाजिक, आर्थिक, भौतिक पूर्वाधारका विकासका कल्पना गरेका थिए, तर राजनीतिक खिचातानीका कारण यसले लक्ष्यमा पुग्न पाएन । पञ्चायती व्यवस्था पनि समग्र नागरिकले सोचेको भन्दा फरक भयो, स्वतन्त्रताका कमी देखापरे, समग्र राष्ट्रले भन्दा सीमित एउटा वर्गले मात्रै यसबाट बढी लाभ लिन सकेको कुरा यथार्थ हो ।

२०४६ सालमा हाम्रो देशमा पुनः प्रजातन्त्रको स्थापना भयो र संवैधानिक राजतन्त्रात्मक व्यवस्था शुरु भयो । तर, यसले पनि लक्ष्यमा पुग्न पाएन, राजनीतिक खिचातानीले गर्दा नागरिकहरुले सोचे अनुरुप देशमा परिवर्तन आएन । मुलुक दश वर्षसम्म सशस्त्र विद्रोहको चपेटामा प¥यो । यस अवधिभरि विद्रोहका नेतृत्व वर्गहरुले नागरिकहरूलाई कस्ता–कस्ता सपनाहरू देखाएका थिए र मुलुकलाई परिवर्तन गरेर कहाँ पु¥याउँछु भन्ने लक्ष्य देखाएका थिए भन्ने कुरा हामीमा छर्लङ्ग छ र अहिले तिनै नेतृत्व वर्गहरुको क्रियाकलापहरु हेर्दा मुलुकमा दश वर्षीय सशस्त्र जन विद्रोहबाट हामीले कति सफलता हात पा¥यौं भन्ने प्रश्न आजको एउटा यक्ष प्रश्न हो ।

माओवादी जनविद्रोहले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा कति परिवर्तन ल्याउन सक्यो भन्ने प्रष्ट नहुनु नै यसमा थुप्रै कमीकमजोरी रहेछन् भन्ने स्पष्ट हुन्छ । हिजोका दिनका माओवादी नेतृत्व वर्ग तथा कार्यकर्ताहरूको क्रियाकलाप र आजका दिनमा भइरहेका माओवादी नेतृत्व वर्ग तथा कार्यकर्ताहरूको क्रियाकलापले नै हामीलाई माओवादी सशस्त्र विद्रोह किन के का लागि थियो होला भन्ने संशयमा राख्छ जुन आफैमा एउटा असफलता हो ।

यति धेरै नागरिकहरूले बलिदान दिएपश्चात प्राप्त यो व्यवस्था ले पनि हामीलाई पर्याप्त सन्तुष्ट दिन सकिरहकेको छैन । आजको दिनमा नेताहरूको जीवनशैली र क्रियाकलाप हेर्दा सन्तुष्ट हुने मात्र होइन आशा गर्ने ठाउँ पनि देखिँदैन । यसरी लामो समयको बलिदान, मेहनत र परिश्रमको फलस्वरुप बिभिन्न समयमा प्राप्त परिवर्तनहरू कसका कारणले असफल रहे ? सामान्य नागरिकहरूको तर्फबाट वा नेतृत्व वर्गबाट ! आजको यो गहन प्रश्न हो, जसलाई विभिन्न दलका म नेता हुँ भन्ने नेतृत्वहवर्गहरूले तार्किक उत्तर दिनै पर्दछ ।

हरेक परिवर्तनभन्दा अगाडि परिवर्तन गर्ने नेतृत्व वर्गहरूले पछिल्लो राजनीतिक व्यवस्थाबिरुद्ध विभिन्न दोषारोपण गर्दै सारा नागरिकलाई गोलबन्द भएर तत्कालीन शासनबिरुद्ध लड्नलाई आह्वान गर्दछन् र आम नागरिकहरु पनि तत्कालीन व्यवस्थासँग भएको असन्तुष्टी जनाउँदै तथा नयाँ आउने व्यवस्थाको सुन्दर कल्पना गर्दै गोलबद्ध भएर नेताहरूको आह्वान बमोजिम लड्न अगाडि बढ्छन् र जस्तो प्रकारको दुःख, समस्याहरूसँग भिडेर लड्छन् र मात्र परिवर्तन सम्भव भएको हो । तर, परिवर्तन भएपश्चात नेतृत्व वर्गहरू पछिल्लो समयमा भएको शासन पद्धति सञ्चालकभन्दा पृथक हुनलाई सक्दैनन् ।

विगतको समयमा भ्रष्टाचार भयो, एउटा सीमित वर्गले राजनीति माथि हालीमुहाली ग¥यो भनेर नयाँ राजनीतिक प्रणाली– गणतन्त्र, संघीयता र धर्म निरपेक्षका कुराहरु सहित नयाँ राजनीतिक प्रणालीको थालनी भयो । यो राजनीतिक प्रणाली शुरुवात गर्नका निमित्त धेरै नेपालीहरुले बलिदानीपूर्ण युद्ध लडेका छन्, सहयोग गरेका छन्, तर अहिलेको अवस्था हेर्दा परिवर्तनलाई संस्थागत गर्दै तल्लो तहसम्म पु¥याउने र साँच्चै मुलुकमा परिवर्तन भएको अनुभूत निर्माण गर्ने क्रियाकलापभन्दा राजनीतिमा एउटा ‘सिन्डिकेट’ बनाएर अगाडि बढ्ने र यसले आफ्ना कमी–कमजोरीहरु सकेसम्म लुकाउने वा नष्ट गर्ने काम गर्न उद्यत छ भन्ने सामान्य नागरिकले हेर्दा पनि स्पष्ट देखिन्छ । भ्रष्टाचार, व्यविचार घटेको होइन बढेको अनुभूत नागरिकहरूले गरिराखेका छन् ।

यतिबेला नेपालका पुराना दुईवटा राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेपछि जे गरे पनि हुन्छ भन्ने मनोविज्ञानले काम गरेझैं देखिन्छ । अपराधीलाई कानूनी दायरामा ल्याएर अपराध नियन्त्रण गर्नु राज्यको प्रमुख दायित्व हो । यद्यपि अहिलेको पछिल्लो समयमा प्रमुख चर्चाको विषय रहेको सहकारी ठगी सम्बन्धी मुद्दा हेर्दा लाग्छ एउटा व्यक्तिमाथि सिंगो राष्ट्र खनिएको छ । र, दुईवटा ठूला दलहरुलाई नै मन परेन भने एउटा व्यक्तिको के हाल हुन्छ भन्ने उदाहरण र दुईवटा पुराना दलहरुलाई र पुराना नेता हरुलाई चुनौती दिँदा के परिणाम भोग्नुपर्छ भने झैं गरी एउटा दलको नेतालाई खेदेको नै हो भन्ने कुरा थाहा पाउनको निमित्त कुनै दलको राजनीतिक कार्यकर्ता नभई सर्वसाधारण, थोरै राजनीतिमा चासो राख्ने व्यक्तिलाई अनुभूत हुन्छ । यसकारण आज हामी राजनीतिलाई कता डो¥याउँदैछौं भन्ने एउटा ठूलो प्रश्न आम जनसमुदाय माथि तेर्सिएको पाइन्छ । तैपनि हामी सिसिफसको कथामा झैं एउटा ढुङ्गा ठेलिरहेका छौं र बिना परिणामको परिश्रम गरिरहेका छौ भन्ने लाग्छ ।

अबका आगामी दिनहरूमा सम्पूर्ण जागरुक नेपाली नागरिकहरू एकजुट भएर यी प्रश्नहरूका उत्तरहरू खोज्ने दिन आइसकेको छ । नभए हामी अझै पछाडि धकेलिएर जानेछौं । हामीले हाम्रो नेतृत्व वर्गहरुलाई हामीमा लागेका यस्ता प्रश्नहरूको तार्किक जवाफ माग्नै पर्छ । यद्यपि हाम्रो कदम शान्तिपूर्ण र प्रजातान्त्रिक हुनुपर्छ । तर, अब आफूलाई नेता भन्ने नेतृत्व वर्गहरुले जनताका यी प्रश्नहरुको तार्किक जवाफ दिनैपर्छ नभए अहिले फाट्टफुट्ट सामान्यरूपले देखापरेका जनताको आक्रोश एकदिन सडकमा छताछुल्ल भयो भने नेतृत्व वर्गले कसरी समाधान गर्छ, सोच्ने दिन आएको छ । जनताले उठाएका प्रश्नहरूमा ठट्यौली उखानका जवाफहरू वा ओठे जवाफहरू होइन, तार्किक जवाफ दिएर एवम् सच्चिएर अगाडि बढ्नुको विकल्प देखिँदैन ।

(निरौला विपद् व्यवस्थापन, पर्यटन तथा समकालीन राजनीतिका विषयमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here